ललितपुर । आयात प्रतिस्थापन, वातावरण संरक्षण, किफायतीका साथै जनस्वास्थ्यमा हुनसक्ने जोखिम न्यूनीकरणका लागि विद्युतीय स्वच्छ ऊर्जा प्रयोगमा विज्ञहरूले जोड दिएका छन् । एलपी ग्याँसको बढ्दो आयात घटाउन र स्वदेशमै उत्पादित विद्युत्को खपत बढाउन विद्युतीय चुलो र भान्सामा प्रयोग हुने अन्य विद्युतीय उपकरण प्रयोगलाई प्रोत्साहित गर्नुपर्ने उनीहरूको भनाइ छ । मंगलबार नेपाल वातावरण पत्रकार समूह, प्रकृति रिसोर्सेस सेन्टर र विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल ललितपुरमा आयोजित स्वच्छ खाना पकाउने ऊर्जा विषयक अन्तरक्रियामा उनीहरूले स्वच्छ खाना पकाउने ऊर्जा प्रयोग बढाउन विद्युतीय चुलो प्रयोगलाई व्यापक बनाइनुपर्ने बताएका हुन् ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका नायब कार्यकारी निर्देशक नवराज ढकालले सन् २०३० भित्र खाना पकाउने आधारभूत स्रोतका रूपमा विद्युतीय चुलोमा जाने सरकारको नीति रहेकाले ढिलोचाँडो विद्युतीय चुलोको प्रयोग सबैका लागि सहज र सर्वसुलभ हुने दाबी गर्नुभयो ।
जनताका लागि ऊर्जा तथा वातावरण विकास संस्था (पीडा)का प्रमुख कार्यकारी अधिकृत विराज गौतमले परम्परागत ऊर्जालाई विस्थापित गर्न आमसञ्चारको भूमिका महत्वपूर्ण हुने भन्दै विद्युत् आपूर्ति सुनिश्चित भएमा धेरै उपभोक्ता विद्युतीय चुलोतर्फ जानसक्ने बताउनुभयो ।
आधुनिक चुलो प्रयोगले समय बचत र मानव स्वास्थ्य सुधार हुने ऊर्जा अभ्यासकर्ता मञ्जरी श्रेष्ठको अनुभव छ । घर, भान्सा र भाँडा फोहोर न्यून हुने भएकाले विद्युतीय चुलोेलाई प्रोत्साहित गर्न सरोकारवालाबीच समन्वय आवश्यक हुने उहाँको भनाइ छ । खाना पकाउने र भान्साको काम महिलाको मात्रै हो भन्ने बुझाइलाई परिवर्तन गर्न सके विद्युतीय चुलोे प्रयोगकर्ता धेरै बढाउन सकिने श्रेष्ठले बताउनुभयो ।
ऊर्जा पत्रकार भीम गौतमले विद्युतीय पूर्वाधार विस्तारमा जोड दिनुभयो । सरकारले सन् २०२८ भित्र शतप्रतिशत घरधुुरीमा विद्युतीय चुलो उपयोग गर्ने लक्ष्य लिएको भए पनि सोहीअनुसारको विद्युतीय पूर्वाधारमा भने ध्यान नदिएको उहाँको भनाइ छ । दिगो विकास लक्ष्य र नेपालले लिएको शून्य कार्बन उत्सर्जन लक्ष्यमा पुग्न विद्युतीय चुलोलगायतका उपकरणको प्रयोग बढाउन सरकारले प्रोत्साहनमूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने प्रकृति सिसोर्सेस सेन्टरका कार्यक्रम निर्देशक प्रवीनमान सिंह र समूहकी अध्यक्ष रोशनी अधिकारीले बताउनुभयो ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका अनुसार सन् २००९ मा परम्परागत इन्धनमा खाना पकाउने नेपालीहरूको संख्या ८७.१ प्रतिशत रहेकोमा यस वर्षसम्ममा सो दर २२ प्रतिशतले घटेको छ । दाउरा, गुइँठालगायत परम्परागत इन्धनमा परनिर्भर हुने नेपालीको संख्या ६५ प्रतिशत हाराहारी छ । सन् २००९ मा वैकल्पिक ऊर्जाको प्रयोग ०.७ प्रतिशत रहेकोमा सो दर हाल बढेको छ । विद्युतीय चुलो, राइसकुकरलगायतका उपकरण चलाउन अभ्यस्त नहुँदा धेरै नेपाली नयाँ प्रविधिमा घुलमिल हुन नसकेको बताइएको छ । ग्याँसभन्दा विद्युतीय चुलो प्रयोग निकै सस्तो हुने भए पनि प्रयोग भने अपेक्षाअनुसार बढ्न सकेको छैन । सरकारको सन् २०४५ भित्र कार्बन उत्सर्जन शून्यमा झार्ने, सन् २०२५ भित्र पाँच लाख र सन् २०३० सम्ममा २५ प्रतिशत घरधुरीले विद्युतीय खाना पकाउने प्रविधि अपनाउनेलगायतका विभिन्न लक्ष्य लिएको छ । नेपालले एलपी ग्याँस तथा पेट्रोलियम पदार्थ गरी वार्षिक दुई खर्बभन्दा बढीको इन्धन आयात गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच