चर्चामा वाम गठबन्धन

सरकार निर्माणका लागि एमाले र माओवादी केन्द्रका नेताहरू छलफलमा

अनिल क्षेत्री
Read Time = 12 mins

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ को अन्तिम नतिजा सार्वजनिक भएसँगै मुलुकमा पुनः वाम गठबन्धनको सरकार बनाउने प्रयास सुरु भएको छ । मुलुकका ठूला दुई दल नेकपा एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धनको सरकार बनाउने प्रयास भएको हो । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी नतिजाको अन्तिम प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने तयारी भइरहेका बेला दुई ठूला कम्युनिष्ट पार्टीका नेताहरू बीचको संवाद पनि सघन हुन थालेको छ । मंसिर ४ को आम निर्वाचनमा बहुमत ल्याउन नसकेपछि वर्तमान सत्ता गठबन्धन समस्यामा परिरहेको सन्दर्भ र नयाँ सरकार निर्माणको दौडधुप बढिरहेका बेला दुई प्रमुख वाम दल एमाले र माओवादी केन्द्रले वार्ताको ढोका खोल्न थालेका छन् । २०७४ मा बनेको वाम गठबन्धन भत्किएर एमाले र माओवादीमा समेत विभाजन आएको अवस्था यी दुई दलबीच फेरि मिल्ने प्रयास थालेका हुन् ।

ओली र गुरुङबीच भटवार्ता
वाम सरकार बनाउने प्रयासअन्तर्गत मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका महासचिव देव गुरुङबीच छलफल भएको छ । महासचिव गुरुङ एमाले अध्यक्ष ओलीलाई भेट्न ओलीनिवास बालकोट पुग्नुभएको थियो । एक घण्टा बढी भएको दुई नेता बीचको संवादबारे दुवै पक्षले केही नखुलाए पनि राजनीतिक वृत्तमा एमाले र माओवादीसहित वामपन्थी शक्तिहरू मिलेर सरकार बनाउने विषयमा नै छलफल भएको हुनसक्ने चर्चा छ । आफूले ओलीलाई चुनावमा राम्रो नतिजा ल्याएकामा बधाई दिएको र त्यस अवसरमा समसामयिक विषयमा सामान्य कुराकानी भएको जानकारी दिँदै महासचिव गुरुङले भन्नुभयो, ‘सरकार गठनको वैधानिक प्रक्रिया सुरु भएको छैन । त्यसकारण यसबीचमा हुने भेटघाट बधाई दिनेमै केन्द्रित हुन्छन् । त्यस्तो बताउनुपर्ने खालको केही कुरा भएको छैन । अहिलेलाई यति नै बुझौँ ।’

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै ओलीलाई भेटेरै बधाई दिन महासचिव गुरुङलाई पठाएको बताइएको छ । माओवादी स्रोतका अनुसार गुरुङले वामपन्थी एकताका लागि पहल गर्न ओलीसँग आग्रह गर्नुभएको थियो । माओवादीभित्र गुरुङलगायत नेताहरू चुनावअघि नै वामपन्थी तालमेलको पक्षमा रहँदै आउनुभएको थियो । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग पराजित भएलगत्तै पनि माओवादी केन्द्रका महासचिव गुरुङले वामपन्थी एकताका लागि पहल गर्न आग्रह गर्नुभएको थियो । यसअघि एमाले अध्यक्ष ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई फोन गरेर बधाई दिनुभएको थियो ।

सत्ता गठबन्धभित्र ‘पावर सेयरिङ’को विषयमा विवाद भइरहेका बेला एमाले र माओवादीका दोस्रो तहका नेताबीच पनि निरन्तर छलफल भइरहेको छ । एमालेका उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेल तथा अध्यक्ष ओलीका निकट नेता महेश बस्नेत सहितका नेताहरू एमाले र माओवादी मिलेर सरकार बनाउन प्रयास गरिरहनुभएको छ । उहाँहरू निरन्तर माओवादीका नेताहरूसँग संवादमा हुनुहुन्छ ।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा पनि एमालेसँग मिलेर सरकार बनाउनुपर्ने पक्षमा रहेको माओवादी स्रोतको भनाइ छ । शर्मा एमालेका उपाध्यक्ष पौडेलसँग निरन्तर संवादमा रहेको बताइएको छ । वामपन्थीहरूको सरकार बनाउन दुवै दलका दोस्रो तहका नेताहरू एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटघाट गराउने प्रयास गरिरहेका छन् ।

सत्ता समीकरणको रस्साकस्सी चलिरहेका यसअघि मंसिर १९ मा एमाले सचिव रघुवीर महासेठले नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई भेट्नुभएको थियो । महासेठ बालकोटबाट ओलीको सन्देश लिएर खुमलटार पुग्नुभएको बताइन्छ । यसबीचमा प्रचण्डले यही मंसिर २६ गते प्रेस सेन्टरले आयोजना गरेको एक कार्यक्रममा नयाँ सरकार निर्माणका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच भित्रभित्रै वार्ता भइरहेको सूचना आफूलाई आइपुगेको बताउनुभएको थियो ।

