फ्रान्स लगातार विश्वकपको फाइनलमा

Read Time = 4 mins

दोहा । साबिक विजेता फ्रान्स लगातार दोस्रोपटक फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान अलबेयत रंगशालामा भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० ले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको हो । फाइनलमा अब फ्रान्सले अर्जेन्टिनाको सामना गर्नेछ । अर्जेन्टिना यसअघि नै फाइनलमा पुगिसकेको छ ।

फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्दल कोलो मुआनीले १-१ गोल गर्नुभयो । खेलको सुरुवातमै फ्रान्सले अग्रता लियो । खेलको चौथो मिनेटमा हर्नान्डेजले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाउनुभयो । उहाँले पेनाल्टी क्षेत्रभित्र रिबाउन्डबाट आएको बललाई पोस्टको दिशा दिनुभएको थियो ।

१७औँ मिनेटमा ओलिभिएर जिरुडको प्रहार पोस्टमा लागेर बाहिरियो । ३५औँ मिनेटमा जिरुडले पाएको मौका पनि सदुपयोग गर्न सक्नुभएन । पहिलो हाफको अन्तिम मिनेटमा मोरक्कोका एल यामिकको एक्रोब्याटिक प्रहार पोस्टमा लागेर बाहिरियो ।

दोस्रो हाफको ७९औँ मिनेटमा फ्रान्सले अग्रता दोब्बर पार्‍यो । रान्दल कोलो मुआनीले बेन्चबाट मैदान छिरेको एक मिनेटमै गोल गर्नुभएको थियो । किलियन एमबाप्पेले पेनाल्टी क्षेत्रभित्र ४ डिफेन्डर बिट गर्दै दिएको पासमा गोल गर्नुभएको थियो । त्यसबाहेक खेलमा दुवै टोलीले पाएका पटक–पटकको मौका सदुपयोग गर्न सकेनन् । अब अर्जेन्टिना र फ्रान्सबीचको फाइनल आइतबार हुनेछ ।

यस खेलमा फ्रान्सका फरवार्ड किलियन एमबाप्पेले गोल गर्न नसकेपछि अर्जेन्टिनाका लियोनल मेस्सी गोल्डेन बुटको दौडमा अघि देखिनुभएको छ । दुवै खेलाडीले पाँच/पाँच गोल गर्नुभएको छ । असिस्टका आधारमा लिओनेल मेस्सी अघि हुनुहुन्छ । फिफाको नियमअनुसार गोल्डेन बुट विजेताको निर्धारणमा दुई वा सोभन्दा बढी खेलाडीको समान गोल भएको अवस्थामा असिस्ट संख्या गणना हुनेछ । असिस्ट पनि बराबरी भए कम मिनेट खेल्ने खेलाडीले गोल्डेन बुट पाउनेछन् । हाल मेस्सीको तीन असिस्ट र एमबाप्पेको दुई असिस्ट छ ।

मेस्सीले प्रतियोगिताको ६ खेल खेल्दा एक खेलमा मात्र गोल गर्न सक्नुभएको छैन । यता फ्रान्सका फरवार्ड एमबाप्पेले भने ६ मध्ये तीन खेलमा कुनै गोल र असिस्ट दिन सक्नुभएको छैन । नकआउट चरणको पछिल्लो दुई खेलमा उहाँ गोलविहीन हुनुहुन्छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?