हराउँदै ‘पञ्चेबाजा’ बजाउने संस्कृति

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 7 mins

बागलुङ । एक दशक अगाडिसम्म बागलुङका गाउँदेखि बजारसम्म विवाह, मेला, महोत्सव तथा शुभकार्यमा पञ्चेबाजा नकै बच्ने गर्थे । तर अहिले पञ्चेबाजा बज्न छोडेर ठूला–ठूला साउण्ड सिस्टम र स्पिकरहरु बज्ने गर्छन् । युवा पुस्ताले चासो नदिँदा परम्परागत रूपमा चलन चल्तीमा आएका पञ्चेबाजा र नौमती बाजा बजाउने प्रचलन लोप भएका हुन् ।

अचेल बाजा बजाउने प्रचलन हट्न थालेपछि बाजा बजाएर गुजारा चलाउँदै आएकाहरु समस्यामा पर्न थालेका छन् । अहिले पढेलेखेका पुस्ताले बाजा बजाउन लाज मान्दासमेत पञ्चेबाजा हराउन लागेको हो । सीमित जातिले मात्रै बजाउँदै आएको बाजा अहिले पुस्ता हस्तान्तरण नहुँदा लोप हुने अवस्थामा पुगेको बुढापाका बताउँछन् । विशेष गरी परियार समुदायले बजाउँदै आएको पञ्चेबाजा नयाँ पुस्तामा सीप हस्तान्तरण नभएका कारण लोप हुँदै गएको उनीहरुको भनाई छ ।

बाजा बजाउने काम स्थायी पेसा नभएकोले हराउँदै गएको बागलुङ ढोरपाटनका पदमबहादुर दर्जीले बताउनुभयो । शुभकार्यमा विदेशी बाजाहरूले स्थान पाउँदा मौलिक बाजाहरू हराउँदै गएको उहाँको भनाई छ । समाजमा अझै पनि कायम रहेको जातीय संस्कारका कारणले मौलिक बाजा हराउन थालेको र बाजा बजाएर गुजारा नचल्ने भएकाले पनि बाजा हराउन लागेको दर्जी बताउँनुहुन्छ ।

“अहिले पनि हाम्रो समाजमा बाजा बजाउने जातीलाई हेप्ने, फरक नजरले हेर्ने गर्छन्, अहिलेका छोरा नातिहरुले बजाउन सिक्ने चासो दिँदैन, हामी र हाम्रो पुर्खाहरुले पढेनौँ, बाजा बजाएर कमाई खाइयो,” दर्जीले भन्नुभयो, “नयाँ पुस्ताले बाजा बजाउन लजाउँछन्, बजाउन पनि जान्दैनन्, हाम्रो सासपछि त बाजा बजाउने चलननै सकिने भयो ।”

दर्जीले पहिले बाजा बजाउने एउटा समूहमा १०/१५ जनाभन्दा बढी हुने गरेको भन्दै अहिले नौँ ना पनि पुग्न मुस्किल हुने बताउनुहुन्छन् । सीमित मान्छेले नौमती बजा बजाउन नसकिने भन्दै यसका लागि न्यूनतम नौँ जना हुनै पर्ने दर्जीको भनाई छ ।

५८ वर्षीय दर्जी भन्नुहुन्छ, “नौमती बाजा बनाउन कम्तिमा पनि नौँ जनाको समुह त हुनै पर्छ, नौँ जनाभन्दा कम भए बजाउन सकिदैन, ताल मिल्दैन, अहिले टिम पु¥याउनै गाह्रो हुन्छ, बुढापाकाहरुले बजाउन सक्न छोडि सके, हाम्रो उमेरका कम छौँ ।”

स्थानीय बिर्खबहादुर परियारले युवापुस्ता प्रतिष्ठा, पारिश्रमिक र स्थानीयस्तरमा पञ्चेबाजा बजाएर भोलीको भविष्य नभएका कारण संस्कृतिलाई निरन्तरता दिन नसकिएको बताउनुहुन्छ । पछिल्लो समय गाउँघरमा पहिले जस्तो पञ्चेबाजाप्रति त्यति आकर्षण नदेखिने उहाँको भनाई छ । उहाँले पाकापुर्खाको पेसा र सीपलाई पछिल्लो पुस्ताले अवलम्बन नगर्दा संस्कृति नै हराउन थालेको बताउनुहुन्छ ।

ADVERTISEMENT

“मैले जानेबुझेदेखि नै पञ्चेबाजा बजाउन थालेको थिए, अहिले त हात खुट्टा चल्न छोडे टाढा–टाढा पुगेर बजाउन सक्दैन, आँखा पनि कमजोर भए,” ७७ वर्षी परियारले भन्नुभयो,  “पहिले त कसैको बिहे, छैटी, भातखुवाई हुँदा बजा बजाउन जान्थ्यौँ, अहिले त ब्या (विवाह)मा पनि गीत बजाएर नाच्न थाले, बाजा त कमै ठाउँमा मात्रै बज्छन् ।”

पछिल्लो समय परियार समुदायका व्यक्ति पनि शिक्षित हुँदै गएको र बाजा बजाउने पेसालाई नकरात्म रुपले सोच्ने गर्दा पञ्चेबाजा संकटमा परेको उहाँको भनाई छ । उहाँले बाजा बजाएर परिवार पाल्न सक्ने अवस्था नहुँदा बाजा बजाउने सीप भएका युवाहरु विदेशीन बाध्य भएको बताउनुभयो । बाजा संरक्षणका लागि सबै क्षेत्रबाट पहल हुन जरुरी रहेको बताउनुभयो ।

“पञ्चेबाजा त हाम्रो संस्कृति हो, ठूलो सम्पत्ति हो, यसलाई बाजा बजाउने समुदाय र सरकारले पनि चासो दिनु पर्छ, अहिलेको रुपमा बाजा बजाउने समुदाय प्रति हेरिने हेराइ फेरिएन भने पछिका हाम्रा पुस्ताले पञ्चेबाजा देख्ना र सुन्न पाउँदैनन्, मलाई त निकै चिन्ता लागेको छ, अहिले त बाजासँग सँगै मादल पनि देखिन र बजाउन छोडि सके ।”

स्थानीय मुरारी नेपालीले बाजा बजाउन छोडेपछि परिवार पाल्नसमेत गाह्रो हुने अवस्था आएको बताउनुभयो । नेपालीले गाउँमा विवाह, ब्रतबन्ध र मेला महोत्सव हुँदा बाजाको सट्टा स्पिकरहरु बजाउन थालेपछि आफूहरुको पेसा संकटमा परेको गुनासो गर्नु भयो । उहाँले पहिले बाजा बजाएर मासिक ३० हजारभन्दा बढी आम्दानी गरेको हुनाउँदै अहिले दुई हजार पनि कमाई नहुने बताउनुहुन्छ ।

“अहिले त बाजा बजाउन कसैले पनि बोलाउँदैनन्, बोलाए पनि बजाउने मान्छे छैनन्, पहिले बाजा बजाएरै परिवार पाले, छोराछोरी पढाएँ, अहिले कमाई केही छैन, परिवार चलाउन गाह्रो होला जस्तो छ” नेपालीले भन्नुभयो– “पहिले त बाजा बजाउँदा बजाउँदा घरको काम गर्ने फुर्सद हुँदैथ्यो, धेरै समय भयो मैले बाजा बजाउन छोडेको, हाम्रा पुर्खाले चलाएको चलन हराउँदा दुःख लागेको छ ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?