मुख्यमन्त्री ‘म्याराथन’, सात प्रदेशमा को-को छन् आकांक्षी ?

डिबी शर्मा
Read Time = 15 mins

काठमाडौं । निर्वाचनको अन्तिम परिणाम आएसँगै संघदेखि प्रदेशसम्म नयाँ सरकारका गठनको चर्चा चुलिएको छ । कहाँ कसको सरकार बन्ने निश्चित नभए पनि आकांक्षीहरू दौडधुपमा लागेका हुन् । प्रदेश सरकार गठनको नेतृत्व लिन आकांक्षीहरू केन्द्रदेखि प्रदेशसम्मै सक्रिय बनेका छन् । तर, कुन प्रदेशमा कसको सरकार बन्न भन्ने यकिन छैन । ‘प्री-इलेक्सन’ गठबन्धन कायम रहे सातमध्ये चार प्रदेशमा सत्ता गठबन्धन दलको बहुमत देखिएको छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सत्तारूढ गठबन्धनको बहुमत छ । बाँकी तीन प्रदेशमा भने गठबन्धनलाई बहुमत जुटाउन अन्य दलको साथ चाहिन्छ । लुम्बिनी र मधेशमा केही दलको साथ लिए गठबन्धन सरकार बन्न सक्छ । प्रदेश १ मा भने एमाले गठबन्धन र सत्ता गठबन्धनको बराबर सिट छ । प्रदेश १ मा एक सिट भएको जसपा निर्णायक देखिएको छ । उसले जसलाई साथ दियो उसैको सरकार बन्ने सम्भावना छ ।

गठबन्धनमा कुन प्रदेशमा कसले नेतृत्व गर्ने भन्ने विषय टुंगिएको छैन । केन्द्रबाटै प्याकेजमा सहमति खोज्ने प्रयास गठबन्धनको छ । उसो त संघीय सरकार नै कसको नेतृत्वमा बन्ने भन्ने टुंगो छैन । संघमा पनि सत्ता गठबन्धन नै बुहमतनजिक छ । संघदेखि प्रदेशसम्म दलहरूले संसदीय दलको नेता नै छानेका छैनन् । दलको नेता नै मुख्यमन्त्रीको उम्मेदवार हुने भएकोले संसदीय दलको नेता बन्न दलभित्रै आकांक्षीहरूको दौडधुप सुरु भएको छ । कांग्रेस-एमालेभित्र सातै प्रदेशमा मुख्यमन्त्रीका आकांक्षी छन् । माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) गठबन्धनमा भाग खोजिरहेको छ । भागबण्डा मिलाएर सरकार गठन गर्नुपर्ने पक्षमा दुई दल छन् । मधेश प्रदेशमा मधेश केन्द्रित दलहरूमा पनि मुख्यमन्त्रीका आकांक्षी छन् ।

सुदूरपश्चिममा कांग्रेस, माओवादी र समाजवादीको दाबी
सुदूरपश्चिम प्रदेशमा गठबन्धन दलको स्पष्ट बहुमत छ । ५३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि २७ सिट आवश्यक पर्छ । सत्ता गठबन्धनसँग ३४ सिट छ । सुदूरपश्चिममा कांग्रेसले १९, माओवादीले ११ र नेकपा एसले चार सिट जितेका छन् । त्यस्तै, एमालेले १०, नागरिक उन्मुक्तिले सात, राप्रपा र स्वतन्त्र एक÷एक जनाले जितेका छन् । सुदूरपश्चिममा गठबन्धनकै सरकार बन्ने देखिए पनि नेतृत्व कसले गर्ने भन्ने टुंगिएको छैन । सुदूरपश्चिम सरकारमा गठबन्धनबाट कांग्रेस, माओवादी र नेकपा एस तीनै दलले नेतृत्व दाबी गरेका छन् । मुख्यमन्त्रीका लागि माओवादी र नेकपा एसमा धेरै आकांक्षी नभए पनि कांग्रेसभित्र रस्साकस्सी छ । माओवादी केन्द्रबाट खगराज भट्ट (डडेल्धुरा) र नेकपा एसबाट दीर्घबहादुर सोडारी (कैलाली) मुख्यमन्त्रीको दाबेदार हुनुहुन्छ । कांग्रेसमा सबैभन्दा धेरै आकांक्षी छन् । कांग्रेसबाट बहादुर सिंह थापा (कञ्चनपुर), मेघराज खड्का (अछाम), प्रकाश देउवा र कमलबहादुर शाह (कैलाली) मुख्यमन्त्रीका आकांक्षी हुनुुहुन्छ । एमालेबाट चक्रबहादुर मल्ल (डोटी) सुरेन्द्रबहादुर पाल (बैतडी) र वीरबहादुर थापा (कञ्चनपुर) आकांक्षी हुनुहुन्छ ।

