प्रोष्टेट संलग्न मूत्र समस्या र औषधोपचार

✍️ प्रा.डा.अर्जुनदेव भट्ट

मूत्रलक्षणका प्रकार
मूत्रपद्धति तल्लो भाग संलक्षणको उत्पत्तिमा प्रोष्टेट ग्रन्थि धेरै जिम्मेवार हुन्छ । प्रोष्टेट ग्रन्थिका कोषिकाहरूको अति वृद्धि-हाइपरप्लेजिआ प्रायः ४० वर्षपश्चात् हुन थालेपछि मूत्रथैलीको दुई मुख्य कार्य मूत्र सञ्चय गर्ने तथा निष्काशन गर्नेमा व्यवधान उत्पन्न हुन सक्छ ।
एक थरीका पुरुषहरूमा उत्तेजनात्मक लक्षण जस्तैः पिसाब फेरिसकेको केही समयपछि नै पिसाब फेर्ने मन भएको जस्तो हुने र बार-बार पिसाब फेरिराख्नुपर्ने, राति पिसाब फेर्न उठिराख्नुपर्ने, पेटको तल्लो भागरित सम्पूर्ण ध्यान केन्द्रित हुने र सूचि नगरुन्जेल मन अशान्त भइरहनेजस्ता लक्षण देखापर्न सक्छन् । पिसाब लागेपछि रोक्नै मुस्किल हुने र जाँदाजाँदै पिसाब चुहिने हुन्छ भने अर्का थरीका पुरुषमा अवरोधको लक्षण जस्तैः पिसाब फेर्न गएपछि केही समय कुरेर कनेपछि मात्र पिसाब हुने गर्छ । एकै पल्टमा सरर सबै पिसाब नआएर रोकिइरोकिई पिसाब आउने, पिसाब निखार्न लामो समय लाग्ने, पिसाबको धारा लुलो तथा मसिनो हुने, अन्त्यमा पिसाबको थोपाथोपा खस्ने र पिसाब पूरा ननिख्रेको अनुभव हुने गर्दछ ।

यी माथि उल्लेखित लक्षणहरू प्रोष्टेटको साथै उमेरसम्बद्ध मूत्रथैली मांसपेशी दुष्क्रियाले गर्दा बढी आक्रमणशील हुन्छन् ।

प्रोष्टेटको तौल र मूत्रलक्षण
मूत्रपद्धति तल्लो भाग संलक्षण देखापरे चिकित्सकलाई देखाउनुपर्ने हुन्छ । प्रायः ४० वर्षपछि यी लक्षण प्रोष्टेट ग्रन्थि हाइपरष्लेजिआ सम्बन्धित हुन्छन् । तर, मूत्रथैलीको निर्गम मार्ग जुनसुकै कारणबाट अवरोध भए पनि मूत्रलक्षण उत्पन्न हुन सक्छन् ।
प्रोष्टेट ग्रन्थि सामान्य अवस्थामा १० देखि २० (२५) ग्रामको हुन्छ । कतिसम्म त्यसको वृद्धिले मूत्रपद्धति तल्लो भाग संलक्षण उत्पन्न गराउँछ त्यो यकिन भन्न नमिले पनि ३० देखि ४० ग्रामपछि यस्ता संलक्षण बढी सहसम्बन्धित भएको पाइन्छ । तर, त्यसो भन्दैमा ३० ग्रामभन्दा सानो प्रोष्टेट गन्थिले कुनै लक्षण दिनै सक्दैन भन्ने होइन । ३० ग्रामभन्दा सानो वा सामान्य माप (साइज) वा त्योभन्दा पनि सानो ग्रन्थि, जसले आफ्नो लचकता गुमाएको छ त्यसले प्रमुखतः (अधिकांश) मूत्रथैली निर्गम माग अवरोधका लक्षण प्रदर्शन गर्ने गर्दछ । ती लक्षण हुन्-

  • पिसाब गर्न गएपछि केहीबेर कुरेर कनेपछि मात्र पिसाब हुने,
  • पिसाब एकै पल्ट सबै नआएर रोकिइरोकिई आउने,
  • पिसाबको धारा लुलो, कमजोर तथा मसिनो हुने इत्यादि ।

रोग निदान
प्रोष्टेट ग्रन्थिको हाइपरष्लेजिआ हुनु आफैँमा चिकित्सिकलाई देखाउनुपर्ने वा उपचार गर्नुपर्ने अवस्था होइन । मूत्रपद्धति तल्लो भाग संलक्षण तथा मूत्रथैली निर्गममार्ग अवरोध लक्षणले गर्दा नै पुरुषले चिकित्सिकको सल्लाह लिनुपर्ने र आवश्यकता परे उपचारपद्धति अपनाउनुपर्ने हुन्छ ।

