ललितपुर महानगरले मनायो १०४औँ स्थापना दिवस

स्थानीय तहको काम कारबाही परिणाममुखी हुनुपर्दछ : प्रधानमन्त्री देउवा

नारायण भण्डारी
Read Time = 6 mins

काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो स्थापनाको १०४औँ स्थापना दिवस मनाएको छ । उक्त अवसर पारेर महानगरले ‘ललितपुर महानगर गौरव पुरस्कार’ प्रदान गर्न सुरुसमेत गरेको छ । स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ धातु मूर्तिकार राजकुमार शाक्य, वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थ, प्राज्ञ कालु कुमाले र ललितपुर महानगरपालिकाका पूर्वप्रमुख बुद्धिराज बज्राचार्यलाई सो पुरस्कारबाट सम्मान गर्नुभयो । महानगरभित्रको कला, साहित्य र संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तिलाई जनही एक लाख नगदसहित सो पुरस्कारबाट सम्मान गरिएको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले जानकारी दिनुभयो ।

उक्त अवसरमा प्रधानमन्त्री देउवाले स्थानीय तहको काम कारबाही जनमुखी, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्ने बताउनुभयो । नागरिक नजिकको सरकार भएकाले पनि स्थानीय तहको काम कारबाही नागरिकप्रति नै जवाफदेही हुनुपर्ने देउवाको भनाइ थियो । उहाँले नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रूपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेकाले सोही अनुसारको काम हुनुपर्ने उल्लेख गर्नुभयो ।

उक्त अवसरमा प्रधानमन्त्री देउवाले नागरिकलाई खुसी बनाउने गरी ललितपुर महानगरपालिकाको सम्पदाहरूको संरक्षण र सम्वद्र्धनको काम भइरहेको भन्दै त्यसलाई निरन्तरता दिएर अघि बढ्न थप क्रियाशील हुन आग्रह गर्नुभएको थियो । भौतिक पूर्वाधारहरूको विकास गर्दा नागरिकको जीवनलाई सहज हुने गरी अघि बढाउन पनि स्थानीय तहका जनप्रतिनिधिहरूले मिलेर काम गर्नुपर्ने उहाँको भनाइ थियो । वि.सं. १९७५ मा पाटन सवालको नाममा स्थापना भएको हालको ललितपुर महानगरपालिका वि.सं. २००८ मा ललितपुर नगरपालिका, २०१८ मा ललितपुर नगर पञ्चायतको रूपमा सेवा प्रवाह गर्दै आएको थियो । त्यस्तै, २०४७ सालमा ललितपुर नगरपालिका, २०५२ सालमा ललितपुर उपमहानगरपालिका हुँदै २०७३ चैत १० गते ललितपुर महानगरपालिका बनेको ललितपुर महानगरपालिकाले जनाएको छ ।

काठमाडौं उपत्यकामा मेट्रो रेलको विकल्प छैन : चिरीबाबु महर्जन
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले काठमाडौं उपत्यकामा अब मेट्रो रेलको विकल्प नरहेको बताउनुभएको छ । ललितपुर महानगरपालिकाको १०४औँ स्थापना दिवसका अवसरमा उहाँले मेट्रो रेल धेरै महँगो छ भनेर पछि हट्न नहुने पनि धारणा राख्नुभयो । अब पनि मोटरसाइकलको बिक्री बढाएर उपत्यकामा ट्राफिक जाम बढाउनुभन्दा मेट्रो रेल सञ्चालनका लागि आवश्यक तयारी थाल्नुपर्ने उहाँको भनाइ छ । मेट्रो रेलको विकल्प मोेटरसाइकल किमार्थ हुन नसक्ने दाबी गर्दै उहाँले महँगो भयो भनेर मेट्रोको योजना नबनाउनु उचित नहुने बताउनुभयो ।

‘अन्तर्राष्ट्रिय अध्ययनअनुसार पनि ३० लाख जनसंख्या भएको ठाउँका लागि मेट्रो अपरिहार्य छ । विलम्ब नगरी यो काम अघि बढाऔँ । त्यसको लागि काठमाडौं र ललितपुर महानगरपालिका लगायत काठमाडौं उपत्यकाका १८ वटा पालिकाले राम्रो भूमिका खेल्नुपर्छ’ उहाँले भन्नुभयो ।

नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय स्थापनाका लागि बालेनको प्रस्ताव
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय स्थापना र बागमती नदीको सफाइका लागि सहकार्य गर्न ललितपुर महानगरपालिकासँग प्रस्ताव गर्नुभएको छ । ललितपुर महानगरपालिकाको १०४औँ स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित कार्यक्रममा बोल्दै मेयर साहले सो प्रस्ताव गर्नुभएको हो । यी दुवै काम काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका एक्ला एक्लैले गर्न नसक्ने भएकाले यसमा दुवै महानगरपालिकाको सहकार्य अनिवार्य रहेको उहाँको तर्क थियो ।

मेयर साहले नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय र बागमती सफाइको काममा मात्रै दुवै महानगरपालिकाले सहकार्य गरेर गए त्यो काठमाडौं उपत्यकाको विकासको लागि नै राम्रो सन्देश हुनेसमेत स्पष्ट पार्नुभयो । उहाँले हाम्रो कला, संस्कृति र सभ्यता नयाँ पुस्तालाई हस्तान्तरण गर्न र यसलाई अन्तर्राष्ट्रियकरण गर्न पनि नेवाःसम्बन्धी विश्वविद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै जग्गाको आवश्यक व्यवस्था भने ललितपुर महानगरपालिकालाई मिलाउन सहज हुने धारणासमेत राख्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?