अध्यादेश खारेजी हुनुपर्ने मागसहित परेको रिट सर्वोच्चद्वारा खारेज

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । फौजदारी मुद्दामा सजाय पाई जेलमा रहेका राजनीतिक दलका नेता तथा कार्यकर्तालाई रिहाइ गर्ने कानुन बनाउन सरकारले ल्याएको अध्यादेश खारेजी हुनुपर्ने मागसहित परेको रिट सर्वोच्च अदालतले दरपीठ गरेको छ ।

सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ सिफारिस गरेको मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ विरुद्ध परेको रिट सर्वोच्च अदालतले दरपीठ गरेको हो ।

अधिवक्ता कपिलदेव ढकाल र राजेन्द्रप्रसाद दंगाल तथा पूर्वसचिव द्वारिकानाथ ढुंगेलले सरकारले ल्याएको अध्यादेशविरुद्ध सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

सर्वोच्चका रजिष्ट्रार नारायणप्रसाद पन्थीले रिट खारेज गर्दै संघीय संसदबाट पारित भएका विधेयक र नेपाल सरकार मन्त्रिपरिषदबाट सिफारिस भएका अध्यादेशहरू राष्ट्रपतिबाट प्रमाणीकरण भएपश्चात् मात्र कानुनको रुप धारणा गर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्नुभएको छ ।
हाल राष्ट्रपति कार्यालयमा रहेको अध्यादेश जारी भए टीकापुर घटनामा जन्मकैदको सजाय पाएका रेशम चौधरी तथा विभिन्न मुद्दा खेपिरहेका विप्लव समूह र जनमत पार्टीका कार्यकर्ता रिहा हुन सक्नेछन् ।

मन्त्रिपरिषद्को मंसिर २५ को बैठकले अध्यादेश पारित गरी जारी गर्न राष्ट्रपति कार्यालय पठाएको थियो । राष्ट्रपति कार्यालयले उक्त अध्यादेश जारी गरिसकेको छैन ।

राष्ट्रपति भण्डारीले अध्यादेशबारे अध्ययन गरिरहेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार तत्काल उक्त अध्यादेश जारी हुने अवस्था छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?