दुर्घटना भएको जहाजका भग्नावशेष सात महिनापछि संकलन

रासस
Read Time = 3 mins

मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका-२ सानोसरेमा दुर्घटना भएको तारा एयरको जहाजका भग्नावशेष सात महिनापछि संकलन गरिएको छ ।

गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटना हुँदा चालक दलका तीनसहित २२ जनाको मृत्यु भएको थियो ।

भौगोलिकरूपमा विकट र दुर्गम पहाडको खोंच र पाखोमा छरिएका जहाजका पाटपुर्जालाई संकलन गर्न तारा एयरले मंसिर १९ गतेदेखि मजदुरको टोली परिचालन गरेको थियो ।

टोलीको नेतृत्व गरेका इन्द्रसिंह शेरचनले समुद्री सतहबाट चार हजार तीन सय मिटर उचाइको पहाडबाट जहाजका पाटपुर्जा र सामान संकलन गरेर कोवाङ झार्ने काम सकिएको जानकारी दिनुभयो ।

मानापाथी हिमालको फेदीमा रहेको पहाडमा टुक्राटुक्रा परेको अवस्थामा जहाजको भग्नावशेष रहेका थिए । ‘दश-बाह्र जनाले सानुसरेबाट कोवाङमा सामान बोकेर झार्न १० दिन लाग्यो’, उहाँले भन्नुभयो, ‘विकट, अप्ठ्यारो बाटोमा पहिरो गएर रुखसमेत ढलेका छन् । जहाजका सबै सामान संकलन गरेर कोवाङ ल्याउन करिब १० दिन लाग्ने अनुमान गरेका छौँ ।’

दुर्घटनाग्रस्त जहाजको ब्लयाक बक्स भने त्यतिबेला नै फेला परेको थियो । शेरचनको नेतृत्वमा विसं २०७२ फागुनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानाको सोलीघोप्टेमा दुर्घटना भएको तारा एयरको जहाजका पाटपुर्जा संकलन गरेर दाना झारिएको थियो । दुर्घटनाग्रस्त जहाजका पाटपुर्जा र सामान सम्बन्धित कम्पनीले उठाउँछन् ।

बीमा दाबीका लागि सामान उठाउनुपर्ने हुन्छ । अर्कोतर्फ आकाशबाट सहजै देखिने दुर्घटनाग्रस्त जहाजको भग्नावशेषको दृश्यले नकारात्मक मानसिकताको सिर्जना गर्ने हुँदा पनि सम्भव भएसम्म पाटपुर्जा र सबै सामान संकलन गर्ने गरिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?