सामान्य कुराकानी, शारीरिक जाँच, रक्त तथा मूत्रपरीक्षण, अल्ट्रासोनोग्राफी, युरोफ्लोमेट्री इत्यादि विभिन्न जाँचबाट रोगको निदान हुनछ । प्रोष्टेट ग्रन्थिको साइजमापन साथै ग्रन्थि थैलीभित्र कति घुसेको छ र त्यसले मूत्रथैलीमा पिसाब फेरिसकेपछि कति पिसाब निख्रन दिँदैन ? विज्ञ निर्णयको निम्ति औधि महत्वपूर्ण हुन्छ । अर्को महत्वपूर्ण कुरो के हो भने प्रोष्टेट क्यान्सर छैन भन्ने निर्णयमा पुग्न प्रारम्भिक सोधपुछ तथा जाँच गर्नुपर्दछ ।

पुरुषको अनुवंशिक सोधपुछ गर्दा बाजे, बुवा-काका, दाजु–भाइ तथा मामाहरूमध्ये कसैमा प्रोष्टेट क्यान्सर थियो कि ! त्यसबारे जानकारी लिनुपर्दछ र प्रोष्टेट ग्रन्थिलाई औंलाले जाँचेर त्यसको साह्रोपन तथा कडा गिर्खा भए त्यो पत्ता लगाउनुपर्दछ । अल्ट्रासाउण्डबाट पनि केही मात्रामा ग्रन्थिको साह्रोपन र गिर्खा भए नभएको र साह्रोपनको एक रूपताबारे सूचना पाइन्छ । यदि शंकास्पद अवस्थामा भने ट्रान्सरेक्टर अल्ट्रासाउण्ड ‘ट्रस’ भन्ने जाँच मलद्वारबाट यन्त्र पठाएर गर्नुपर्दछ ।

तरलपदार्थ प्रयोगको समय तथा मात्रामा फरक पारेर पनि धेरै फाइदा उपलब्ध गर्न सकिन्छ । यो रोगमा औषधोपचारको पहिलो मुख्य उद्देश्य मूत्रथैलीको घाँटी तथा मूत्रनलीको सुरुको भाग खुकुलो पार्ने हुन्छ र दोस्रो उद्देश्य ठूलो प्रोष्टेट बढ्न नदिने तथा सुकाउने हुन्छ । यी दुवैथरीका औषधिले यौन गतिविधिमा केही शिथिलता तथा वीर्यस्लखनमा असर पार्न सक्छन् । औषधोपचारबाट सन्तोषप्रद फाइदा नपाए शल्यक्रियाको सहयोग लिनुपर्दछ ।

रक्तपरीक्षणमा पिएसए भन्ने जाँच गरेर त्यसको स्तर चारभन्दा बढी देखापरे अरु थप जाँच तथा अनुसन्धान गर्नुपर्ने हुन्छ । तर, मूत्रसंक्रमण वा प्रोष्टेट ग्रन्थिको शोथ भएको अवस्थामा पिएसएको स्तर बढ्ने हुँदा त्यस्तो स्थितिमा लामो समय प्रति-जीवाणु (एन्टिबायोटिक्स) उपचार गरेर परीक्षण दोहोर्‍याउनुपर्दछ । यद्यपि पिएसए परीक्षणको भरमा मात्र प्रोष्टेट ग्रन्थिको क्यान्सर छ वा छैन भनेर कहिले पनि ढुक्क हुन सकिँदैन । किनकि झण्डै एकतिहाई प्रोष्टेट क्यान्सरमा पिएसएको परिणाम उच्च देखिँदैन ।

आनुवंशिक जानकारी, अनुभवी चिकित्सकबाट प्रोष्टेट ग्रन्थिको औंला जाँच, अल्ट्रासोनोग्राफी तथा ट्रस, पिएसए परिणाम इत्यादि समग्रमा अध्ययन गरेरमात्र केही निचोडमा आउनुपर्दछ । तर प्रोष्टेट ग्रन्थिको बायोप्सीविना (ग्रन्थिबाट निकालिएका तन्तुको परीक्षणविना) प्रोष्टेट क्यान्सरको निदान हुँदैन ।

