आमनिर्वाचन सकिएको २२ दिन बितिसकेको छ । पहिलो चरणमा प्रत्यक्षतर्फको र त्यसपछि समानुपातिकको समेत अब भने सबै निर्वाचन परिणाम आइसकको छ । २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा आफू पहिलोबाट एकाएक तेस्रो दल बनेपछि माओवादी केन्द्रले हामीलाई देशी-विदेशी शक्ति मिलेर योजनाबद्ध ढंगले हराएका हुन् भनेर केही समयसम्म त निर्वाचन परिणम नस्वीकार्ने भनेर गरेको विरोध जस्तो यसपटकको निर्वाचन परिणाम आएपछि त्यस प्रकारको प्रतिक्रिया कतैबाट आएको पाइएको छैन । सोचेजस्तो परिणाम आएन भन्ने प्रतिक्रिया भने आएका छन् जुन स्वाभाविक हो । जसलाई पनि आफ्नो परिणमा त्यसभन्दा राम्रो हुनुपथ्र्यो भन्ने लाग्छ नै । हालका केही सानातिना प्रतिक्रिया आइहाल्छन् त्यसलाई अस्वाभाविक भन्न मिल्दैन ।
अब भने दलहरूले समानुपातिकको समेत सिट बाँडफाँट गरिसकेका छन् । सत्ता गठबन्धनमा रहेका दलहरूलाई कतिले यसरी गठबन्धन नगरी निर्वाचनमा गएका भए परिणाम यसभन्दा राम्रो आउने थियो भनिदिएका छन् । यस कुरालाई भित्रैदेखि महसुस गरेर होस् वा बाहिर देखावटी रूपमा मात्र किन नहोस् दलहरू पनि हो कि क्यो हो जस्तो देखाएका छन् । गठबन्धन नगरेको भए हुने यस्तै थियो । बरू केही दलको अवस्था यत्तिको पनि हुने थिएन । अहिले ती ठूलै संख्यामा सांसद लिएर संसद् छिर्न सकेका छन् । निर्वाचनका क्रममा केही ठाउँमा केही अनुचित कार्यका घटना हुनसक्छन् । कतै-कतै मारपिटका घटना हुने गर्छन् । दलहरूबीच आन्तरिक रूपमा अन्तरघातका केही व्यवहार देखिन सक्छन् । अहिले पनि यस्ता कार्य भएकका छन् तर समग्रमा निर्वाचन मर्यादित रूपमा सम्पन्न भएको छ ।
त्यसैले कसैले कसैलाई दोष दिएनन् किनकि दोष दिनुपर्ने कार्य हुन पाएका छैनन् तर पार्टीहरूमा आ-आफ्नैविरुद्ध अन्तरघात भने भएको छ । यसको छानविनको माग भने पार्टीका नेताकार्यकर्ताबाट उठाइएको छ । नेपाली कांग्रेस पार्टीमा यस्तो घातअन्तरघात पुरानै रोग हो । पहिले टिकटका लागि प्रयास गर्ने र आफूले टिकट नपाएपछि टिकट पाउने आधिकारिक उम्मेदवारविरुद्ध पूर्ववर्ती निर्वाचनमा यसै हुने गरेको थियो । कोही-कोही केही समयका लागि निलम्बनमा पर्ने र पुनः निलम्बन फुकुवा गर्ने गरिँदै आएको छ । यो एउटा यस्तो विषय हो जुन कारबाही गरेर हटाउँदा पार्टीको आकार घट्दै जान्छ कारबाही नगरौँ अनुशासनहीनता बढ्दै जान्छ । पार्टीहरूले अन्तरघात गर्ने नेताकार्यकर्तालाई केही समयसम्म कारबाही गर्ने गरेका छन् र फेरि फुकुवा गरिदिन्छन् ।
नैतिक पतन देखिने फौजदारी अपराध गरेकालाई बाहेक अरूलाई पार्टीभित्रै आधिकारिक उम्मेदवारलाई हराउने गतिविधि गरेको भनेर दोष लाग्ने गरेका, बागी उम्मेदवारी दिएकाहरूलाई भने राज्यतर्फबाट कुनै बारबाही हुन सक्दैन । पार्टीले भने पार्टीको साधारण सदस्यतासमेत नरहने गरी वा केही निश्चित समयका लागि पार्टी गतिविधिमा सामेल नगराउने गरी निलम्बन वा निष्काशन गर्दछन् । बागी बनेर जितेकालाई पुनः पार्टीमै भित्र्याउने प्रयास गरिन्छ । त्यस्ता व्यक्ति राजी नभएका खण्डमा मात्र कारबाही गर्ने गरिन्छ । तर, आफू बागी बनेर उठेर आफू नजित्ने र आधिकारिक उम्मेदवारलाई हराउनेलाई भने बढी कारबाहीको भागी बनाइन्छ । पार्टीमा बागीलाई कारबाहीको माग गर्नेहरू भने बागीबाट पराजित बनेका आधिकारिक उम्मेदवार बढी हुन्छन् । यो शाश्वत रूपमा देखिँदै आएको छ ।
पराजयका कारण बागी उम्मेदवार र अन्तरघातमात्र हुँदैनन्, आन्तरिक व्यवस्थापन राम्रो नहुनु, कमजोर उम्मेदवार दिनुजस्ता अन्य कारण हुन सक्छन् । यी विविध कारणको लेखाजोखा निर्वाचन सकिएर परिणाम समेत प्राप्त भइसकेकेपछि हुनुपर्छ नै । यस अर्थमा यस्तो मागलाई स्वाभाविक भनिएको हो । प्रजातान्त्रिक पार्टीहरू अलिक उदार भएका कारण अन्तरघात बढी भएको हुनसक्छ भने कम्युनिष्ट पार्टीहरूमा भने कडा अनुशासन हुने भएकाले अन्तरघात केही कमै हुने गरेको छ । कारण जुन र जस्ता भए पनि पार्टीहरूको शुद्धीकरणका लागि अनुशासनहीन कार्यमा संलग्न हुनेहरू सजायको भागी बन्नैपर्छ, चाहे ती जुनसुकै पार्टीका किन नहुन् । यसो भएका खण्डमा पार्टीहरूमा शुद्धीकरण हुन जान्छ र पार्टीहरूमा अनुशासनमा कडाइ हुनासाथ स्वतः नै समग्र राजनीतिक अवस्थामा पनि सुधार हुन जान्छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका