न्यूजिल्याण्डमा चुरोट खरिदमा प्रतिबन्ध

Read Time = 3 mins

वेलिंटन । न्यूजिल्याण्ड सरकारले जनस्वास्थ्य रक्षालाई केन्द्रमा राखेर चुरोट खरिदमा आजीवन प्रतिबन्ध लगाएको छ । विशेषगरी युवावर्गलाई लक्ष्यित गरी सरकारले त्यसमा आजीवन प्रतिबन्ध लगाएको हो । सुर्तीजन्य धूमपानलाई चरणबद्धरूपमा नियन्त्रण गर्न सरकारले पारित गरेको कानुन अनुसार अब सन् २००९ जनवरी १ वा त्यसपछि जन्मेका कसैलाई पनि सुर्ती वा चुरोट बेच्न पाइने छैन । यसको अर्थ अब चुरोट किन्न न्यूनतम उमेर बढ्दै जानेछ । सैद्धान्तिक रूपमा, अब ५० वर्षपछि चुरोटको प्याकेट किन्न खोज्ने जोकोहीले आफू कम्तीमा ६३ वर्ष पुगेको परिचयपत्र देखाउनुपर्नेछ ।

स्वास्थ्य अधिकारीहरूले त्योभन्दा पहिले देशबाट धूमपानको अम्मल हराउने विश्वास गरेका छन् । उनीहरूले सन् २०२५ सम्ममा न्यूजिल्याण्डलाई धूमपानमुक्त बनाउने लक्ष्य लिएका छन् । नयाँ कानुनले चुरोट बेच्न अनुमति दिने खुद्रा बिक्रेताको संख्या पनि छ हजारबाट घटाएर छ सय पु¥याएको छ भने सुर्तीमा निकोटिनको मात्रा पनि उल्लेख्यरूपमा घटाएको छ ।

मानिस मार्ने उत्पादन बेच्ने अनुमति दिनुपर्ने कुनै उपयुक्त कारण नभएको तथा त्यसलाई प्रयोग गर्ने आधा मानिस त्यसबाट मर्ने जोखिम उच्च रहेको स्वास्थ्यमन्त्री डा.आयशा भेरलले संसदमा बताउनुभयो । उहाँले प्रतिबन्ध लगाउने कानुन पारित भएपछि धूमपानको अन्त्य हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

‘धूमपानबाट हुने क्यान्सर, हृदयाघातलगायत जटिल रोगको उपचार गर्नुनपर्ने भएपछि अर्बौं डलर जोगिनेछ, अहिलेको युवापुस्ताको स्वास्थ्य स्वस्थ रहनेछ । त्यसले भावी पुस्तालाई धूमपानरहित जीवन बाँच्न प्रेरित गर्नेछ’, उहाँले भन्नुभयो । रासस/एपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?