सत्ताकै वरिपरि भुनभुनाएको राजनीति

Read Time = 17 mins

✍️ इन्द्रबहादुर बराल

नेपालको संविधान २०७२ लाई अत्यन्तै महत्वपूर्ण उपलब्धिको रूपमा लिइए पनि अन्ततः यो संविधानले पनि मुलुकलाई शान्ति, स्थिरता र समृद्धि दिन सकेको अवस्था देखिएन । संविधानमा समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था भएबाट कुनै पनि एउटा दलले सामान्य बहुमत ल्याउन सक्ने लक्षण देखिएन । यस्तो स्थितिमा निरन्तर गठबन्धनको सरकारलाई निम्त्याइ रहनेछ । अहिलेको अवस्थालाई हेर्दा गठबन्धन पनि यस्ता देखिए कि जुन एक अर्कासँग काहँ कतै सैद्धान्तिक र वैचारिक साइनो नै गाँसिएको देखिँदैन । यस्तो गठबन्धनबाट केही दलहरूले आफ्नो लाज त छोप्ने भए तर देशको मान र सान जोगाउन सक्ने अवस्था भने पट्क्कै देखिँदैन ।

यसर्थ नेपालको संविधान २०७२ जारीपछिको दोस्रो आमनिर्वाचनले पनि मुलुकमा स्थायित्व दिने लक्षण छैन । अब निकट भविष्यमा निर्माण हुने सरकारको रूपरेखाभित्र कुनै सकारात्मक आशा राख्ने ठाउँ भेटिँदैन । जताततै फूलमा भमरा भुनभुनाए जस्तै साना ठूला दलहरू, स्वतन्त्र सांसदहरू पनि मोलमोलाइमा उत्रेका चर्चाहरू राजनीतिक वृत्तमा घाइँघुईं सुनिन थालेको छ । देश र जनताभन्दा दल, व्यक्तिलाई केन्द्रमा राख्ने प्रवृत्ति निकै हाबी हुँदै गएको छ जुन अत्यन्तै घातक हुने कुरा यसै अनुमान गर्न सकिन्छ । यही सन्दर्भमा यतिसम्म चर्चा वा अड्कलबाजी गरिँदैछ कि कतै सरकार नै बन्न नसकी तुरुन्तै चुनावमा जान सक्ने आशंका पनि गरिँदैछ ।

यसर्थ यस्ता खाले अनुमान, अड्कल, आशंकालाई चिर्दै ठूला भनिएका दलहरूले राजनीतिक सुझावका साथ वर्तमानको अन्योलको स्थितिबाट मुलुकलाई निकास दिनुपर्ने देखिन्छ । चुनावी तिक्ततालाई चुनावसँगै बिर्सेर अब नयाँ ढंगले देश र जनताको चाहनालाई सम्बोधनतर्फ लाग्नुको अर्को विकल्प देखिँदैन । अहिले मुलुक आर्थिक रूपले अत्यन्तै जर्जर अवस्थामा छ । राजनीतिमा देखिएको असझदारी र असहिष्णुता कम चिन्ताको विषय होइन । यी सब कारणले देशको राजनीति, आर्थिक अवस्था अत्यन्तै चिन्ताको विषय बनेको सन्दर्भमा दलहरूमा समझदारी, सहिष्णुतापूर्ण ढंगले शान्ति, स्थिरता र समृद्धिको बाटो समाउन् भन्ने सदिच्छा आमनेपालीको छ ।

नेपाली कांग्रेसमा आधा दर्जन त प्रधानमन्त्रीकै उम्मेदवार देखिए भने मन्त्री त सबै प्रत्याशी हुनु स्वभाविकै हुने नै भयो । त्यो चुनावमा जनतामा बाँडिएका अश्वासन र स्वयं दलका उम्मेदवारलाई भावी प्रधानमन्त्री, मन्त्री पदको घोषणा आफैँमा एउटा ऐजेरु बन्ने निश्चित देखिन्छ ।

