हलेसी महादेव-यात्रा अनुभव

✍️ स्वामी ध्यानराज

हालसालै आफ्नो व्यावसायिक काम विशेषले खोटाङ जिल्ला जाने अवसर जुर्‍यो । खोटाङ जिल्ला पूर्वी नेपालको पहाडी जिल्ला हो । यसभन्दा पनि खोटाङ पूर्वको पशुपति भनेर चिनिने हलेसी महादेव प्रसिद्ध हिन्दु, बौद्ध एवं किरात तीर्थस्थल हो । यसकारण पनि मेरो लागि यो ठूलो अवसर भयो । झण्डै १० घण्टा बसको यात्रापछि पुगिने हलेसी महादेव तुवाचुङ नगरपालिको वडा-७ हलेसीमा पर्छ । ‘हलेसी गुफा’ पशुपति जस्तो मन्दिर नभएर प्राकृतिक भूवनोटको अनौठो संरचना रहेको छ ।

हलेसी महादेवलाई हिन्दु धर्मावलम्बीले पूर्वको पशुपति, बौद्धमार्गीले दोस्रो लुम्बिनी अथवा मरातिक गुफा र किरात धर्मावलम्बीले आदिम भूमि ठान्छन् । हिन्दु धर्म र बुद्ध धर्मको संगमस्थल मानिने हलेसी धाम झण्डै २६ रोपनी क्षेत्रफलमा फैलिएको छ । मनोरम प्राकृतिक छटाले भरिपूर्ण एवं विभिन्न अनौठा र आकर्षक प्राकृतिक आकृतिका चट्टान (शिला) ले झकिझकाउ हलेसी धाममा विशेषतः महादेव (शिव)सम्बन्धी किंवदन्तीका महत्वपूर्ण गुफा छन् ।

हलेसी महादेवको दर्शन गरेमा दुःखबाट मुक्ति पाउने, सन्तान लाभ हुने, निरोगी हुने जनविश्वास रहेको छ । महादेवलाई भष्मासुर राक्षसबाट बचाउन मोहनी रूप धारण गरी भगवान विष्णु कैलाशबाट यस ठाउँमा आएको शास्त्रीय मान्यता छ । मोहनीले राक्षसलाई झुक्याएर भष्म गरिदिएकी थिइन्, जसको अवशेष भैरव गुफामा रहेको विश्वास गरिन्छ । त्यसैले यसलाई भष्मासुर गुफा पनि भनिन्छ । यहाँ रामनवमी, बालाचतुर्दशी, शिवरात्री र तीज गरी वर्षमा चारपटक ठूला मेला लाग्ने गर्दछ भने विभिन्न मुलुकबाट समेत तीर्थयात्री तथा पर्यटक आउने गर्छन् ।

यहाँ विशेषगरी पशुपति आउने हिन्दुहरू र लुम्बिनी आउने बौद्धमागीहरू यहाँ आउने गर्दा रहेछन् । भारत, थाइल्याण्ड, म्यानमार, चीनलगायका देशहरूबाट ध्यान बस्न, पूजापाठ गर्न तथा मनोकामना पूरा हुने विश्वासले यहाँ आउँदा रहेछन् ।

झण्डै १० दिनको बसाइमा हलेसी गुफा, मञ्जुश्री गुफा, बसाहा गुफामा बसेर ध्यान गर्ने अवसर जुट्यो । सबैभन्दा रोचक पक्ष त के लाग्यो भने एउटै गुफाभित्र हिन्दुहरूले पूजापाठ गर्ने, बौद्धहरूले मन्त्र जप्ने, किरातहरूले मुन्धुम पाठ गर्ने गरेको देख्दा जो कोही पनि रोमाञ्चित हुने गर्दछ । यहाँ विशेषगरी पशुपति आउने हिन्दुहरू र लुम्बिनी आउने बौद्धमागीहरू यहाँ आउने गर्दा रहेछन् । भारत, थाइल्याण्ड, म्यानमार, चीनलगाएका देशहरूबाट ध्यान बस्न, पूजापाठ गर्न तथा मनोकामना पूरा हुने विश्वासले यहाँ आउँदा रहेछन् ।