वर्तमान गठबन्धनकै सरकार बन्छ : अध्यक्ष प्रचण्ड
वाम गठबन्धनको सरकार गठन गर्न प्रयास भइरहेको बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने अहिलेकै गठबन्धनको सरकार बन्ने बताउनुभएको छ । अहिले सरकार कसको नेतृत्वमा बन्ने भन्ने विषयले प्रवेश नपाइसकेको भन्दै अध्यक्ष दाहालले आवश्यक परे माओवादीले पनि यसको नेतृत्व लिने अवस्था आउन सक्ने जिकिर गर्नुभयो । बुधबार उहाँले पोखरामा पार्टीका केन्द्रीय सदस्य र गण्डकी प्रदेशका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै भन्नुभयो, ‘सरकार गठबन्धनकै हुन्छ । अहिले सरकार गठनको विषय चलिरहेको छ । तर, नेपाली कांग्रेसको संसदीय दलको नेता को हुन्छ ? भन्ने विषय महत्वपूर्ण रहेको छ । कांग्रेस दलको नेता चुनिएपछि सरकार गठनको विषयले तीव्रता लिने र आइपरे माओवादी सरकारको नेतृत्व गर्न तयार हुनुपर्ने अवस्था छ ।’

विपक्षीसँग समझदारी गर्न आवश्यक छ : उपमहासचिव रिमाल
नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री बाहेकका साझा पदहरूमा विपक्षी दलसँग समझदारी गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री अंकगणितबाट निर्धारण हुने भए पनि अन्य साझा पदहरूमा भने विपक्षी दलसँग समझदारी गर्न आवश्यक रहेको रिमालको भनाइ छ । संवैधानिक निकायमा नियुक्ति गर्ने कुरामा नेपाली कांग्रेसले सोच्नुपर्ने दाबी गर्दै उपमहासचिव रिमालले भन्नुभयो, ‘राष्ट्रपति उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष र प्रदेश प्रमुख लगायतका साझा पदहरूमा विपक्षी दलसँग समझदारी गरेर अघि बढे मात्रै राजनीतिमा स्थिरता कायम हुन्छ । गठबन्धनमा रहेका दल र नेताहरूले विपक्षीसँग मिलेर जाने दृष्टिकोण नबनाए राजनीति झनै अस्थिरतामा जान्छ ।’

वाम गठबन्धन भए पनि दिगो हुँदैन : जैनेन्द्र जीवन
राजनीतिक विश्लेषक जैनेन्द्र जीवनले वाम गठबन्धनको लागि पछिल्लो प्रयासका विभिन्न पाटो रहेको बताउँदै हिमालय टाइम्सलाई भन्नुभयो, ‘एकातिर वर्तमान सत्ता गठबन्धन आफ्नै सरकार बनाउन छलफल गरिरहेको छ । अर्कोतिर वाम गठबन्धनको प्रयास भइरहेको छ । यो बार्गेनिङको लागि हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड वाम गठबन्धनको तुरुप फालेर सत्ता गठबन्धनमा बार्गेनिङ बढाउन खोजिरहनु भएको छ । यो बार्गेनिङ गरेर पहिलो चरणमा आफैँ प्रधानमन्त्री बन्ने रणनीतिअन्तर्गत प्रयास भइरहेको छ । अर्कोतिर एमाले अध्यक्ष केपी शर्मा ओली सत्ता राजनीतिका चतुर खेलाडी हुनुहुन्छ । वर्तमान सत्तागठबन्धन फुटाउने प्रयास निर्वाचन अघि पनि गर्नुभएकै हो । हामीले बुझ्नुपर्ने कुरा के हो भने नेपालका वाम दल मिल्न कुनै ठूलो कुरा चाहिँदैन’, उहाँले अगाडि भन्नुभयो, ‘वाम एकताको नारा दिए विगतका सबै गल्ती हराउँछन् । त्यसकारण सत्ता स्वार्थको लागि वाम तालमेल हुन सक्छ । एमाले अध्यक्ष ओलीले अफर गर्नेबित्तिकै प्रचण्ड कुदेर पुग्छन् । तर, यो दिगो हुँदैन । अहिले प्रचण्डलाई समर्थन गरे पनि एक महिनाभित्र संसद्मा एमालेले विश्वासको मत नदिए के हुन्छ ?’

प्रचण्डको अराजनीतिक चरित्र : आनन्दराम पौडेल
राजनीतिक विश्लेषक आनन्दराम पौडेल वाम गठबन्धनको हल्ला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको विगतकै गैरराजनीतिक चरित्रको निरन्तरता भएको टिप्पणी गर्नुहुन्छ । विश्लेषक पौडेलले हिमालय टाइम्ससँग भन्नुभयो, ‘राजनीतिमा प्रचण्डले अस्थिर, अराजनीतिक र सत्ता स्वार्थी आफ्नो चरित्रलाई पुनः दोहोर्‍याउनु भएको छ । जसरी पनि आफू शक्तिमा जानको लागि जोसँग पनि नैतिक अनैतिक गठजोड गर्ने उहाँको चरित्र हो’, उहाँले अगाडि भन्नुभयो, ‘निर्वाचनअघि पनि सिट बाँडफाँटको क्रममा आधा-आधा सिटको बार्गेनिङ गर्नुभएको हो । निर्वाचन परिणाम आउँदै गर्दा साना दललाई मिलाएर बार्गेनिङ पावर बढाउन प्रयास गर्नुभएकै हो । पदको लागि निरन्तर कांग्रेसको घाँटी न्याक्दै जानुभएको छ । फेरि अहिले वाम तालमेलको तुरुप फालेर कांग्रेसमाथि थप दबाब बढाइरहनु भएको छ । कांग्रेसलाई तर्साएर आफू प्रधानमन्त्री बन्ने प्रचण्डको दाउ हो । तर, तत्काल वाम गठबन्धनको सम्भावना देखिँदैन । किनकि प्रचण्डको चरित्रलाई एमालेका नेता र अध्यक्ष ओलीले राम्ररी चिनेका छन् ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?