सुदूरपश्चिममा कसको नेतृत्वमा बन्ला सरकार ?

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 7 mins

कैलाली । सुदूरपश्चिम प्रदेशमा कसको नेतृत्वमा प्रदेश सरकार बन्ला भनेर अहिले सर्वत्र चासोको विषय बनेको छ । जनताले नयाँ जनादेश दिएर प्रदेश सभाका लागि आफ्ना प्रतिनिधि पठाइसकेपछि प्रदेशमा कसको नेतृत्वमा सरकार बन्ने हो भन्ने चासो सबैतिर बढेको हो । मङ्सिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनबाट सुदूरपश्चिममा नेपाली कांग्रेस सबैभन्दा ठूलो बनेको छ । कांग्रेस ठूलो दल भएकाले यसको नेतृत्वमा प्रदेश सरकार बन्ने अवस्था सहज देखिएको छ ।

खास गरेर सत्ता गठबन्धनमा आवद्ध दलहरुले नयाँ सरकार गठनको सवालमा ध्यान केन्द्रित गरेका छन । प्रदेश सभामा जम्मा ५३ सदस्य रहेकोमा सरकार गठनका लागि सत्तारुढ दलसंग स्पष्ट बहुमत रहेको छ । बहुमतको सरकार गठन गर्न २७ सदस्य चाहिनेमा गठबन्धनसंग ३४ सदस्य सङ्ख्या रहेको छ । त्यसैले सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) भित्र नयाँ सरकार गठनको सवालमा कुरा उठ्न थालेको छ ।

नयाँ सरकार गठनका लागि गठबन्धनबीच छलफल नभए पनि गठबन्धन आवद्ध दलहरुभित्र आ-आफ्नै तवरले कुरा उठिरहेको नेकपा (माओवादी केन्द्र) का प्रदेश अध्यक्ष हरिराम चौधरीले बताउनुभयाे । प्रदेश सरकार गठनको सवालमा गठबन्धन दलबीच अहिले छलफल नभएको बताउदै उहाँले केन्द्रको समिकरण अनुसार नै सुदूरपश्चिममा गठबन्धन अगाढी बढ्ने बताउनुभयाे ।

सदस्यहरुको शपथ ग्रहणपछि प्रदेशमा नयाँ सरकारको गठनको कार्यलाई अगाडि बढाइने अध्यक्ष चौधरीले बताउनुभयाे । ‘गठबन्धन दलको पूर्ण सहमतिबाटै गठबन्धनको प्रदेश सरकार बन्ने उहाँले दाबि गर्नुभयाे ।

सुदूरपश्चिम प्रदेश सभामा ६ वटा राजनीतिक दलको प्रतिनिधित्व भएको छ । यसैगरी, एक जना प्रदेश सभा सदस्य स्वतन्त्रबाट निर्वाचित भएका छन् । गठबन्धन आवद्ध तीन राजनीतिक दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीको प्रदेश सभामा उपस्थिति भएको छ । तीनै दलभित्र मुख्यमन्त्रीका लागि आकांक्षी देखिएका छन् ।

नेपाली कांग्रेसबाट प्रकाश देउवा, कमल शाह, मेघराज खड्का, बहादुर सिह थापा र दीवानसिंह विष्ट मुख्यमन्त्रीको आकांक्षी रहेका छन् । देउवा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भतिजा हुनुनुहुन्छ । यसैगरी, माओवादी केन्द्रबाट मुख्यमन्त्रीको बलियो दाबेदार खगराज भट्ट हुनुहुन्छ । उहाँले आफूले मुख्यमन्त्री पाउनु पर्ने दाबी गरि सक्नु भएकाे छ । निर्वाचन अगाडि डडेल्धुरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्नु हुँदै प्रधानमन्त्री देउवाले पनि चुनाव जितेमा भट्ट मुख्यमन्त्री बन्न सक्ने सङ्केत गर्नुभएकाे थियाे । यस्तै, नेकपा (एकीकृत समाजवादी) बाट दीर्घ सोडारी मुख्यमन्त्रीको दाबेदार रहनु भएकाे छ । सोडारी अहिले प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्रालयमै बहालवाला मन्त्री हुनुहुन्छ ।

गठबन्धन दलहरुमा केहीको व्यक्तिगत रुपमा मुख्यमन्त्रीको लागि दाबी रहे पनि सहमतिबाटै मुख्यमन्त्रीको टुङ्गो लगाइने गठबन्धन दलका नेताहरुको भनाइ छ । सरकार बनाउनका लागि गठबन्धनको बहुमत भए पनि सहमतिको सरकार चलाइने नेपाली काँग्रेसबाट प्रदेश सभामा विजयी प्रकास देउवाको भनाइ छ ।

पूर्ण सहमति भएन भने भरसक न्यूनतम् सहमतिको सरकार चलाउने गठबन्धनको मुख्य उद्देश्य रहेको उहाँको भनाई छ । सरकार गठनको क्रममा विभिन्न समीकरण हुन सक्ने सम्भावना पनि रहेको गठबन्धन आबद्ध दलको ठहर छ । प्रदेश सभामा नेपाली कांग्रेसबाट १९, नेकपा माओवादी केन्द्रबाट ११, नेकपा एमालेबाट १०, नागरिक उन्मुक्ति पार्टीबाट ७, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट ४, राप्रपाबाट १ प्रदेश सभा सदस्यको प्रतिनिधित्व भएको छ । यसैगरी, एक जना स्वतन्त्रको पनि प्रतिनिधित्व रहेको छ ।

गठबन्धनसंग बहुमत पुर्‍याउने सङ्ख्या भन्दा पनि बढी प्रदेश सभा सदस्य रहेका छन् । प्रदेश सरकार गठनमा गठबन्धनले अरु दललाई मिलाउन नचाहेमा पनि सरकार सजिलै बन्नेछ । यदि, त्यसैमा नागरिक उन्मुक्ति पार्टीलाई मिलाइएमा गठबन्धनसंग सदस्य सङ्ख्या ४१ पुग्नेछ । गठबन्धन बाहेकका दलले भने मिलेर प्रदेश सरकार बनाउन सक्ने सम्भावना छैन । नेकपा (एमाले), नागरिक उन्मुक्ति, राप्रपा र एक स्वतन्त्र मिलेर सङ्ख्या १९ मात्रै पुग्नेछ । तर, गठबन्धन भत्काएर एमालेले माओवादीलाई आफ्नो सरकारमा ल्याउन सकेमा चार दल र एक स्वतन्त्र मिलेर वा राप्रपा र स्वतन्त्रलाई बाहिर राखेर प्रदेश सरकार बनाउन सकिने विकल्प देखिन्छ ।

चार दल र एक स्वतन्त्र मिलेमा संख्या ३० पुग्नेछ । राप्रपा र स्वतन्त्रलाई बाहिर राखेर एमाले, माओवादी, नागरिक उन्मुक्ति मिलेमा संख्या २८ पुग्नेछ । जुन बहुमतको सरकार गठन गर्न पुग्नेछ । प्रदेश सभामा दोस्रो ठूलो दल बनेको माओवादी केन्द्र सरकार बनाउनका लागि जता पनि निर्णायक देखिएको छ । मुख्यमन्त्री नपाएमा माओवादी केन्द्रले आफू मुख्यमन्त्री लिने गरी अरु दलसंग पनि मिलेर सरकार गठनको विकल्प अपनाउन सकिने कतिपयको बुझाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?