चुनावी अभियान सुरु गरेकै क्षेत्रमा एमाले कमजोर

हिमालय टाइम्स
Read Time = 4 mins

यज्ञराज जोशी/हिटा
धनगढी । नेकपा एमालेले यसपटकको चुनावी अभियान सुदूरपश्चिमको दार्चुलाबाट सुरु गरेको थियो । अध्यक्ष केपी शर्मा ओली नै दार्चुला सदरमुकाम खलंगा पुगेर भाषण गरेर फर्किनुभएको थियो । ओली सुदूरपश्चिमको दार्चुलामा मात्रै होइन । यहाँको बैतडी र कञ्चनपुरमा समेत पुग्नुभएको थियो ।

तर, यही ओलीले चुनावी अभियान सुरु गरेको क्षेत्रमा भने एमाले कमजोर देखिएको छ । सुदूरपश्चिमका नौ जिल्लामध्ये नेकपा एमालेले प्रतिनिधिसभातर्फ सात जिल्ला र प्रदेशसभातर्फ ६ जिल्लामा कुनै सिट जित्न सकेन ।

सुदूरपश्चिममा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमालेले १६ मध्य १५ स्थानमा उम्मेदवारी दिएको थियो । जसमध्ये १३ स्थानमा हार व्यहो¥यो । प्रतिनिधि तथा प्रदेशसभाको प्रत्यक्ष निर्वाचनतर्फ एमालेले प्रदेशतर्फ तीन र प्रतिनिधिसभातर्फ दुई जिल्लामा मात्रै जित हात पार्न सकेको छ । एमालेले प्रतिनिधिसभातर्फ कञ्चनपुर क्षेत्र नम्बर-१ र बैतडीमा मात्रै जित हात पार्न सकेको हो ।

कञ्चनपुर क्षेत्र नम्बर-१ बाट नेकपा एमालेका तारालामा तामाङ र बैतडीबाट दामोदर भण्डारी विजयी हुनुभयो । तामाङले माओवादी केन्द्रकी बिना मगर र भण्डारीले पनि माओवादीका नरेन्द्रबहादुर कुँवरलाई पराजित गर्नुभयो ।

नेकपा एमाले प्रतिनिधिसभातर्फ सुदूरपश्चिमका कैलाली, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ र दार्चुलामा कुनै सिट जित्न सकेन । प्रत्यक्षतर्फ प्रदेशसभाका ३२ निर्वाचन क्षेत्रमध्ये एमालेले ३१ ठाउँमा उम्मेदवारी दिएको थियो । जसमध्ये २८ प्रदेशसभा क्षेत्रमा पराजय भोग्नुपर्‍यो । ६ जिल्लामा निल भयो । कैलाली, डडेल्धुरा, अछाम, बाजुरा, बझाङ र दार्चुलामा एमालेले एउटा पनि प्रदेशसभा सिट जित्न सकेन ।

प्रदेशसभातर्फ नेकपा एमालेले कञ्चनपुर क्षेत्र नम्बर-१ (क), बैतडी (क) र डोटी (क) मा मात्रै जित हासिल गर्नसक्यो । प्रदेशसभामा एमालेबाट कञ्चनपुर क्षेत्र नम्बर-३ को प्रदेशसभा क्षेत्र (क) मा वीरबहादुर थापा, डोटी प्रदेशसभा (क) मा चक्र मल्ल र बैतडी प्रदेशसभा क्षेत्र (क) मा सुरेन्द्र पाल मात्रै निर्वाचित हुनुभयो ।

सुदूरपश्चिममा एमालेका इञ्चार्ज लेखराज भट्ट नै पराजित हुनुभयो । एमालेका केन्द्रीय सचिवसमेत रहनुभएका भट्ट कैलाली क्षेत्रनम्बर ५ बाट गठबन्धनका कांग्रेसी उम्मेदवार वीरबहादुर बलायरसँग पराजित हुनुभएको थियो । सुदूरपश्चिममा एमालेको नतिजा सन्तोषजनक नरहेको बताउनुहुन्छ । ‘हामी निर्वाचनको समिक्षा गर्ने क्रममा छौँ । अहिले आएको परिणाम हामीले सोचे अनुसारको भएन,’ भट्टले हिमालय टाइम्ससँग भन्नुभयो, ‘एकातिर गठबन्धन र अर्कातिर जालझेलका कारण हाम्रो पक्षमा नतिजा नदेखिएको हो । यद्यपी समानुपातिकमा हामीले राम्रो मत ल्याएका छौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?