माओवादीको कित्ता क्लियर नभएसम्म नयाँ सरकार गठन प्रक्रिया लम्बिने

एमाले-माओवादीबीच सहकार्य भए समाजवादीलाई अप्ठ्यारो

हिमालय टाइम्स
Read Time = 9 mins

काठमाडौं । आमनिर्वाचनको अन्तिम नतिजा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस भएसँगै नयाँ सरकार गठनको विषयले राजनीतिक वृत्त तात्न थालेको छ । सबैभन्दा धेरै सिट पाएर पहिलो दल बनेको नेपाली कांग्रेस सरकार बनाउन आन्तरिक छलफलमा जुटेको छ । तर अहिलेसम्म सरकार गठनबारे सत्ता गठबन्धनमा ठोस सहमति भएको देखिँदैन ।

संसदको दोस्रो ठूलो दल एमालेले समेत सरकार गठनबारे भित्रभित्रै छलफल सुरु गरेको छ। आमनिर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनमार्फत चुनाव लडेको माओवादी केन्द्र अब कता लाग्छ भन्ने आमचासोका विषय बनेको छ । कांग्रेससँग मिलेर चुनाव लडेकाले नयाँ सरकारमा कांग्रेससँग सहकार्य हुन सक्ने आकलनका बाबजुद एमालेसँग हिमचिम बढ्नुले माओवादी केन्द्रको कित्ता क्लियर हुन अझै बाँकी देखिन्छ ।
केही दिन अघि मात्र कास्की पुगेर माओवादीका अध्यक्ष प्रचण्डले नयाँ सरकारको नेतृत्व आफूले गर्ने बताउनु भएको थियो ।

कास्कीको अन्नपूर्ण गाउँपालिका १ मा रहेको महेन्द्र आधारभुत विद्यालयको हीरक महोत्सवको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उहाँले प्रष्ट रुपमा सरकारको नेतृत्व आफूले गर्ने बताउनु भएपनि हालको गठबन्धन वा कुनकुन दलको समर्थनमा भनेर खुलाउनु भएन । ‘चुनावपछि पहिलोपटक म आफ्नै जन्मभूमिको कखरा पढेको विद्यालयमा सार्वजनिक कार्यक्रममा उपस्थित छु । तपाईंहरूको आशिर्वाद लाग्यो भने म छिटै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दै छु,’ प्रचण्डले भन्नुभएको थियो ।

निर्वाचन आयोगले अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाएसँगै नयाँ सरकार गठन र संसद् अधिवेशन आहृवानको बाटो खुलेको छ । संविधानको धारा ७६(८) मा ‘प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा प्रधानमन्त्रीको पद रिक्त भएको मितिले ३५ दिनभित्र प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया सम्पन्न गर्नुपर्नेछ’ भन्ने व्यवस्था छ । यो व्यवस्थाअनुसार नयाँ सरकार गठनका लागि आहृवान गर्न राष्ट्रपतिलाई बाटो खुलेको छ ।

संविधानको धारा ९३ मा ‘निर्वाचनको अन्तिम परिणाम’ घोषणा भएको ३० दिनभित्र संघीय संसदको अधिवेशन आहृवान गर्नुपर्ने व्यवस्था छ । निर्वाचन आयोगले मंसिर २८ गते निर्वाचन परिणाम घोषणा गरेकाले ढिलोमा पुस २७ गतेभित्र संघीय संसद्को अधिवेशन डाक्नुपर्ने छ ।
तर, संसद् अधिवेशन आहृवानभन्दा सरकार गठन पहिलो प्राथमिकतामा पर्ने देखिएपनि माओवादी केन्द्रले हालको सत्ता गठबन्धनमै रहने वा अन्य दलसँग सहकार्य गरेर अघि बढ्ने भन्ने क्लियर पिच्चर अहिलेसम्म आएको छैन ।

दोधारमा माओवादी

माओवादीले कांग्रेससँग सत्ता सहकार्यका लागि ठोस सहमति नभएको माओवादी केन्द्रका महासचिव देव गुरुङ बताउनु हुन्छ। गुरुङले यसअघि एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेपछि माओवादी एमाले हिमचिम थप बढेको आँकलन गरिएको छ ।

