सुनवल १३२ केभी सबस्टेसन सञ्चालनमा

Read Time = 4 mins

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका–७ मा निर्माण गरिएको सुनवल १३२ केभी सबस्टेसन सञ्चालनमा आएको छ । परासी क्षेत्रमा सञ्चालनमा रहेका तथा आगामी दिनमा खुल्ने उद्योग र स्थानीयवासीलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि सुनवल १३२ केभी सबस्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार हाल सञ्चालनमा रहेको पूर्व-पश्चिम १३२ केभी प्रसारणलाइन सुनवल सबस्टेसनमा भित्रने (लुपइन) र बाहिरिने (लुपआउट) छ । सोही १३२ केभी लाइनबाट सुनवल सबस्टेसनमा विद्युत् आपूर्ति दिइएको छ । सबस्टेसन सञ्चालनसँगै सो क्षेत्रमा सञ्चालित स्टिल, सिमेन्टलगायतका उद्योग तथा स्थानीय उपभोक्ताले पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति पाएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले परासी क्षेत्रका सिमेन्ट, स्टिललगायतका ठूला उद्योग र स्थानीय उपभोक्तालाई विद्युत् आपूर्तिका लागि सुनवल सबस्टेसन मेरुदण्ड भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘सुनवल सबस्टेसन सञ्चालनसँगै बुटवल सबस्टेसनको चाप घटेको छ, सुनवल तथा परासी क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय भएको छ, उपभोक्ताले मागेजति विद्युत् पाउनेछन् भने प्राविधिक चुहावटसमेत घट्नेछ ।’

सबस्टेसनमा १३२/३३, ६३ एमभिएका दुईवटा र १३२/११ केभी, २२.५ एमभिएको एउटा पावर ट्रान्सफर्मर रहेका छन् । सबस्टेसनबाट स्थानीयरूपमा विद्युत् आपूर्तिका लागि निकालिने ३३ केभीका सातवटा फिडरमध्ये तीनवटा सञ्चालनमा ल्याइएको छ । ३३ केभीका तीन फिडरमध्ये एउटाबाट सर्वोत्तम सिमेन्ट तथा परासी बजार क्षेत्र, अर्कोबाट पाल्पा सिमेन्ट तथा रूपन्देहीको शित्तलनगर सबस्टेसन र लक्ष्मी स्टिलमा विद्युत् आपूर्ति दिइएको प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालय बुटवलका निर्देशक नवराज ओझाले जानकारी दिनुभयो ।
हाल सुनवल सबस्टेसनबाट सो क्षेत्रमा करिब २० मेगावाट विद्युत् आपूर्ति भइरहेको छ । परासीतर्फ जाने बाँकी ३३ केभीका चार र सबस्टेसन वरिपरि विद्युत् आपूर्तिका लागि ११ केभीका चार फिडर निर्माणाधीन छन् ।

औद्योगिक करिडोरमा विद्युत् आपूर्ति व्यवस्थापनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत् प्राप्त बजेट करिब ६९ करोड रुपैयाँमा सुनवल सबस्टेसन निर्माण गरिएको हो ।

प्राधिकरणले परासी र रूपन्देहीको भैरहवा औद्योगिक करिडोरमा विद्युत्को बढ्दो मागलाई सम्बोधन गर्न, प्रसारण क्षमता वृद्धि गर्न, प्राविधिक चुहावट घटाउन, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि सुनवल (भुमही) हकुई १३२ केभी डबल सर्किट प्रसारणलाइन निर्माण अघि बढाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?