आन्दोलनको सहारामा महोत्तरीका विद्यार्थीले पाए विषयगत शिक्षक 

हिमालय टाइम्स
Read Time = 3 mins

महोत्तरी । गौशाला नगरपालिकाको नवराजपुरस्थित राष्ट्रिय माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले गत १८ मंसिरमा पढाइ नभएको भन्दै आन्दोलनमा उत्रिए । पटक-पटक नगरपालिकालाई ध्यानाकर्षण गराउँदा पनि विषयगत शिक्षक नपठाएपछि उक्त विद्यालयका कक्षा ८, ९ र १० मा  मा अध्ययनरत विद्यार्थीहरूले प्रदर्शन गरे । विद्यालयअगाडि नै उनीहरू टायर बालेर प्रदर्शनमा उत्रिए ।

‘विषयगत शिक्षकको माग गरेर हामीले आन्दोलन गर्‍यौँ,’ कक्षा-९ मा अध्ययनरत दीपककुमार महतोले भन्नुभयाे । विद्यार्थीको आन्दोलनपछि गौशाला नगरपालिका प्रमुख डा. दीपेन्द्र महतोले रातारात शिक्षक नियुक्ति गरेर नवराजपुरस्थित श्री माध्यामिक विद्यालयमा पठाउनुभयाे ।

‘लोकतन्त्रमा आफ्नो अधिकारको लागि आन्दोलनसमेत गर्न सकिन्छ भन्ने थाहा थियो । तर, माग पूरा हुन्छ भन्ने विश्वास थिएन । आन्दोलनको यत्रो शक्ति हुन्छ भन्ने बल्ल थाहा पायौं,’  महतोले थप्नुभयाे ।

शिक्षकको अभावमा पठनपाठनमा समस्या थियो ।  अतिरिक्त कक्षा नलिए परीक्षासम्म कोर्स सकिने अवस्था नरहेको विद्यार्थीहरू बताउँछन् । विषयगत शिक्षक आएसँगै पठनपाठनले गति लिएको छ ।

कक्षा-१० मा अध्ययनरत अनिलकुमार महतो पाँच महिनादेखि अध्यापन नै नभएका विषयहरू अहिले पढाउन थालिएको बताउँनुहुन्छ । ‘शैक्षिकसत्रको सुरुवातदेखि पढाइ नभएपछि   विद्यालय प्रशासन र नगर शिक्षा शाखाको ध्यानाकर्षण गरायौँ । तर, सुनुवाइ भएन,’ उहाँले भन्नुभयाे, त्यसपछि विद्यार्थी प्रदर्शनमा उत्रिएपछि नगरपालिकाले विषयगत शिक्षक पठाएको छ । अहिले पढाइ भइरहेको छ ।’

गणित, सामाजिक, विज्ञानजस्ता विषयहरू नै पढाइ नभएपछि यस विद्यालयमा अध्ययनरत कक्षा-८, ९ र १० का विद्यार्थीहरू विशेषगरी मर्कामा परेका थिए ।

यस विद्यालयमा ६०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।  शैक्षिक प्रावधानअनुसार ५० विद्यार्थी बराबर एक शिक्षक आवश्यक पर्छ । तर, यहाँ जम्मा ५ जना मात्र शिक्षक थिए ।  विद्यार्थीहरूको दवावपछी अहिले चारजना शिक्षक थपिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?