कर्णालीमा ५२ प्रतिशत बालविवाह

हिमालय टाइम्स
Read Time = 5 mins

सुर्खेत । सुत्केरी हुन नसकेर आर्थिक वर्ष २०७८/७९ मा १७ मृत्यु भएका मध्ये २० वर्ष मुनिका पाँच जना रहेका छन् । कलिलै उमेरमा आमा बन्दा ज्यान नै जोखिममा पर्ने गरेको यो आँकडाले देखाउँछ । बालविवाहका कारण किशोरीको स्वास्थ्यमा ठूलो असर परेको र कर्णालीको मातृ मृत्युको तथ्यांक हेर्ने हो भने डरलाग्दो रहेको महिला अधिकार मञ्च जाजरकोटका संयोजक आशा सिंहले बताउनुभयो । शारीरिक र मानसिक रूपमा परिपक्व नभई कलिलै उमेरमा विवाह गर्दा कर्णालीमा मातृ र शिशु मृत्युमा कमी आउन नसकेको उहाँको भनाइ छ ।

बच्चा जन्माउन नसकेको अवस्थामा ज्यान नै जाने घटना धेरै रहे पनि सबै सार्वजनिक नहुने गरेको पाइएको छ । बच्चा जन्माउन सफल भएका कतिपय आमाको पछि पाठेघर खस्ने, अन्य शारीरिक समस्या देखापर्ने गरेको सिंहले बताउनुभयो । कानुनले २० वर्ष नपुगी विवाह गर्न नपाउने व्यवस्था गरेको छ । यसलाई रोक्न सरकारी तथा गैरसरकारी संस्थाबाट अभियान सञ्चालन भए पनि बालविवाह न्यूनीकरण हुन नसकेको हो ।

कर्णालीमा ५२ प्रतिशत बालविवाह हुने गरेको सरकारी तथ्यांक छ । गरिबी, अशिक्षा र पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले पनि बालविवाह बढ्दो छ । जनचेतनामूलक कार्यक्रम भइरहे पनि अपेक्षित रूपमा बालविवाह न्यूनीकरण हुन सकेको छैन । उमेर नपुग्दै बालविवाह गरेको पाइए अभिभावकलाई राखेर सम्झाइ बुझाइ गरेर विहे रद्द गर्ने गरिए पनि लुकिछिपी बालविवाह भइरहेको बताइन्छ ।

पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा कलिलो उमेरमा आमा हुनेको संख्यामा कमी आउन नसकेको पाइएको छ । २०७६ यता कर्णालीमा गर्भवती हुनेको तथ्यांकअनुसार १६ हजार ७०१ जना २० वर्षमुनिका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा पाँच हजार ३२८ जना २० जना, २०७७/७८ मा ६ हजार २० जना र २०७८/७९ पाँच हजार ३५३ जना २० वर्षमुनिका छन् । कलिलै उमेरमा विवाह गर्दा कर्णालीमा आमा र बच्चा दुवैको ज्यान जोखिममा रहेको छ ।
समाजमा बालविवाह भए पनि अधिकांश जात मिल्नेसँग भएमा चुपचाप लाग्ने र फरक जात हुनेबित्तिकै प्रहरीसम्म पुग्ने गरेको पाइन्छ । प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार कर्णाली प्रदेशमा आर्थिक वर्ष २०७७/७८ मा २० वटा, २०७८/७९ मा ११, २०७९/८० मा ६ वटा उजुरी बालविवाह दर्ता भएका हुन् । बालविवाह न्यूनीकरणका लागि रणनीतिक योजना बनाउने तयारी थालेको बताइएको छ । बालविवाह न्यूनीकरण गर्न प्रदेश सरकारले ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको, छात्रवृत्ति लगायतका सचेतनाका कार्यक्रम सञ्चालन ल्याएको छ ।

आर्थिक समस्यादेखि बढ्दो प्राविधिको दुरुपयोगका कारणे बालविवाह बढी हुने गरेको पाइन्छ । परिवारका गलत संस्कार र बालबालिकाको निगरानी नहुँदा पनि बालविवाह बढेको सरोकारवालाको भनाइ छ । पहिले सूचनाको पहुँच सबै ठाउँमा नहुँदा बाल विवाह भएपनि थाहा नहुने गरेको र अहिले सबै ठाउँमा पहुँच बढेसँगै सबै कुरा थाहा हुने गरेको नागरिक अगुवा तथा बाल विवाह न्यूनीकरण अभियानका अभियन्ता राजेन्द्रविक्रम शाहले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?