अर्जेन्टिना विश्वकपको फाइनलमा

विश्वकपको उपाधि जित्ने सपनाको नजिक मेस्सी

Read Time = 4 mins

दोहा । अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसी आफ्नै कप्तानीमा विश्वकपको उपाधि जित्ने सपनाको नजिक पुग्नुभएको छ । बुधबार कतारको लुसाइल रंगशालामा टीमको प्रभावशाली खेलसँगै अर्जेन्टिना फाइनलमा पुगेको हो । गुरु/चेला लियोनल मेस्सी र जुलियन अल्भारेजले प्रभावशाली प्रदर्शन गरेपछि अर्जेन्टिना दोहाको लुसेल रंगशालामा क्रोएसियालाई ३-० ले हराएर छैटौंपल्ट फिफा विश्वकपको फाइनलमा पुगेको छ ।

लियोनल मेस्सीलाई फुटबलको सबैभन्दा प्रतिष्ठित उपाधि जित्ने सम्भवतः यो अन्तिम अवसर हो । उहाँको शानदार करिअरमा अहिलेसम्म यो सफलता मिलेको छैन । अब दोस्रो सेमिफाइनलमा साविक विजेता फ्रान्स र मोरक्को आमनेसामने हुनेछन् । फ्रान्स र मोरोक्को फाइनल प्रवेशका लागि बिहीबार राति पौने १ बजे प्रतिस्पर्धा गर्दैछन् ।

खेलको ३४ औं मिनेटमा क्रोएसियाका गोलकिपरले १८ यार्ड बक्समा जुलियनलाई फल गरेपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पायो । जसको भरपुर सदुपयोग गर्दै मेस्सीले गोलको दिशा दिनुभयो ।

पाँचौ पटक विश्वकप खेलिरहनुभएका अर्जेन्टिनी स्टार मेस्सीले आफ्नो बायाँ खुट्टाले पोस्टको दायाँ कुनामा प्रहार गर्दै टीमलाई १–० को अग्रता दिलाउनुभयो ।

विश्वकपमा अर्जेन्टिनाका लागि ११ गोल गर्दै कीर्तिमान बनाउनुभएका मेस्सीले कतार विश्वकपमा मात्रै पाँच गोल गरिसक्नु भएको छ । यससँगै गोल्डेन बुटका लागि मेसीले आफ्नो दाबी कायमै राख्नुभएको छ ।

बुधबारको रोमाञ्चक खेलमा मेस्सीले गोल गरेको पाँच मिनेटपछि जुलियनले एक गोल थप्दै अग्रता दोब्बर बनाउनुभयो । मेस्सीको हेडर पासमार्फत मध्यभागबाट बल लिएर अघि बढनुभएका उहाँले क्रोएसियाको कडा डिफेन्स चिर्दै गोल गर्न सफल हुनुभएको हो ।

पहिलो हाफमा २-० ले अगाडि रहेको अर्जेन्टिनाका लागि दोस्रो हाफमा फेरि जुलियनले मेस्सीको असिस्टमा अर्को गोल गर्नुभयो । ६९ मिनेटमा गोल थप्दै उहाँले टीमलाई ३-० को अवस्थामा पुर्‍याउनुभएको हो । यसपछि दुबै टोलीबाट कुनै गोल हुन सकेन भने अर्जेन्टिना विजयी भयो ।

अर्जेन्टिनाले क्रोएसियालाई हराएर सन् २०१८ को विश्वकपको समूह चरणमा भोगेको ३-० को पराजयको पनि बदला लिएको छ ।
यसैबीच मेस्सीले विश्वकपमा २५ म्याच खेल्ने जर्मन खेलाडी लोथर म्याथुससँग बराबरी गर्नुभएको छ ।

अर्जेन्टिनाले पछिल्लो पटक सन् १९८६ मा विश्वकपको उपाधि जितेयता अर्को उपाधि जित्न सकेको छैन । पछिल्लो पटक अर्जेन्टिना सन् २०१४ मा विश्वकपको फाइनलमा पुगेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?