यदि नेपालीको त्यो चाहनाविपरीत फेरि सत्ता राजनीतिको वरिपरि अस्वस्थ प्रतिस्पर्धामा फूलमा भमरा भुनभुनाए झैँ भुनभुनाउन थाले भने नेपालीको सम्यमता र समझदारीको बाँध फुट्न गयो भने निसन्देह फुटेको सम्यमताको बाँधले को कहाँ पुग्छ यसै भन्न सकिँदैन । यसर्थ दलहरूले सचेततापूर्ण परिस्थितिको ठीक ढंगले अध्ययन विश्लेषण गरेर देश र जनतालाई केन्द्रमा राखेर काम गर्दा आफू जुनसुकै अवस्थामा भए पनि बस्न तयार हुनुपर्छ । यो चाहना आमनेपालीको अन्तरात्माको आवाज हो जसलाई नजरअन्दाज गरे प्रतिउत्पादक हुने निश्चित छ । यसै पनि दोस्रो जनआन्दोलनपछिका समय बडो निराशाजनक हुँदै गएको छ । जनताको चाहना, भावना, आकांक्षामाथि यसरी नै सत्ता, सरकार र दलहरू उदासीन रहने हो भने जनता सत्य हो त्यो सत्यसँग खेलबाड भए सत्यरूपी आगोले सबैलाई नष्ट गर्छ यो अर्को ध्रुवसत्य हो । यसर्थ दलहरूमा सत्बुद्धि आओस् र जनताको भावनामा ठेस नलागोस् र ठीक-ठीक ढंगले पार्टी र सरकारले आफ्नो गतिशीलता प्रदर्शन गर्दै जाओस् यही चाहना छ नेपालीको ।

नेपालीको भद्रता, शालीनता र भोलाभालापनको दुरुपयोग नगरून् यो दलहरूका लागि चुनौतीपूर्ण छ । देश एक प्रकारले टाट पल्टिइसकेको अवस्था छ तर दलहरूमा जिम्मेवारी बोध भएको पाइँदैन । संसद्मा सुविधाजनक बहुमत ल्याउन जनता माझ सस्तो लोकप्रियता बाँड्ने काम यसपटकको चुनावमा पनि भए÷गरेको पाइन्थ्यो । सुविधाजनक बहुमत नभए पनि सबैभन्दा ठूलो दल बन्ने होडबाजीमा मतदातालाई प्रभावमा पार्न थुप्रै उम्मेदवारलाई प्रधानमन्त्री र मन्त्री पद बाँड्ने काम नभएको होइन । नेपाली कांग्रेसमा आधा दर्जन त प्रधानमन्त्रीकै उम्मेदवार देखिए भने मन्त्री त सबै प्रत्याशी हुनु स्वभाविकै हुने भयो । त्यो चुनावमा जनतामा बाँडिएका अश्वासन र स्वयं दलका उम्मेदवारलाई भावी प्रधानमन्त्री, मन्त्री पदको घोषणा आफैँमा एउटा ऐजेरु बन्ने निश्चित देखिन्छ । यसर्थ यस्तो अवस्थामा निर्माण हुने सरकार जन्मदै कुपोषणयुक्त हुने प्रष्ट संकेतहरू छर्लंग छन् । यसो हुँदाहुँदै पनि सरकार बनाउनुपर्ने नै छ । त्यसका लागि दलहरू, स्वतन्त्र विजयी सांसदको मूल्य अकाशिँदो रूपमा बढ्दै गएको अनुभूत गर्न थालिएको छ ।

यस्तो स्थितिमा नेपालीहरूले २०५१ सालको मध्यावधि चुनावले भित्र्याएको विकृति र विसंगतिको सम्झना गराएको छ । सांसद खरिदबिक्रीदेखि लिएर सुरासुन्दरी काण्ड, पजेरो सुविधा आदिले आजित भएका जिम्मेवार नेपालीहरू फेरि पिरोलिन थालिसकेका छन् । दलहरू सत्ताको तीव्र आकांक्षाले साना ठूला दलहरू, स्वतन्त्र सांसदहरू फकाउन सुरु भइसकेको तथ्य सामाजिक सञ्जालदेखि सबै सञ्चारमाध्यमबाट आमनेपाली सुसूचित भइरहेकै छन् । जनताले सचेततापूर्वक दलहरूका गतिविधिलाई नियालिराखेका पनि छन् । अब पनि दलहरू विगतकै जस्तो दलीय स्वार्थमा रुमलिएर जनभावनाविपरीत जान थाले भने नेपालीले अब धुलो चटाइदिनेमा कुनै द्विविधा नपाले हुन्छ ।