व्यवस्थापन
प्रोष्टेट हाइपरप्लाजिआको उपचार भन्नु नै मूत्रपद्धति तल्लो भाग संलक्षण तथा मूत्रथैली निर्गम मार्ग अवरोध लक्षणबाट उत्पन्न असुविधा र कष्टप्रद अनुभवबाट पुरुषलाई उन्मुक्ति दिलाउनु हो । ज्यादै सुरुको अवस्थामा तरलपदार्थको प्रयोगमा तर्कसंगत कटौती गरेर केही फाइदा उपलब्ध गर्न सकिन्छ । खास गरेर बेलुका पानी तथा तरल खानाको मात्रा घटाएर राति उठनुपर्ने पटकमा कमी ल्याउन सकिन्छ । २४ घण्टाको तरलपदार्थको प्रयोग दुई-तीन लिटरमा सीमित राख्ने, लामो यात्रा र सुत्नुअगाडि तरलपदार्थमा प्रतिबन्ध गर्ने, कफी तथा रक्सी (खास गरेर बियर)को प्रयोग नगर्ने, पिसाब फेर्ने समयमा नहडबडाएर पूरा पिसाब निखार्ने, दिसा कब्जियत अवस्था कुनै हालतमा राख्नुहुँदैन ।

औषधोपचार
मूत्रसंक्रमण भइरहने, पिसाबमा रक्तस्राव हुने र मूत्रथैलीमा पत्थरी भएका पुरुषले औषधोपचारबाट दिगो फाइदा पाउँदैनन् । लामो समय लगाएर कनेरमात्र पिसाब फेर्ने तर उल्लेखनीय मात्रामा मूत्रथैलीमा पिसाब बाँकी रहने पुरुषलाई औषधोपचार उपयुक्त हुँदैन । छिनछिनमै पिसाब गर्नुपर्ने, रात्रि पिसाबले गर्दा कष्ट अनुभव गर्ने, सुतेको बेला थाहै नपाएर पिसाब चुहिने तथा पूरै पिसाब रोकेको बिरामीलाई औषधोपचारको सट्टा शल्यक्रिया अपनाउनुपर्दछ ।

उल्लेखित अवस्था नभएका पुरुष औषधोपचारबाट फाइदा पाउन सक्छन् । सामान्यतया प्रोष्टेट हाइपप्लाजिआ संलग्न लक्षण हल्का पार्न दुई प्रकारका औषधि प्रयोग गरिन्छन्-

१. प्रोष्टेट ग्रन्थिको मांसपेशी खुकुलो पार्ने औषधि
ग्रन्थि जति बढी कस्सिएको हुन्छ त्यति नै यी औषधि बढी प्रभावकारी हुन्छ । तर ग्रन्थिको बीच भाग बढेर पिसाबको थैलीभित्र छिरेको अवस्थामा यी औषधि त्यति प्रभावकारी हुँदैनन् । यस्ता औषधि कम प्रभावकारी हुने अरू कारण हुन्-

  • खुम्चिएको सानो प्रोष्टेट ग्रन्थि जसले लचकता गुमाएको हुन्छ ।
  • रक्तनसामा आएका समस्याले मूत्रथैलीको जैवीक गतिविधि कमजोर भएको अवस्था ।

मूत्रथैली खुम्चिँदा पिसाब निष्काशन गर्न आवश्यक शक्ति उत्पादन गर्न सक्दैन । सामान्यतया प्रोष्टेट खुकुलो पार्ने औषधि ज्यादै प्रभाकारी हुन्छ । थुप्रै पुरुष त्यसको प्रयोगबाट सन्तुष्ट हुन्छन् । तर, यस्ता औषधि नकारात्मक पक्षबाट वञ्चित छैनन् । जस्तैः पहिलो मात्राको नराम्रो असर भनेको बिरामीलाई रिंगटा लाग्ने तथा बेहोस् हुनु हो । यस्तो औषधि सुरु गर्दा केही दिन ज्यादै चनाखो हुनुपर्दछ । बसेको वा सुतेको अवस्थाबाट उठ्नुपर्दा हृवात्त नउठ्ने, भरसक बसेर मूत्रत्याग गर्ने, त्यसपछि पनि बिस्तारे उठ्ने गर्नुपर्दछ । यस्तो नराम्रो असर देखापरे औषधि खानुहुन्न ।

यस्तो अवस्थामा वीर्यस्खलन नहुने, यौन चाहनामा कमी आउने, लिंग उत्तेजनामा शिथिलता देखापर्ने र कमजोरी महसुस हुने, नाकबाट रुघा लाग्दाजस्तो पातले सिँगान बग्ने गर्दछ ।

