संसद् र सरकारमा पार्टीहरूको जिम्मेवारी

Read Time = 14 mins

✍️ चन्द्रमणि गौतम

निर्वाचन सकिएर सरकार गठन गर्ने तरखरमा लागेको गठबन्धनले यसका घटक दलहरूको चुनावी घोषणापत्रलाई छुट्टाछुट्टै कार्यान्वयन गर्न सकिने बाहेकका अन्य विषयलाई समायोजन गरी न्यूनतम साझा कार्यक्रम तर्जुमा गर्नतिर लाग्लान भन्ने अपेक्षा थियो । तर, प्रारम्भिक चरणकै गठबन्धन भएजस्तो गरी यसलाई निरन्तरता दिने र यसैबाट सरकार गठन गर्ने निर्णय लिनुपर्ने जरुरत परेछ । निर्वाचनपछि एकीकृत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देखाएको रवैयाकै कारणले यो अवस्था आएको होला, जसलाई आपसी अविश्वासको अमिल्चो प्रभाव भन्न सकिन्छ ।

सत्तामा देखा परिरहने दण्डहीनता, भ्रष्टाचार, आर्थिक अपराध अराजकता जस्ता विकृति र विसंगतिको अन्त्यलाई मतदाताले हालैको संसदीय निर्वाचनद्वारा जोड दिएका छन् । यस्ता खराबीबाट मुक्तिका लागि नेतृत्वमा रूपान्तरण र पुस्तान्तरणको आवश्यकता पनि औंल्याएका छन् । यसलाई कुनै दलले पनि उपेक्षा वा बुझपचाउने छुट छैन । जनताको सोही भावना र चाहनाको मौकामा नयाँ पार्टीहरूको उदय भयो ।

राष्ट्रिय आवश्यकताको रूपमा व्यक्त जनभावनालाई नवोदित पार्टीहरूले कति सफल संवाहकको भूमिका निर्वाह गर्ने हुन्, वा मौकाको दुरुपयोग गर्ने गलत तत्वको रूपमा आफ्नो पहिचान बनाउने हुन्, अब परीक्षा सुरु भएको छ । त्यसकारण नयाँ पार्टीहरूका लागि यो परीक्षणकाल हो । नेताहरूले अधिकारका कुरा धेरै गरिसके र सुविधा धेरै भोगिसके । जनतालाई अब कर्तब्य र जिम्मेवारीका कुरामात्र सुन्न मन छ । नेताहरूको बोलीको ठेगान छैन, त्यसैले कुरा सुन्नभन्दा पनि त्यहीअनुरूप इमानदारीका साथ क्रियाशील भएको हेर्न जनता प्रतीक्षारत छन् ।

आमजनतालाई नेपाली काग्रेसमाथि ठूलो आशा थियो, अझै पनि छ । तर, त्यो आशामा तुषारापात गर्ने काम कांग्रेस नेतृत्वबाटै भइरहेको छ । परिणामप्रति लापरबाही गर्ने चरित्र वा विरासतमा प्राप्त राजनीतिका भाग्यमानी नेता वा युवराजी ठाँट बोकेका दम्भी चरित्रहरूमा यो कटु यथार्थले नछोएको होला ।

राजनीति तर्कहरूको उत्सव वा विचारहरूको मेलामात्र होइन न त नाराहरूको प्रतिष्पर्धा मात्र हो । यो दरिद्रतम मुलुकको राजनीति भनेको जनतासमक्ष भरोसायोग्य प्रतिज्ञाको उत्साहजनक र उपलब्धिमूलक विवरण हो । विकल्पको खोजी होइन संकल्पको इच्छाशक्ति हो । नेपालले अधोगतिशील राजनीतिका उलामालामा लागेर वा परिवर्तनका लागि उधारो भरोसा गरेर लोकतन्त्रको तपस्यामा धेरै अमूल्य अवसर गुमाइसकेको छ । अब बर्वादी र नोक्सानीको चरण अन्त्य हुनैपर्छ । हेक्का राखौँ, संसद् भनेको औँलामा गन्न भ्याइने केही शीर्ष नेताको रबर स्टाम्प र निगाहको लाचार पात्रको अखडा होइन । केही मानिसहरूले अँध्यारा कोठमा बनाएर अनाथालय भएर ‘हुन्छ’ भनी कराएको भरमा जस्तोसुकै गम्भीर विधेयक वा प्रस्ताव पारित गर्ने किनाराको साक्षी जमात होइन ।

