आँधीखोलामा छाडियो माछाका भुरा

रासस
Read Time = 3 mins

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका-३ स्थित आँधीखोलामा माछाका भुरा छाडिएको छ । कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाले गल्याङस्थित बुटवल पावर कम्पनीको बाँधस्थलमा दुई लाख ८० हजार माछाका भुरा छाडेको हो । परियोजनाले बर्सेनि कालीगण्डकीको जलाशय तथा आँधीखोलामा माछाका भुराहरू छाड्दै आएको कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजना मिर्मीका प्रमुख पशुपतिराज गौतमले बताउनुभयो ।

‘वातावरणीय सन्तुलन कायम राख्न र माछा मारेरै जीविकोपार्जन गर्दै आएको माझी समुदायलाई लक्षित गरी बर्सेनि कालीगण्डकी तथा आँधीखोलामा माछाका भुराहरू छाड्दै आएका छौं’, उहाँले भन्नुभयो, ‘विगतका वर्षमा विभिन्न प्रजातिका आठ लाख माछाका भुरा छाड्थ्यौँ, यसपटक दश लाख माछाका भुरा छाड्छौँ ।’ कालीगण्डकीको जलाशय मिर्मीमा चार लाख, आँधीखोलाको जलाशय गल्याङमा दुई लाख ८० हजार माछाका भुरा छाडिएको उहाँले बताउनुभयो । केही दिनमा आँधीखोलाको माथिल्लो तटीय क्षेत्रहरू आँधीखोला गाउँपालिका र वालिङ नगरपालिकासँग समन्वय गरेर माछाका भुरा छाड्ने तयारी भएको छ ।

परियोजनाले आँधीखोलामा स्थानीय जातका गर्दी ८० हजार, हाडे एक लाख, डेढ एक लाख गरी कूल दुई लाख ८० हजार माछाका भुरा छाडेको हो । सोही परियोजनाले अन्य स्थानमा गर्दी, हाडे, ठेड, असला, सहर, कत्ले लगायतका १२ प्रजातिका माछाका भुरा उत्पादन गर्ने र जलाशयभन्दा माथिल्लो भागमा छाड्ने बताएको छ ।

नदीको तल्लो भागमा भएका माछा बाँध नाघेर माथिल्लो भागमा आउन नसक्ने भएकाले बाँध नाघेर तल गएका माछा उतै हराउने हुँदा माथिल्लो भागमा माछाहरू लोप हुन नदिन भुरा छाड्ने गरिएको उहाँले बताउनुभयो । कालीगण्डकी र आँधीखोलामा छाडेर भुराहरू बाँकी रहेमा मध्यमस्र्याङ्दीको जलाशयमा पनि छाडिने उहाँले बताउनुभयो । आँधीखोलामा स्थानीय जातका माछाहरू लोप हुँदै गइरहेकाले माछाको संरक्षणमा यसले महत्वपूर्ण टेवा पुग्ने विश्वास गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईको छ । माछा मारेर जीविकोपार्जन गर्ने समुदायको पेसा नै हराउन लागिरहेको अवस्थामा आँधीखोलामा माछाका भुराहरू छाडेर वातावरणीय सन्तुलनसँगै आम्दानीको स्रोतका रूपमा विकास हुने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?