इंग्ल्याण्डका पिटर ट्रेगो लुम्बिनीका प्रशिक्षक

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । इंग्ल्याण्डका पिटर ट्रेगो नेपाल टी-२० लिगमा लुम्बिनी अल स्टार्सको मुख्य प्रशिक्षकमा नियुक्त हुनुभएको छ । लुम्बिनी अल स्टार्सले सामाजिक सञ्जालमार्फत् पिटरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जानकारी दिएको हो ।

४१ वर्षीय पिटरले २२३ प्रथम श्रेणी खेल खेल्दा १५ शतक र ५४ अर्धशतकसहित ९ हजार ६४४ रन बनाउनुभएको छ । यस्तै, २०६ लिष्ट ‘ए’ खेलमा १० शतक र २६ अर्धशतकसहित पाँच हजार ५७ रन बनाउनुभएको छ । तीव्र गतिमा बलिङ गर्ने उहाँले प्रथम श्रेणीमा ३९५ र लिष्ट ‘ए’ मा १७३ विकेट लिनुभएको छ । ‘सन्यास लिइसकेपछि मैले कोचिङ गर्दै आएको छु । म आफ्नो पहिलो व्यावसायिक अवसर पाउँदा निकै उत्साहित छु,’ पिटरले भन्नुभयो, ‘मुख्य प्रशिक्षक बन्न पाउँदा विश्वभर क्रिकेटमा नयाँ सकारात्मक ऊर्जा ल्याउने आशा गरेको छु । विशेषगरी नेपाल टी-२० लिगको पहिलो संस्करणमा लुम्बिनीको टिममा आबद्ध हुन पाउँदा खुशी छु ।’

नेपाल टी-२० क्रिकेट लिग डिसेम्बर २३ देखि १० जनवरीसम्म टियु क्रिकेट मैदानमा हुनेछ । डबल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ । लुम्बिनीमा विदेशी खेलाडीका रूपमा लाहिरू मिलान्था, काल्भिन स्याभेज, विपुल शर्मा, प्याट ब्राउन, रहकिम कर्नवाल र हरमित सिंह रहनुभएको छ । लुम्बिनीले पहिलो खेल फार वेस्ट युनाइटेडसँग खेल्दै सुरुवात गर्नेछ ।

लुम्बिनीको टोलीमा दीपेन्द्रसिंह ऐरी मार्की खेलाडीका रूपमा रहनुभएको छ । दीपेन्द्रसँगै टोलीमा अनिलकुमार शाह, कुशल भुर्तेल, गुलशन झा, सागर ढकाल, योगेन्द्रसिंह कार्की, किशोर महतो, तिलकराज भण्डारी, सुनिल धमला, आकाश चन्द र इशान पाण्डे हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?