यस्ता सवालको उत्तर सच्चा लोकतन्त्रवादी हूँ भन्नेले कम्युनिष्ट शिविरभित्र खोजेर होइन, आफैँभित्र पाउनुपर्दछ । सानो चित्त बोकेर ठूलो पार्टी हुन सकिँदैन, न त ‘कोठे शक्ति र ओठे भक्ति’ ले कहीँ पुर्‍याउँछ । सतहमा देखापरेका परिदृश्य आफैँ बोलिरहेका छन्, सबै ठूला दलहरू आफ्नै कारणले लतारिएका छन् र दयनीय रूपमा आफ्नै नाराका अगाडि पराजित भएका छन् । जनता आफ्नो निदोर्षीताको सजाय यिनै दलहरूबाट पाइरहेका छन् । विगतमा कम्युनिष्ट पार्टीहरूभित्र देखिएको सन्धि र विग्रह, शत्रुता र भनाभन, प्रहार र जवाफी प्रहार जस्ता गतिविधिको धङ्धङेबाट राष्ट्रिय राजनीति संग्लिएको छैन ।

माओवादीको शत्रुतापूर्ण विभाजन होस् वा एमालेसँगको प्राविधिक एकतापछि नेकपाको निर्माण र नेपाली कांग्रेसको गोज्याङ्ग्रे गतिविधि, सबै पार्टीको अधोगति उनीहरूकै कमाइ हो । यी पार्टीहरूले नेपाली राजनीतिको अचानोमाथि राखेर सबै ‘वाद’ ध्वस्त बनाइसकेका छन् । विगतमा कम्युनिष्ट शिविरभित्र उठेको अस्थिरतावादी र छाडावादी द्वन्द्वको दुष्परिणामबाट आफू भाग्यमानी हुन उनीहरू, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मजबुत प्रधानमन्त्री होइन मजबुर प्रधानमन्त्री भएको देख्न चाहन्छन्, जो आफ्नो स्वार्थ र फर्माइस अनुरूप चलोस् ।

आमजनतालाई नेपाली काग्रेसमाथि ठूलो आशा थियो, अझै पनि छ । तर, त्यो आशामा तुषारापात गर्ने काम कांग्रेस नेतृत्वबाटै भइरहेको छ । परिणामप्रति लापरबाही गर्ने चरित्र वा विरासतमा प्राप्त राजनीतिका भाग्यमानी नेता वा युवराजी ठाँट बोकेका दम्भी चरित्रहरूमा यो कटु यथार्थले नछोएको होला । तर, लोकतान्त्रिक राजनीतिको दर्शनको केन्द्रबिन्दु भनेको आमजनता हो भन्ने चेतनाबाट ओतप्रोत भएको कुनै कांग्रेसजन भए ऊ कांग्रेसको वर्तमान ताबेदारी शैलीको विरुद्धमा उभिएको छ ।
जनताले नयाँ पार्टीहरूलाई आशाको मत दिए भने नेपाली कांग्रेसलाई भरोसाको मत दिएका हुँदा कांग्रेसले एकल ठूलो पार्टीको हैसियत पायो । नेकपा (एमाले) लाई प्रतिपक्षको भूमिकाको जनादेश छ । मुख्यविरोधी दल भनेको अबरोधी दल किमार्थ होइन । उसले नीतिगत र सैद्धान्तिक धरातलमा टेकेर सरकारलाई अंकुश लगाउनुपर्छ । शासकीय ज्यादति र मनपरीलाई ठेगान लगाउने वातावरण निर्माण गर्न सक्नुपर्छ । संसदीय व्यवस्थाको आकर्षक सौन्दर्य भनेको सत्तापक्ष र प्रतिपक्षको अस्तित्व हुने लोकतन्त्ररूपी सिक्काका दुई पाटा हुन् । समर्थनको राजनीतिले सत्तापक्ष सफल हुनुपर्छ । विरोधको राजनीतिले सत्तापक्षले ठीक-ठेगानमा चल्नुपर्छ । सत्तापक्षबाट होस् वा प्रतिपक्षबाट, जनतालाई ‘अगर र मगर’ का भाषा, बहाना, आलटाल, अमूर्त कुरा, दोष र जिम्मेवारी पन्छाउने तर्क सुन्ने मन छैन र फुर्सद पनि छैन ।

गठबन्धनका नाममा निर्लज्ज स्वार्थको खिचडी सरकार बन्ने र भत्किने दूषित परम्परालाई गठबन्धनले सदाको लागि अन्त्य गर्नुपर्ने हो । सत्तामुखी राजनीतिक गतिविधिको दुष्परिणामले गर्दा एकातिर पार्टीहरूभित्र सिद्धान्त, नीति र नैतिकता जस्ता अनिवार्य गुण र विशेषता मरणासन्न भएका छन् । सत्तालिप्सामा एकोहोरिएर मनोरोगी (साइकियाट्रिक) जस्तो भइसकेका नेताहरूमा उक्त मरणासन्न अवस्थाप्रति संवेदनहीन हुनु नै आजको जटिलता, गतिरोध, अकर्मण्यता र लथालिंग अवस्था झन् चाम्रो वा जब्बर भएको भएको यथार्थलाई अतिशयोक्ति भन्न मिल्दैन । जनतालाई यातना र कष्ट दिने दुष्परिणामवाला राजनीतिको स्रोत कम से कम लोकतन्त्रवादी पक्षले बन्नुहुँदैन भन्ने चेत पलाउन सकेको भए यो दुरावस्था किमार्थ उत्पन्न हुने थिएन ।

