बिकिनी विवादमा दीपिका

Read Time = 3 mins

मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोण आफूले लगाएको बिकिनीको रङका कारण विवादमा तानिनुभएको छ । अभिनेता शाहरूख खानको चलचित्र ‘पठान’ लाई भारतमा एकथरी मानिसले बहिष्कार गर्न थालेका छन् । १२ डिसेम्बरमा सार्वजनिक भएको चलचित्रको एउटा गीत ‘बेसरम रङ’ले भारतमा विवाद सिर्जना गराएपछि चलचित्र नै बहिष्कार गर्ने आवाज उठेको हो ।

अभिनेत्री दीपिका पादुकोणले लगाएको बिकिनीको रङ र उहाँले गरेको नृत्यका कारण दीपिका विवादले घेरिनुभएको छ । यो गीतलाई लिएर राजनीतिज्ञदेखि सर्वसाधारण र सत्तारुढ भारतीय जनता पार्टीका नेतासम्म आलोचनामा उत्रिएका छन् ।

दीपिकाको पहिरनको पहेँलो रङ हिन्दूधर्मको पूजाआजमा प्रयोग हुन्छ भने सत्तारुढ दल बिजेपीले पनि यो रङलाई प्रयोग गर्दै आएको छ । मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले दृश्य नहटाए चलचित्र रिलिज रोक्ने चेतावनी दिनुभएको छ । दीपिकाको बिकिनी र पहिरनको रङले हिन्दूधर्म र आफ्नो पार्टीको अपमान गरेको उहाँको आरोप छ । ‘बेसरम रङ गीतमा प्रयोग भएको पहिरनको रङको कपडा प्रयोग गर्नु गलत छ । यदि दृश्य परिवर्तन नगरिए मध्यप्रदेशमा रिलिज आवश्यक छैन,’ उहाँले भन्नुभएको छ ।

भारतका कतिपय ठाउँमा गीतको विरोध गर्दै शाहरूख र दीपिकाको पुत्लासमेत जलाइएको छ । सिद्धार्थ आनन्द निर्देशित यो चलचित्र २५ जनवरी २०२३ मा प्रदर्शन हुँदैछ ।

यता, अभिनेत्री पायल रोहतोगीले कपडाको रङबारे विवाद गर्नु भनेको बेवकुफी भएको भन्दै दीपिकाको बचाउ गर्नुभएको छ । ‘कपडाको रङलाई लिएर विवादमा उत्रिनु सही होइन । दीपिकाले भगवान्को फोटोको बिकिनी लगाएकी होइनन् । जो मानिसहरू यस विषयलाई लिएर विवाद गरिरहेका छन्, उनीहरू केवल प्रचार पाउनका लागि मात्र यो सब गरिरहेका छन्,’ उहाँले भन्नुभएको छ । पूर्व पोर्नस्टार सनी लियोनीलाई इंगित गर्दै उहाँले भन्नुभएको छ, ‘जहाँसम्म अश्लील दृश्यको कुरा छ, देशले एक पोर्नस्टारलाई नै शिरमा राखेर हिँडेको छ, उनीहरूलाई नै दीपिका कसरी अश्लील भइन् ?’ एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?