नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न मार्ग प्रशस्त भयो : प्रमुख निर्वाचन आयुक्त थपलिया

फाइल तस्बिर

Read Time = 4 mins

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न मार्गप्रशस्त भएको बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरुलाई निर्वाचित प्रमाणपत्र दिने कार्यक्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्ने बाटो खुलेको बताउनुभएको हो ।
उहाँले आयोगले निर्वाचनको सम्पूर्ण मत परिणाम सार्वजनिक गरिसकेको र निर्वाचित सबैलाई प्रमाणपत्र समेत दिइसकेकाले नयाँ सरकार गठन हुने प्रक्रिया शुरु गर्न मार्गप्रशस्त भएको बताउनु भयो । उहाँले एक महिनाभित्रमा राष्ट्रपपति र उपराष्ट्रपतिको निर्वाचन भइसक्ने बताउनु भयो । यसका निम्ति सांसदहरुले शपथग्रहण गर्नासाथ प्रक्रिया अगाडी बढाइने उहाँको भनाई छ । निर्वाचनको मिति भने सरकारसँगको परामर्श पछि तय गरिने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘हामीले सम्माननीय राष्ट्रपति र सम्माननीय उपराष्ट्रपति पदको निर्वाचनको पनि तयारी गर्नुपर्ने हुन्छ । यो कार्य गर्नको निम्ति हामीले बढीमा फागुनको १५ गतेभित्र यो सम्पूर्ण कार्य सम्पन्न गरेर नतिजा दिइसक्नुपर्ने अवस्था छ । यसको निम्ति आयोगलाई त्यति लामो समय आवश्यक पर्दैन । एक महिनाको समय भयो भने हामी सबै कार्यहरु सम्पादन गर्नसक्छौँ । यसको निम्ति अब प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेश सभा सदस्य नै उक्त निर्वाचनको निम्ति निर्वाचक मण्डलको सदस्य हुने भएको हुँदा दुवै सभाको सपथ ग्रहण सम्पन्न हुनासाथ हामी मतदाता नामावली तयार गरेर आवश्यक प्रक्रिया प्रारम्भ गर्छौं । आजबाट दुवै सभाको सभा आह्वान गर्नको निम्ति मार्ग प्रशस्त गरेको छ । सभा आह्वान हुनासाथ स्वभाविक रुपले शपथ हुनेछ । त्यसपछि हामीलाई यो कार्य गर्न प्रक्रिया अगाडी बढाउन उपयुक्त हुनेछ । त्यसैगरी यो निर्वाचन गर्नको निम्ति आयोगले मिति तय गर्ने हो र नेपाल सरकारको परामर्शमा हामीले मिति तय गर्दछौँै । अहिले हामीले परामर्श प्रारम्भ गरिसकेका छैनौँ । आजपछि, यो नतिजापछि नयाँ सरकार गठन हुने पनि प्रक्रिया प्रारम्भ गर्न मार्गप्रशस्त भइसकेको हुनाले हामी सबै प्रक्रियाहरु हेरेर उपयुक्त समयमा राष्ट्रपति तथा उपराष्ट्रपति पदको निर्वाचनको प्रक्रियालाई अगाडी बढाउँछौँ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले गत निर्वाचनबाट सिकेको पाठहरुलाई प्रयोग गर्दै आगामी निर्वाचनलाई व्यवस्थित बनाउनतर्फ आयोगले ध्यान दिने उल्लेख गर्नुभयो । उहाँले नवनिर्वाचित सांसदहरुको पाँचवर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?