जतिसुकै अन्तर्विरोध भए पनि कांग्रेसभित्र मिल्नै नसक्ने र फुटेर जानेसम्मको विवाद केही पनि छैन । दुईटामध्ये जुन आँखा घोचे पनि आफैँलाई दुख्छ भने झैँ कांग्रेसमा देखिने दुई पक्षलाई दुई आँखा मान्ने नेतृत्व भयो भने सद्भावको उत्साहजनक वातावरण बन्नसक्छ ।

आर्थिक विकासको एउटा गतिलो परिसूचक भनेको विकास र लगानीका क्षेत्रमा खर्च गर्नसक्ने सरकारको सामथ्र्य नै हो । पुँजीगत (विकास) बजेट खर्च हुन नसक्ने निरासाजन्य अकर्मण्यता, अर्कातिर त्यसै अवधिमा साधारण बजेट सबैजसो खर्च भइसक्ने गतिविधि भनेको सरकार अनुत्पादक क्षेत्रमा खर्च गर्नमात्र उद्यत छ, विकासका क्षेत्रमा खर्च गर्न उदासिन छ भन्ने बुझिन्छ । के अपरिहार्य छ भने संकटले आफूसँगै परिवर्तन पनि ल्याउँछ । यो पनि सत्य हो, आखिर नेतृत्वको अर्थ पनि परिवर्तन नै हो । सही अर्थमा परिवर्तन एउटा बहुआयामी अवधारणा हो । तर, परिवर्तनका संवाहक हौँ भन्ने नेताहरू नै परिवर्तनको सही बाटोमा हिँडिरहेका छैनन् । गरिबी बाँड्ने राजनीति गरेर समृद्धि हासिल गर्ने सपनाको व्यापार गर्छन् । झुटको यस्तो घिनलाग्दो राजनीति अब निर्ममताका साथ अन्त्य हुनुपर्छ ।

कांग्रेसले आफूभित्रका विवादलाई मिलाएर र आफूबाहिरका विवादलाई चिरेर अगाडि बढेको लामो इतिहास र अनुभव छ । त्यो इतिहासको आलोक र अनुभवले दिएको कौशलद्वारा विद्यमान समस्या, चुनौती वा विवाद मिलाउँन सकिन्छ । तर, यसको केन्द्रीय तहमा विद्यमान अस्तव्यस्तता, संगठनमा देखिएको छरपस्टता, अनुशासनहिनता र निर्णयहीनताले खेदजनक परिस्थितिमा पुर्‍याएको र सबैजसो कांग्रेसी मनलाई चिन्तित तुल्याएको कुन नेताले अनुभूत गरेको होला ! कार्यकर्ताले नेताका एकोहोरा कुरा धेरै सुनिसके, यस मामिलामा अब नेताहरूले कार्यकर्ताका आवाज सुन्नुपर्छ । यो नै आन्तरिक लोकतन्त्रको उच्चतम प्रयोग हो । चिप्लोले लडाउँछ दुषितले सडाउँछ, खस्रोले अडाउँछ ।

जतिसुकै अन्तर्विरोध भए पनि कांग्रेसभित्र मिल्नै नसक्ने र फुटेर जानेसम्मको विवाद केही छैन । दुईटामध्ये जुन आँखा घोचे पनि आफैँलाई दुख्छ भने झैँ कांग्रेसमा देखिने दुई पक्षलाई दुई आँखा मान्ने नेतृत्व भयो भने सद्भावको उत्साहजनक वातावरण बन्नसक्छ । वर्णमालामा पार्टीको ‘प’ सँगै फुटको ‘फ’ पनि ऐँजेरु जस्तै टाँसिएको हुन्छ भन्ने जिम्मेवारीपूर्ण सतर्कता त लिनैपर्छ । पार्टीका संस्थापक राजनेताहरूले सिकाएको मन्त्र-बहसमा विविधता र निर्णयमा एकता नै कांग्रेसको लोकतान्त्रिक संस्कार तथा परम्पराको चुरोलाई नेताहरूले नछोडे यही मन्त्रद्वारा कांग्रेसले सरकार, संसद र आफ्नै पार्टीभित्र मुलुकका समस्यालाई पार लगाउने सामथ्र्य पाउनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?