कविता– वर्षा ऋतु

Read Time = 5 mins

घटाको फेटा गुथेर अम्बर मस्किन्छ खुलेर
गर्जियो मेघ गडड गरी त्रिभुवन डुलेर
नाच्दछे बादल नर्तकी बनी नौंडाँडा चुमेर
उड्छ पवन सरर बगी भूमण्डल घुमेर

कालो र मैलो गगन बीच चट्याङको रजाईँ
बिजुली चम्किई झलल हुँदा हर्ष र बढाइँ
असिना दाना मदोन्मत्त बनी व्योममा जमेका
मेदिनी चुम्न लालायित बनी आफैंमा रमेका

प्रचन्ड राप उखुम ताप घमाइलो घामको
वर्षाको ऋतु चरित्रै आद्र सुन्दर छ नामको
ओसिला बुँद गगनमाथि जलढिक्का बन्दछन्
शीतको घ्याम्पो फुटेर तल मोतीजल झर्दछन्

पियुष दाना बर्षा भै झर्छन् भूजीव रमाउँछन्
वर्षाकी देवी रथमा चढी धरामा आउँछिन्
इन्द्रेणी रानी मुस्काउँदै मधुर गान गाउँछिन्

हाँस्दछ तृषित भू ण्जल पिई अभ्रको प्रसाद
नाच्दछन् जीव खुशीले रमाइ बनेर उन्माद
बग्दछ भल आउँछ बाढी खहरे र नदीमा
भरिन्छ सलिल आहाल गरा डोबिल्काहरूमा

घन्किन्छ मिठो असारे भाका रोपाइँको माहोल
धानको चाड बेठीको रौनक हिलाम्मे भूगोल
हली, रोपार अनि बाउसे सारा नाच्छन् झुमेर
मानो है रोपी मुरी फलाउने सपना बुनेर

पत्झर बनले पीयुष पिई जन्मायो पालुवा
स्वर्गको अमृत पिएर हरे ब्युँझियो बालुवा
वर्षाको पानी तृप्तिको खानी पलाउँछ बहार
धरित्री पहिरी रिमिक्क पर्छिन् जलको जुहार

ऋतुमा श्रेष्ठ यो वर्षा ऋतु घ्युफल झैं रसिलो
बाढीपहिरो आएता पनि मौसम छ हँसिलो
छ ऋतु मध्ये सुन्दर यो छ विशेषतै ओसिलो
वर्षा ऋतुले घुम्टो खोलिन् फुकी जलधि तरंग
जलाशयहरू नाच्न थाले लिई उच्च उमंग

ओसिली ऋतुले प्रश्वास गर्दा फैलिन्छ सौम्यता
जलधारा पिई प्राणीहरू पाउँछन् जीवन्तता
झरीकी देवीले तथास्तु गर्दा बौरिन्छ बन्जर
चिम्टे ढुङ्यानी जर्जर भूतल बन्दछ उर्वर

पोल्टोमा वृष्टि बोकी जलपरी घुम्छिन् त्रिमन्डल
सुन्दरी वर्षा कानमा लाउँछिन् मेघको कुन्डल
पखाल्छ कुपित धुलो र मैलो वर्षाको पानीले
वर्षा ऋतु मानिन्छ राम्रो यही असल बानीले

आफ्नै लक्षण फरक स्वभाव छ वटै ऋतुको
रसिलो मौसम पोसिलो वृष्टि यो वर्षा ऋतुको
समुद्रबाट बाफ उडेर नभयात्रा गर्दछ
बादलुलाई चुम्बन गरी जलकण बन्दछ
बादल हाँसेर हर्शाश्रु बहँदा बर्षा बन्दछ

धनको नाश जनको क्षति यही बर्खे ऋतुमा
बस्ती डुबेर सोतर भो यही मौसमी चक्रमा
असिने झरी उर्लेर दर्कियो बाली भो सखाप
अन्नका दाना सोतर भए सिद्द नै भो अफाप

बाढीले सक्यो शहर र बस्ती डुबाई चुर्लुप्प
बिध्वंसै पार्यो पहिरोले निल्यो गाउँ नै खुर्लुप्प
खोलाले काढ्यो उछितो हरे खेत जग्गा बगाई
बिचल्ली भो यो दुखीको दैव सुनिदेऊ दुहाई

अँध्यारो नभै उज्यालो गौण दुःख बिनाको सुख
घृणा नहुँदा प्रेम ब्यर्थ इति बिनाको आमुख
हिउँको ठिही आगोको ताप आफैंमा सुन्दर छ
जसको प्रकृति जस्तो हुन्छ त्यो आफैंमा सही छ

जुन कृत्य प्रकृति बिधानको हुने गर्छ मान्य
जो त्यो प्रकृति धर्म मान्दैन त्यो त्यसैले अमान्य
धन्य ऋतुश्रेष्ठ वर्षा तिमी छौ सुन्दर सुरम्य

-इति-

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?