हिमालय टाइम्स प्रतिष्ठान शाखाको साधारणसभा सम्पन्न

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल पत्रकार महासंघ हिमालय टाइम्स प्रतिष्ठान शाखाको साधारणसभा सम्पन्न भएको छ । सोमबार पत्रिकाको केन्द्रीय कार्यालय बानेश्वरमा नेपाल पत्रकार महासंघ बागमती प्रदेश प्रतिष्ठानका अध्यक्ष बालकृष्ण अधिकारीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा दुर्घटना बिमा, सदस्यहरूको नामावली नवीकरण सम्बन्धका जिज्ञासामा प्रमुख अतिथि अधिकारीले प्रष्ट पार्नुभएको थियो । उहाँले प्रतिष्ठानले पत्रकारको हकहितका लागि सक्दो प्रयास गर्दै आएको बताउँदै समय समयमा तालिम, गोष्ठी र पत्रकारका समस्याका बारेमा आफूहरूले वकालत गर्दै आएको उल्लेख गर्नुभयो ।

हिमालय टाइम्स प्रतिष्ठान शाखाका सदस्य एवं सम्पादक पुरुषोत्तम दाहालले नेपाली पत्रकारिताका विषयका विविध पक्षका बारेमा आफ्ना धारणा राख्नुभएको थियो । पत्रकार महासंघलाई सजीव बनाउनका लागि दलीय संस्थाबाट मुक्त गर्नुपर्ने उहाँको भनाइ थियो । ‘पत्रकारले दलीय पत्रकारिता बन्द गर्नुपर्छ, पत्रकार महासंघ पनि दलगत कित्तामा बाँडिनु हुँदैन । बिना पूर्वाग्रह र निष्पक्ष ढंगबाट समाचार सम्प्रेषण गर्ने काममा महासंघले अगुवाइ गर्नुपर्छ । तर, अहिले त्यस्तो अभ्यास भइरहेको देखिँदैन । जुन चिन्ताजनक छ’, उहाँले भन्नुभयो ।

हिमालय टाइम्स प्रतिष्ठान शाखामा ४३ जना पत्रकार रहेको र केही नयाँ साथीहरू पनि थपिएको शाखाका अध्यक्ष चूडामणि कोइरालाले जानकारी दिनुभयो । उहाँले यो शाखामा पत्रकारका सानातिना केही समस्या भए पनि प्रकाशन गृहसँग खासै कुनै समस्या नरहेको र पारिवारिक सौहार्दपूर्ण वातावरण रहेको जिकिर गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?