चार महिनामै फर्किए प्रभाकर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर चार महिनामै पदबाट हट्ने हुनुभएको छ । पछिल्लो समय नेपाली क्रिकेट टोलीले लगातार खराब नतिजा निकालेसँगै गत साउनमा मुख्य प्रशिक्षक नियुक्त हुनुभएका प्रभाकर चार महिनामै स्वदेश फर्किनुभएको हो ।

भारतीय क्रिकेटर प्रभाकर मंगलबार नै स्वदेश फर्किसक्नुभएको छ । नेपाल क्रिकेट संघ(क्यान)का अनुसार आपसी समझदारीमा प्रभाकरसँगको सम्झौता भंग गरिएको हो । तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि क्यानले एक वर्षका लागि उहाँलाई नियुक्त गरेको थियो ।

उहाँको आगमनसँगै नेपाली टोलीको ब्याटिङक्रम र प्लेइङ ११ मा निकै फेरबदल गरेको र आशाअनुरूप नतिजा पनि दिन नसकेका कारण उहाँको आलोचना हुँदै आएको थियो । ब्याटिङक्रममा फेरबदलका कारण नेपालले लगातार खेलहरू गुमाइरहेको थियो । भर्खरै नामिबियामा सम्पन्न आइसिसी विश्वकप लिग-२ मा पनि जितविहीन खराब प्रदर्शन गरेपछि उहाँमाथि दबाब बढेको थियो । सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोड्दै पुछारबाट दोस्रोमा छ । सोही कारण नेपालको एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पनि धरापमा परेको छ ।

रुखो स्वभावका प्रभाकरका कारण यसअघि पनि कीर्तिपुर मैदानमा भएको युएईसँगको तीन ओडिआई खेलको सिरिजमा खेलाडी र प्रशिक्षकबीचको सम्बन्ध राम्रो नभएको खबर बाहिर आएको थियो । त्यसअघि भएको केन्या टुरका क्रममा आरिफ शेखलगायत खेलाडीसँग प्रभाकरको भनाभन नै भएको खबर बाहिरिएको थियो ।
त्यसबाहेक प्रभाकरले उच्च लयमा रहनुभएका ब्याटर आदिल अन्सारीलाई टोलीमा मौका नै दिनुभएन । यस्तै, प्रमुख बलरद्वय सोमपाल कामी र करण केसीलाई समेत बेञ्चमा राखिँदै आएको थियो । ओपनर कुशल भुर्तेललाई सातौँ नम्बरमा ब्याटिङ गराएपछि उहाँको ब्याटिङ अर्डरको चौतर्फी आलोचना भएको थियो ।

अलराण्डर प्रभाकरले भारतबाट ३९ टेस्ट, १३० ओडिआई खेल खेल्नुभएको छ । उहाँले सन् १९८७, १९९२ र १९९६ मा भारतबाट लगातार तीन विश्वकप खेल्नुभएको थियो । प्रभाकर भारतीय क्रिकेटमा विवादित पनि रहनुभयो । वेस्ट इण्डिजसँगको खेलका क्रममा म्याच फिक्सिङ गरेको भन्दै बिसिसिआईले उहाँलाई २००० मा भारतमा क्रिकेट खेल्न प्रतिबन्ध लगाएको थियो । ६ वर्षपछि उहाँको प्रतिबन्ध हटेको थियो । सन् २०१५ देखि २०१६ मा भारतमा भएको टी-२० विश्वकपसम्म उहाँले अफगानिस्तानको बलिङ प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?