संवाद डबलीले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले माओवादी नै यो व्यवस्थाको प्रस्तावक रहेको भन्दै अव बन्ने सरकारको नेतृत्वमा आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दावी रहेको उहाँले बताउनु भयो ।

संसदमा कुनै पनि दलको बहुमत नभएकाले दलहरुबीचको सम्झौंताबाट नै सरकारको नेतृत्व चयन हुने अवस्था मुलुकमा विद्यमान रहेको पनि उहाँले बताउनु भयो ।

महासचिव गुरुङले माओवादी विचारले मुलुकलाई नेतृत्व गरेको र त्यसको नेता हुनुको नाताले पार्टी अध्यक्ष दाहालको नेतृत्वमा सरकार हुनु स्वभाविक हुने जिकीर समेत गर्नु भयो ।

हुनत एमालेकै कतिपय नेताहरु माओवादी र एमालेको सहकार्यमा प्रचण्ड प्रधानमन्त्री बन्ने दिवासपना भएको बताउँदै आएका छन् । एमालेका पोलिटब्युरो सदस्य सूर्य थापा भन्नुहुन्छ, 'प्रचण्डको नेतृत्व एमालेले स्वीकार्दैन बरु स्थिरताका लागि कांग्रेस–एमाले मिलेर अघि बढ्नुपर्छ ।'

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य थापाले बामपन्थी एकता वा कुनै पनि मोर्चाको मुरली बजाउने नाममा प्रचण्डलाई प्रधानमन्त्री बनाउने काममा एमाले नलाग्ने बताउँदै 'प्रचण्डलाई प्रधानमन्त्री बनाउने नाममा कुनै एकता वा मोर्चा बनाउने काममा एमाले लाग्दैन,' एमाले सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाउँछ, नभए कांग्रेसलाई समर्थन गरेर प्रतिपक्षमा बस्छ, बुटवलमा हिजो पत्रकारहरूसँगको कुराकानीमा थापाले भन्नुभयो ।

एमाले-माओवादी सहकार्य : माधव नेपाललाई चिन्ता

माओवादी केन्द्रले कांग्रेसको कित्ता छाडेर एमालेसँग मिलेर सरकार गठन प्रक्रियामा अघि बढ्यो भने एमाले विद्रोहबाट जन्मिएको माधव नेपालको एकीकृत समाजवादी कता लाग्छ ? भन्ने विषय थप रोचक बनेको छ ।

तत्कालीन नेकपामा रहँदा माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच राम्रो केमेस्ट्री मिलेको थियो । सोही समयमा प्रचण्डप्रति नजिक बनेको भन्दै अध्यक्ष ओलीले नेपाललाई पार्टीभित्र पेलेपछि नेपाल पार्टी फुटाउन तयार हुनु भयो ।

कांग्रेससँगको गठबन्धनमा समेत सँगसँगै रहेका माओवादी केन्द्र र एकीकृत समाजवादी  निर्वाचनपछि पार्टी नै एकीकरणको गृहकार्यमा जुटेको बताइरहेका थिए । एकीकृत समाजवादीमै विरोध भएपछि अन्तत उनीहरु अहिले पार्टी एकीकरण गर्ने पक्षमा छैनन् । माओवादीसँग एकीकरणमा गए आफ्ना धेरै नेता कार्यकर्ताले पुरानो पार्टी एमाले रोज्लान् भन्ने चिन्ता अध्यक्ष नेपाललाई छ ।

यस अघि नै अध्यक्ष नेपालले माओवादी एमालेसँग मिल्न गए आफूहरु कुनैपनि हालतमा नजाने भन्दै आउनु भएको छ । तर, पार्टी भित्रै अध्यक्ष नेपाललाई चुनावको परिणामलाई लिएर एमालेमा फर्किन चर्को दबाव पनि छ ।

यद्यपि नयाँ सरकार गठनको पूर्वसन्ध्यामा सत्ता समीकरण फेर्न एमाले माओवादी मिलेर कसरत गरिरहेका बेला एकीकृत समाजवादी कता लाग्छ भन्नेबारे अन्योलता देखिन्छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?