विशेषगरी मलाई ध्यान मन पर्ने भएकाले अधिकांश समय मञ्जुश्री गुफामा गएर ध्यान बसेँ । नेपालका धेरै तीर्थस्थलहरू गएर ध्यान बसेको भन्दा एउटा फरक अनुभूति मैले महसुस गरेँ । हुन त ध्यान गर्ने कुनै काम त होइन, ध्यान स्वघटित घटना हो, ध्यानमा जानलाई कुनै ठाउँ विशेषले भन्दा पनि व्यक्तिमा कत्तिको धैर्य र इच्छाशक्ति छ, त्यसमा निर्भर गर्छ तर पनि ठाउँ विशेष, त्यहाँको वातावरणले प्रभाव त अवश्य नै पार्छ । त्यसैले पनि जब मञ्जुश्री गुफामा ध्यान बस्दा ध्यानको अद्भूत् अनुभव महसुस गरेँ । ध्यानको अनुभव व्यक्त त गर्न गाह्रो छ तर झण्डै दुई घण्टा बस्दा दुई मिनेट बसेजस्तो पनि अनुभव भएन, एक हिसाबले समय शून्यता (टाइमलेसनेस) महशुस भयो ।

अर्को रोचक प्रसंग पनि सुनाउन मन लाग्यो । बसाहा गुफामा बौद्ध गुरु लामाको नजिकै म ध्यानमा बसेको थिए । निकै समयपछि त्यहाँ एक व्यक्ति आउनुभयो र मलाई समातेर हल्लाउनु भयो, ढोग्न लाग्नुभयो, मैले ढोग्न दिइन, म गुरु होइन, उता लामा गुरुलाई ढोग्नु भनेर इसारा गरेँ । उहाँले नमानेर भूइँमा ढोग्नुभयो र नेपाली एक हजार रुपौयाँको नोट मेरो हातमा हाल्नुभयो, म अक्क न बक्क भएँ । त्यो पैसा त्यहीँ नजिकै रहनुभएको लामा गुरुलाई दिए र त्यहाँबाट हिँडेँ ।

विशेषगरी भारतबाट हिन्दुधर्मालम्बीहरू आउने गरे पनि अरू मुलुकबाट बौद्ध तथा किरात धर्ममा आस्था राख्नेहरू पनि आउँछन् । विस्तारै भौतिक संरचनाहरूको विकास भइरहेको रहेछ । महादेवको दर्शनका लागि आउने दर्शनार्थीहरूको सुविधाका लागि लाइन लाग्ने व्यवस्था छ भने बस्न, खानका लागि होटलहरू राम्रै उपलब्ध छन् । पशुपतिमा जस्तै साँझको आरती त्यहाँको मुख्य आर्कषण रहेछ । शुक्रबार, शनिबार आन्तरिक पर्यटकले गुफामा दर्शनका लागि भरिभराउ हुने गर्दो रहेछ ।

हलेसी महादेव व्यवस्थापनका लागि विभिन्न समिति, स्थानीय निकाय, गुठी व्यवस्थापन समिति भए पनि अझै व्यवस्थित हुन सकेको अवस्था भने छैन । हिन्दु, बौद्ध, किरात धर्मालम्बीहरूको आस्थाको केन्द्र त्रिधामलाई अझ व्यवस्थित र प्रचारप्रसार गर्न सके समग्र धार्मिक पर्यटनलाई टेवा पुग्ने देखिन्छ । अन्त्यमा जुनसुकै धर्म सम्प्रदायको व्यक्ति हुनुस् यदि ध्यानको अनुभव लिन चाहनुहुन्छ भने हलेसी अवश्य जानुहोला ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?