यसै यसपटकको चुनावमा दलहरू एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा उत्रेको भए नांगेझार हुने थिए । त्यही भएर सिद्धान्त, विचार, आस्था, निष्ठा, आदर्शलाई छोडेर विपरीत राजनीतिक आस्था बोकेका पार्टीहरूसँग चुनावी तालमेल हुनु ती पार्टीहरूको हतास र पराजित मानसिकताको उपज थियो । तुलनात्मक रूपले गठबन्धनबाट नेपाली कांग्रेसले केही बढी राजनीतिक लाभ लियो भने माओवादी र एकीकृत समाजवादीले थोरै लाज छोप्ने काम गरे । उता एमालेले पनि छिटफुट चुनावी तालमेल गरे पनि आशातीत उपलब्धि हात पार्न सकेन । फगत अस्वाभाविक तालमेल ‘गहतको झोलमा जात फाल्नु’ मात्र भयोभन्दा अन्यथा नहोला ।

नेकपा एमालेका अध्यक्षको छुद्र बोलीले राजनीतिमा उनको साख घट्दै गएको कुरा घाइँघुइँ सुनिन थालिसकेको छ । त्यस तहको नेताले अरूप्रति गरिने टीकाटिप्पणी (कटाक्ष) अशोभनीयमात्रै होइन निन्दनीय थिए, छन् पनि । यो सब सत्ता राजनीतिको अतृप्त आकांक्षाको परिणाम हो । सायद राजनीतिलाई एउटा आदर्श र निष्ठाको मार्ग दर्शनबाट हिँडाउने प्रयत्न गरेको भए सम्भवत नेताहरूले राजनीतिमा यति निच र तुच्छ विषय बनाउने थिएनन् होला । त्यसैले अझै राजनीतिलाई व्यक्तिगत प्रतिष्ठाको र पेशाको रूपमा नहेरी सेवाको दृष्टिबाट अभिप्रेरित हुने हाम्रो राजनीतिक सैद्धान्तिक मार्ग चित्रले देखाएको पथमा हिँड्ने प्रेरणा नेताहरूमा मिलोस् भन्ने कामना राख्नु उपयुक्त नै होला । होइन भने २०७९ सालको प्रारम्भमा सम्पन्न स्थानीय चुनावको नतिजाले जन्मेका बालेन र हर्क साङ्पाङ, हालै सम्पन्न आमनिर्वाचनबाट उदाएका रवि लामिछाने कथित ठूला पार्टीका लागि ‘कबावका हड्डी’ हुने पक्का छ ।

अब पनि राजनीति केबल सत्ताकै वरिपरि घुमिरहनका लागि लाजै नमानी जस्तो हर्कत गर्ने प्रवृत्तिको अन्त्य नभए देश ठूलो दुर्घटनामा फस्ने अशुभ संकेतहरू देखिन थालेका छन् । यसर्थ यदि अहिलेसम्मका ठूला दलहरू आफ्नो सात दशकभन्दा लामो इतिहासलाई जीवन्त राख्ने हो भने आफूलाई समयानुकूल परिमार्जन गरी परिष्कृत बन्दैजाउन् । नेपालीको चेतनाको स्तर धेरैमाथि उठिसकेको छ । नेताभन्दा कार्यकर्ता र कार्यकर्ताभन्दा जनतामा धेरै ठूलो राजनीतिक र सामाजिक चेतना आइसकेको छ । आफ्नो सत्ता टिकाउन राणाहरूले जनताका छोराछोरीलाई शिक्षाबाट वञ्चित गरेका थिए । जेनतेन भारतीय स्वतन्त्रता संग्रामबाट अभिप्रेरित भएर नेपालमा प्रजातन्त्रको युग त आयो २००७ सालमा तर शिक्षाको अभाव र राजनीतिक जागरण जुन रूपमा हुनुपर्ने थियो त्यो हुन सकेन । त्यसैले शिक्षा नै देश विकासको पहिलो खुड्किलो हो भन्नेमा कुनै शंका छैन । यद्यपि अहिले पनि हामी नेपालीमा विकासको मानक शिक्षा कि सडक भन्ने द्विविधा जस्तो देखिन्छ । सडक सञ्जालको व्यापकताले पाएको भौतिक सुविधाको अगाडि शिक्षाको विकासलाई पछाडि दोस्रो श्रेणीमा राखे जस्तो भान पर्न गए पनि यथार्थतामा शिक्षा नै दिगो विकासको मानक हो ।