२. पुरुष विशिष्टता उत्पनन वा प्रोत्साहित गर्ने हर्मोनको दमन गर्ने औषधि
भ्रूण अवस्थामै टेष्टास्टरन भन्ने पुरुष हर्मोन ५–अल्फा रिडकटेज भन्ने इन्जाइमको सहयोगले डिहाइड्रोटेष्टास्टरनमा परिणत हुन्छ । यस्तो नभएको खण्डमा भ्रुणको प्रोष्टेट ग्रन्थि प्रारम्भिक अवस्थामा विकसित नभएर रहन्छ र पुरुष बाहिरीया अंग पनि स्त्रीको जस्तै रहन्छ । यही यथार्थतालाई ध्यानमा राखेर आविष्कार गरिएका औषधि प्रोष्टेट ग्रन्थिको एपिथिलियमलाई दमन गर्दछन् र बढ्न दिँदैनन् ।

प्रायः ६ महिना यस्ता औषधि खाएपछि प्रोष्टेट ग्रन्थि करिब २० प्रतिशत घट्दछ । त्यसैले ठूला प्रोष्टेट भएकालाई यस्ता औषधिको प्रयोग गरेर ग्रन्थिको नाप घटाउने गरिन्छ । प्रोष्टेट ग्रन्थिको कारण मूत्रथैलीमा फुलेका नसा फुटेर मूत्ररक्तश्राव हुने पुरुषमा यी औषधिको प्रयोगले रक्तस्राव रोक्न सहयोग मिल्छ । प्रोष्टेट ग्रन्थि बढ्न नदिने र बढेको पनि घटाउने औषधिका नकारात्मक असर यसप्रकार हुन्छन्-

  • यौन इच्छा घटाउनु,
  • लिंग शिथिल तथा सानो पार्नु,
  • वीर्यको मात्रा घटाउनु र वीर्यस्खलनमा फरक ल्याउनु र
  • स्तन वृद्धि गराउनु ।

प्रोष्टेट ग्रन्थिको वृद्धि दमन गर्ने औषधि र ग्रन्थिको मांसपेशी खुकुलो पार्ने औषधि एक साथ प्रयोग गर्दा पुरुषले बढी फाइदा पाउने तथा एक्कासि पिसाब रोक्ने खतरा कम हुन्छ । ३०-४० ग्रामभन्दा बढी परिमाण भएको प्रोष्टेटको उपचार दुवै थरीका औषधिबाट गर्दा मूत्रथैलीले पिसाब बढी जम्मा गर्न सक्ने र निखार्ने क्षमता बढी हासिल गर्दछ । परन्तु यी औषधिहरूको नकारात्मक असरलाई ध्यानमा राखेरमात्र निर्णय लिनुपर्ने हुन्छ ।

निचोड
प्रोष्टेट संलग्न मूत्रलक्षण प्रायः ४० वर्षपछि देखापर्दछन् । यी लक्षण ग्रन्थिको साइज ठूलो भएर वा मूत्रनलीको सुरुको प्रोष्टेटले घेरिएको भागको लचकतामा कमी भएर हुन सक्छन् । पिसाब फेर्न जाँदा केही समयपछि मात्र पिसाब हुने, पिसाबको धारा लुलो तथा मसिनो हुने, एकै पल्ट सरर सबै पिसाब नहुने, पिसाब फेरेपछि निख्रेको अनुभव नहुने, राति पिसाब फेर्न उठिराख्नुपर्नेजस्ता लक्षणले पुरुषलाई चिन्तित पारेका खण्डमा चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्दछ । यही सिलसिलामा प्रोष्टेट ग्रन्थिको क्यान्सर भए नभएको प्रारम्भिक जाँच गर्ने गरिन्छ ।

तरलपदार्थ प्रयोगको समय तथा मात्रामा फरक पारेर धेरै फाइदा उपलब्ध गर्न सकिन्छ । यो रोगमा औषधापचारको पहिलो र मुख्य उद्देश्य मूत्रथैलीको घाँटी तथा मूत्रनलीको सुरुको भाग खुकुलो पार्ने हुन्छ, दोस्रो उद्देश्य ठूलो प्रोष्टेट बढ्न नदिने तथा सुकाउने हुन्छ । यी दुवैथरीका औषधिले यौन गतिविधिमा केही शिथिलता तथा वीर्यस्लखनमा असर पार्न सक्छन् । औषधोपचारबाट सन्तोषप्रद फाइदा नपाए शल्यक्रियाको सहयोग लिनुपर्दछ ।
(वरिष्ठ युरोलोजिस्ट भट्टको बहुउपयोगी पुस्तक ‘मूत्र र जननेन्द्रिय प्रणाली रोग, निदान तथा उपचार’ हालै प्रकाशित भएको छ ।)

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Dr KB Bohara
Dr KB Bohara
2022-12-15 10:45 am

I found the this article very useful and educative. I want to extent My sincere gratitudes to Dr Bthatt Sap and Himalayan Times for publishing this article as a priority bases .
Dr KB Bohara

रिलेटेड न्युज

छुटाउनुभयो कि ?