कतार विश्वकप : उत्कृष्ट लयका एम्बाप्पेबाट ट्रफी फुत्काउन दिलोज्यान लगाउँदै मेस्सी

हिमालय टाइम्स
Read Time = 7 mins

-यज्ञराज जोशी
काठमाडौं । अर्जेन्टिना र फ्रान्स विश्वको सबैभन्दा लोकप्रिय खेलको सर्वोच्च उपाधिका लागि केहीबेरमा भिड्दै छन् । चार महिना विश्वकै उत्कृष्ट टोलीहरू बीचको घमासानपछि अर्जेन्टिना र फ्रान्स बीचको ब्लकबष्टर खेलसँगै कतार विश्वकपको अन्त्य हुँदै छ ।

कतारको सबैभन्दा ठूलो लुसेल स्टेडियममा अहिले पौने ९ बजे खेल हुनेछ । लुसेल स्टेडियममा जारी विश्वकपको यो १०औँ खेल हो । जहाँ ८८ हजार दर्शकले प्रत्यक्ष स्टेडियमबाटै हुटिङ गर्नेछन् भने अन्य माध्यमबाट विश्वभरका कराडौँ दर्शकले हेर्नेछन् । फ्रान्स ब्राजिलपछि लगातार उपाधि जित्ने टोली बन्न चाहन्छ । १९६२ मा ब्राजिलले उपाधि रक्षा गरेको थियो । २०१८ मा रसिया विश्वकपको उपाधि जितेको फ्रान्स पनि ब्राजिललाई पछ्याउने होडमा छ ।

यता, विश्व फुटबलका सुपरस्टार लियोनल मेस्सी विश्वकप उपाधि उचाल्दै आफ्नो करिअरलाई सुरक्षित अवतरण गराउन चाहन्छन् । यी लिजेन्ड खेलाडीले विश्व फुटबलमा नजितेको कुनै एउटा ट्रफी छ भने त्यो यही विश्वकप हो । पाँचौँपटक विश्वकप खेल्दै गरेका मेस्सीले फ्रान्सबाट ट्रफी फुत्काउने दिलोज्यान लगाउने देखिन्छ । ट्रफी जित्दा फुटबलको सर्वकालीन महान् खेलाडीको बहसको पनि किनारा लाग्नेछ । समकालीन क्रिष्टियानो रोनाल्डो र समदेशी डियगो म्याराडोनालाई पनि मेस्सीले पछि छोड्ने छन् ।

लगातारको अपराजित यात्रासँगै अर्जेन्टिना विश्वकप खेल्न पुगेको थियो । तर, पहिलो खेलमै साउदी अरेबियासँग अप्रत्यासित रूपमा स्तब्ध बन्यो । त्यसपछि भने अर्जेन्टिना लयमा फर्कियो र लगातार जित्दै फाइनल यात्रा तय गर्‍यो । समूह विजेता बनेको अर्जेन्टिना त्यसपछि प्री-क्वार्टर फाइनलमा अष्ट्रेलिया, क्वार्टर फाइनलमा नेदरल्याण्ड्स र सेमिफाइनलमा क्रोएसियाको चुनौती पछ्याउँदै उपाधिनजिक पुगेको हो ।

केही खेलाडीहरूको इन्जुरीको खबरले फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्सलाई चिन्तित बनाएको छ । तर, पनि समूह चरणपछि पोल्याण्ड, इंग्ल्याण्ड र मोरक्कोलाई पन्छयाउँदै फाइनल पुगेको फ्रान्स अर्जेन्टिनाका लागि कम्ती चुनौती बन्ने छैन । फ्रान्सका युवास्टार केलियन एम्बाप्पे उत्कृष्ट लयमा छन् । मेस्सीलाई रोक्नु फ्रान्सको मुख्य चुनौती हुनेछ ।

फ्रान्स र अर्जेन्टिना यसअघि तीनपटक विश्वकपमा आमने-सामने भएका छन् । अर्जेन्टिनाले १९३० र १९७८ को विश्वकपमा फ्रान्समाथि जित हात पार्दा २०१८ को विश्वकपमा भने फ्रान्सले अर्जेन्टिनालाई ४-३ ले पन्छाएको थियो । समग्र हेड टू हेडमा भने अर्जेन्टिना फ्रान्समाथि ६-३ ले अघि छ । बाँकी तीन खेलमा यी दुई टोलीले बराबरीको नतिजा निकालेका छन् ।

आइतबार अर्जेन्टिनाले छैटौँपटक विश्वकपको फाइनल खेल्दै छ । यसअघि खेलेका पाँचमध्ये तीन फाइनल अर्जेन्टिनाले गुमाएको छ भने दुईपटक विश्वकप जितेको छ । अर्जेन्टिनाले १९७८ र १९८६ को विश्वकप जितेको थियो । १९३०, १९९० र २०१४ को विश्वकपमा भने फाइनलमा पुगेर पनि अर्जेन्टिनाले उपाधि उचाल्न सकेको थिएन ।

फ्रान्स विश्वकपको फाइनलमा चौथोपटक पुगेको हो । उसले दुईपल्ट उपाधि उचाल्दा एकपल्ट फाइनलमा पराजित हुनुपरेको छ । फ्रान्सले १९९८ मा घरमै उपाधि उचालेको थियो भने यसअघि सन् २०१८ मा रुसमा भएको विश्वकपको पनि च्याम्पियन बनेको थियो । यस्तै, फ्रान्स २००६ मा फाइनलमा पुगेर पनि रोकिएको थियो ।

विश्वकप फुटबलको इतिहास हेर्ने हो भने जर्मनी सर्वाधिक आठपटक विश्वकपको फाइनलमा पुगेको राष्ट्र हो । जर्मनीले चारपटक विश्वकप जितेको छ । जर्मनीले १९५४, १९७४, १०९० र २०१४ गरी चारपटक विश्वकप जितेको हो । जर्मनीले सन् १९५४ मा स्विट्जरल्याण्डमा भएको विश्वकप पहिलोपटक जितेको थियो । यस्तै, सर्वाधिक पाँचपटक विश्वकप जितेको ब्राजिल समग्रमा सातपटक फाइनलमा पुगेको छ । यीमध्ये दुईपटक भने ब्राजिलले फाइनल खेल गुमाएको छ ।

यस्तै, इटालीले ६ पटक विश्वकपको फाइनल खेलेको छ । जसमो चारपटक जितेको छ । यस्तै, नेदरल्याण्ड्स तीनपटक फाइनलमा पुगेको छ । तर, उपाधि भने जित्न सकेको छैन । यसैगरी, उरुग्वेले दुईपटक फाइनलमा पुगेर दुवैपटक उपाधि जितेको छ । चेकोस्लाभाकिया र हंगेरी दुईपटक फाइनलमा पुगेर पराजित भएका छन् । यस्तै, समान एकपटक फाइनलमा पुगेका इंग्ल्याण्ड र स्पेनले पहिलो प्रयासमै उपाधि जितेका छन् । स्विडेन र क्रोएसिया भने एकपटक फाइनल पुगे पनि पराजित बन्न पुगे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?