यसकारण अबको राजनीतिक कोर्स पुरानो शैली र तौरतरिकाले चल्ने अवस्था छैन । धेरै युवाहरू राजनीतिमा जबरजस्त हस्तक्षेपकारी भूमिकामा दृढ इच्छाशक्तिका साथ देखा परिसके । अब कुनै गलत ढंगले आफ्ना भोटबैंक एकै ठाउँ थुपारेर राख्छु भन्ने भ्रम नपाल्दा हुन्छ ।

देशको सर्वांगीण विकासमा शिक्षाकै महत्वपूर्ण भूमिका रहन्छ । जबसम्म यो मान्यताले उच्च–प्राथमिकता पाउँदैन तबसम्म हाम्रो चेतनाकोस्तर माथि उठ्न सक्दैन भनी ठोकुवा गर्न सकिन्छ । नेपालमा जब विश्वविद्यालयहरूले आफ्ना आंगिक क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनहरूको चुनाव गराउन असफल रहे त्यही समयदेखि परम्रागत राजनीतिक दलहरू आफ्ना भ्रातृ संगठनहरूलाई आफ्ना पार्टीमा संलग्न गराउन क्रमशः चुक्दै गए । विस्तारै ती विद्यार्थीहरू राजनीतिबाट टाढिँदै गए । अहिलेको परिणाम त्यसैको प्रतिफल हो । यसर्थ अब कांग्रेस, एमाले, माओवादी आदि दलहरूका दिन सकिँदै गएका हुन्भन्दा धेरै अन्यथा मान्न सकिँदैन ।
यसका पूर्वसंकेतहरू हामी सबैका सामु जगजाहेर छन् । पञ्चायतकालीन् अवस्थामा गाउँगाउँका स्कुलहरूमा राजनीति पुगेको हुन्थ्यो । त्यही राजनीतिक जागरणले पञ्चायतको निरंकुशताको अन्त्य गर्न सघाउ गरेको थियो । प्रजातन्त्रको पुनस्र्थापनापछि शिक्षामा निजीकरण गरियो तर निजीस्तरका स्कुल कलेजमा राजनीति प्रवेश गर्न दिइएन । त्यसैको परिणति आजका शिक्षित नवयुवाहरू दलीय राजनीतिबाट ‘जसोजसो बाजे उसै उसै स्वाहा’ को प्रभावबाट मुक्त हुँदा दलहरू कमजोर देखिन पुगे । यद्यपि माओवादी जस्तो पार्टीले पिछडिएको क्षेत्र, वर्ग, जाति, लिंग आदिलाई उचालेर यहाँसम्म आयो तर विस्तारै जसरी देखा पर्‍यो त्यसरी नै ओरालो लाग्न थालेको तथ्य सर्वविदितै छ ।

यसकारण अबको राजनीतिक कोर्स पुरानो शैली र तौरतरिकाले चल्ने अवस्था छैन । धेरै सुयोग्य युवाहरू राजनीतिमा जबरजस्त हस्तक्षेपकारी भूमिकामा दृढ इच्छाशक्तिका साथ देखा परिसके । अब कुनै गलत ढंगले आफ्ना भोट बैंक एकै ठाउँ थुपारेर राख्छु भन्ने भ्रम नपाल्दा हुन्छ । अहिले उदाउँदो राजनीतिक चेतनाले त्यस्ता गलत पात्र र प्रवृत्ति धेरै टिक्दैनन् । बागमती किनाराका तथाकथित सुकुम्बासी अन्ततः राजनीतिक पार्टीले भोट बैंक बनाएको रहेछ भन्ने त छर्लंग भयो नि । यसर्थ अब सत्ता राजनीतिको वरिपरि भुनभुनाउने पात्र र प्रवृत्ति क्रमिक रूपमा ओरालो लाग्दैछन् । उच्च शिक्षा हासिल गरेका युवाहरूको राजनीतिमा देखिएको उपस्थितिले धेरै आशा र भरोसाले नेपालीलाई निराश हुनबाट जोगाउने विश्वास राख्न सकिन्छ । खबरदार सत्ता राजनीतिका लागि घृणित खेल नहोस् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?