कर्णालीमा कांग्रेस-माओवादीको दाबी
कर्णाली प्रदेशमा पनि सत्ता गठबन्धनको बहुमत छ । ४० सदस्यीय प्रदेशसभामा सरकार बनाउन २१ सिट चाहिन्छ । सत्ता गठबन्धनसँग २८ सिट छ । कर्णालीमा कांग्रेसले १४, माओवादीले १३ र नेकपा एसले एक सिट जितेको छ । त्यस्तै, एमालेले १०, राप्रपा र स्वतन्त्रले एक÷एकसिट जितेका छन् । कर्णालीमा गठबन्धन सरकार बन्ने देखिए पनि कसको सरकार बन्ने भन्ने यकिन छैन । कर्णालीमा कांग्रेस र माओवादीले सरकारको नेतृत्व दाबी गरेका छन् । कर्णालीमा कांग्रेसबाट बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाही (हुम्ला) र राजीवविक्रम शाह (जाजरकोट) मुख्यमन्त्रीका आकांक्षी हुनुहुन्छ । यस्तै, माओवादी केन्द्रबाट विन्दमान विष्ट (सुर्खेत) र राजकुमार शर्मा (रुकुम पश्चिम) मुख्यमन्त्रीका आकांक्षी हुनुहुन्छ । एमालेबाट यामलाल कँडेल (सुर्खेत) र विनोदकुमार शाह (दैलेख) मुख्यमन्त्रीका दाबेदार हुनुहुन्छ ।

लुम्बिनीमा गठबन्धनकै बहुमत, कांग्रेस-माओवादीको दाबी
लुम्बिनीमा सत्ता गठबन्धन र एमाले दुवैको बहुमत छैन । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार बनाउन ४४ सिट चाहिन्छ । सत्ता गठबन्धनसँग ४० सिट छ । गठबन्धनलाई सरकार बनाउन जनमत र लोसपा पार्टीकै साथ चाहिन्छ । लुम्बिनीमा जनमतले तीन सिट जितेको छ भने लोसपाले एक सिट जितेको छ । तीनजना स्वतन्त्र सांसद छन् । प्रदेशसभा सदस्यमा निर्वाचित स्वतन्त्र सांसद माओवादी केन्द्रका बागी हुन् ।

यहाँ गठबन्धनकै दलको सरकार बन्ने सम्भावना बलियो छ । लुम्बिनी सरकारको मुख्यमन्त्रीमा कांग्रेस, माओवादी केन्द्र र एमालेका नेताहरूको दाबी छ । माओवादीबाट जोखबहादुर महरा (रोल्पा) र इन्द्रजित थारू (दाङ) मुख्यमन्त्रीका आकांक्षी हुनुहुन्छ । कांग्रेसबाट अब्दुल रज्जाक( रुपन्देही), डिल्लीबहादुर चौधरी (दाङ) र राजु खनाल (दाङ)मुख्यमन्त्रीका आकांक्षी हुनुहुन्छ । एमालेले सरकार बनाउने अवसर पाए पोलिटब्युरो सदस्य लीला गिरी मुख्यमन्त्रीका आकांक्षी हुनुहुन्छ । त्यस्तै, भोजप्रसाद श्रेष्ठ, विष्णु पन्थी र भूमिश्वर ढकाल पनि मुख्यमन्त्रीका आकांक्षी हुनुहुन्छ ।

गण्डकीमा गठबन्धनकै बहुमत, कांग्रेस-माओवादीकै दाबी
गण्डकी प्रदेशमा पनि सत्ता गठबन्धनकै बहुमत छ । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ सिट चाहिन्छ । सत्ता गठबन्धनसँग ३५ सिट छ । गण्डकीमा कांग्रेसले २७, माओवादीले सात र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले एक सिट जितेका छन् । यहाँ एमालेले २२ र राप्रपाले दुई सिट जितेका छन् । गण्डकीमा कांग्रेसबाट सुरेन्द्र पाण्डे, शुक्रराज शर्मा र बिन्दु थापा आकांक्षी हुनुहुन्छ भने माओवादीबाट हरिबहादुर चुमान मुख्यमन्त्रीका आकांक्षी हुनुहुन्छ । एमालेबाट मुख्यमन्त्रीकै लागि पूर्वगृहमन्त्री खगराज अधिकारी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । एमालेबाट उहाँ एकल रूपमा आकांक्षी देखिए पनि बागलुङका लिलाबहादुर थापा, कास्कीका भीम कार्कीलगायत पनि मुख्यमन्त्रीका आकांक्षी देखिनुभएको छ ।

बागमतीमा गठबन्धन सरकार, कांग्रेस-माओवादी र नेकपा एसको दाबी
बागमती प्रदेशमा सत्ता गठबन्धन दलको स्पष्ट बहुमत छ । ११० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५६ सिट चाहिन्छ । यहाँ गठबन्धनका मुख्य तीन दलको मत नै ६५ पुग्छ । बागमतीमा कांग्रेसले ३७, माओवादीले २१ र एकीकृत समाजवादीले ७ सिट जितेका छन् । यस्तै, एमालेले २७, राप्रपाले १३, नेमकिपाले तीन र हाम्रो नेपाली पार्टीले दुई सिट जितेका छन् । यहाँ संघको समीकरण कायम भएमा गठबन्धनले सजिलै सरकार बनाउँछ । तर, गठबन्धनमा कसले सरकार बनाउने भन्ने टुंगो छैन । यहाँ कांग्रेससहित माओवादी र नेकपा एसले समेत नेतृत्व दाबी गरेका छन् । कांग्रेसबाट प्रदेश सभापतिसमेत रहनुभएका इन्द्र बानियाँ (मकवानपुर) प्रमुख दाबेदार हुनुहुन्छ । त्यस्तै, कांग्रेसकै बहादुरसिंह लामाको पनि दाबी छ । बागमतीमा माओवादीबाट शालिकराम जमरकट्टेल (धादिङ), सरल सहयात्री पौडेल र युवराज दुलाल शरद्को दाबेदारी छ भने एकीकृत समाजवादीबाट कृष्णप्रसाद शर्मा खनाल र वसन्त मानन्धरको दाबेदारी छ । बागमतीमा एमालेबाट जगनाथ थपलिया मुख्यमन्त्रीको दाबेदार हुनुहुन्छ ।

मधेशमा जनमत निर्णायक, नेतृत्वमा कांग्रेस, एमाले र जसपाको दाबी
मधेश प्रदेशमा कुनै पनि दल र गठबन्धनको बहुमत छैन । तर, सत्ता गठबन्धनलाई बहुमत जुटाउन सहज हुने देखिएको छ । १०७ सदस्यीय मधेश प्रदेशसभामा सरकार बनाउन ५४ सिट चाहिन्छ । यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीसँग ३७ सिट छ । चुनावमा तालमेल गरेको महन्थ ठाकुर नेतृत्वको लोसपाले साथ दिए ४६ पुग्छ । तर, गठबन्धनलाई आठ मत अपुग हुन्छ । मधेशमा नवगठित जनमत पार्टीले साथ दिए गठबन्धनको सरकार बन्न सक्छ । जनमतले मधेशमा १३ सिट जितेको छ । मधेशमा एमालेले २३, जसपाका १६ र ६ जना स्वतन्त्रहरूले पनि जितेका छन् ।

मधेशमा जनमत पार्टीले समेत सरकारको नेतृत्व दाबी गर्ने सम्भावना छ । यसबाहेक कांग्रेस र जसपाले पनि मुख्यमन्त्री दाबी गरेका छन् । एमालेले पनि बहुमत पु¥याउन कसरत गरिरहेको छ । मधेश सरकारको नेतृत्व गर्न कांग्रेसबाट कृष्णप्रसाद यादव र रामसरोज यादव दाबेदार हुनुहुन्छ । यसबाहेक पर्सा कांग्रेसका सभापति जनार्दनसिंह क्षेत्री पनि मुख्यमन्त्रीका आकांक्षी हुनुहुन्छ । जसपाबाट वर्तमान मुख्यमन्त्री लालबाबु राउत फेरि मुख्यमन्त्री बन्ने दाउमा हुनुहुन्छ ।

प्रदेश १ मा जसपाको एकसिट निर्णायक, नेतृत्वमा कांग्रेस-एमालेको दाबी
प्रदेश १ मा पनि कुनै दल र गठबन्धनको स्पष्ट बहुमत छैन । यहाँ एमाले वा सत्ता गठबन्धन दुवैको सरकार बन्न सक्ने सम्भावना छ । ९३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ४७ सिट चाहिन्छ । प्रदेशसभामा एमालेले एक्लैले ४० सिट जितेको छ । उसलाई सरकार बनाउन थप सात सिट चाहिन्छ । जसमा चुनावमा एमालेसँग तालमेल गरेको राप्रपाले समेत ६ सिट जितेको छ । अब एमाले नेतृत्वमा सरकार बनाउन मात्र एक सिटको आवश्यकता छ । जुन चुनावमा तालमेल गरेको जसपासँग छ । तर, जसपाले कसलाई साथ दिन्छ भन्ने खुलेको छैन । एक सिट भएका जसपाले सत्ता गठबन्धनलाई साथ दिए सत्ता गठबन्धनको सरकार बन्ने सम्भावना पनि उत्तिकै छ । यहाँ कांग्रेस २९, माओवादीले १३ एकीकृत समाजवादीले चार सिट जितेका छन् । प्रदेश १ मा एमालेबाट हिक्मतबहादुर कार्की (झापा) मुख्यमन्त्रीका प्रमुख दाबेदार हुनुहुन्छ । कांग्रेसबाट मुख्यमन्त्रीमा तीनजना दाबेदार देखिएका छन् । अमृतकुमार अर्याल, भीम पराजुली र उद्धव थापा मुख्यमन्त्रीको रेसमा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?