सौर्य विद्युत् मा पुरानै खरिद दर कायम गर्न माग

Read Time = 6 mins

काठमाडौं । सौर्य ऊर्जा उत्पादकहरूले नयाँ निर्धारित ऊर्जा खरिद दर प्रक्रिया खारेज गरी पुरानै दर कायम गर्न नेपाल विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराएका छन् । प्रस्तावित स्वतन्त्र सौर्य ऊर्जा उत्पादकहरूको संस्था नेपाल (स्वपान) ले आइतबार प्राधिकरणका कार्यकारी निर्देशकलाई पत्र लेख्दै प्राधिकरणले अचानक प्रतियुनिट पाँच रुपैयाँ ९४ पैसामा सौर्य ऊर्जा खरिद गर्ने गरी आहृवान गरेको टेण्डरमा गम्भीर आपत्ति जनाएको छ ।

मंसिर १२ गतेको बोलपत्र रद्द गर्न ध्यानाकर्षण गराएको हो । प्राधिकरण सञ्चालक समितिले २०७८ माघ ९ गते सौर्य विद्युत् आयोजनाका लागि प्रतिस्पर्धाका माध्यमबाट मात्र निर्माण गर्ने निर्णय गरेको थियो । उक्त निर्णय सच्याउन निजी क्षेत्रले विद्युत् नियमन आयोगमा निवेदन दिए पनि आयोगले मन्त्रालयकै निर्णयलाई सदर गरेको थियो । बोलपत्रअनुसार आधार खरिद दर प्रतियुनिट पाँच रुपैयाँ ९४ पैसा रहेको छ ।

प्राधिकरणले आयोगलाई सौर्य ऊर्जा खरिद दररेटसम्बन्धी तथ्य प्रस्तुत गर्दा उक्त आधार खरिद दर तोक्न अन्य मापदण्डबाहेक ग्रिड कनेक्टेड वैकल्पिक विद्युत्सम्बन्धी कार्यविधि २०७८ अनुरूप आयोजनाको लागत, ऋणको ब्याजदर, ह्रासकट्टी, स्वलगानीमा प्रतिफल, सञ्चालन तथा मर्मत खर्च, कर, ऋण तथा पुँजी अनुपातलगायतका आधार उचित हुने स्वपानको भनाइ छ । स्वपानका अनुसार बोलपत्रमा सौर्य परियोजनाको लागत जग्गाको मूल्यसहित सात करोड १५ लाख रुपैयाँ पर्ने प्राधिकरणको मापदण्ड भारतको ऊर्जा बजारलाई लिएर निर्धारण गरिएको हो । भारतमा सञ्चालित अधिकांश सौर्य परियोजना सयदेखि पाँच सय मेगावाट हुने गरेका सानो परियोजनाका तुलनामा ठूला परियोजनालाई फाइदा हुने हुन्छ । तर, नेपालमा हाल सौर्य आयोजनाको क्षमता बढीमा १० मेगावाटसम्म रहेकाले भारतसँग तुलना गरेर विकास हुने परियोजनाको लागत अनुमान गर्नु त्रुटिपूर्ण रहेको छ ।

प्राधिकरणले आँकलन गरेको ब्याजदर (१० प्रतिशत) समेत हालको आर्थिक स्थितिलाई विचार गर्दा कम हुने अनुमान गरिएको स्वपानको भनाइ छ । स्वपानले भनेको छ, ‘आजको आर्थिक परिस्थितिमा सो ब्याजदर ११-१३ प्रतिशतसम्म भएको छ । तसर्थ विश्वभर चलिरहेको आर्थिक प्रवृत्ति अध्ययन गर्दा प्राधिकरणको बोलपत्रमा गरिएको अनुमान नेपालको विद्यमान आर्थिक स्थितिको अध्ययन नगरी निकै आशावादी परिपे्रक्ष्यलाई कल्पना गरेर लिइएको देखिन्छ ।’

प्राधिकरणले लगानीकर्तालाई लगानीमा प्रतिफल १५ प्रतिशत हुने गरी तोकेको आधार दर बैंकको ब्याजदर ११ देखि १३ प्रतिशतसम्म पुगेको अवस्थामा व्यावहारिक नहुने स्वपानको भनाइ छ । नेपालजस्तै अन्य विकासोन्मुख मुलुकले लगानीकर्तालाई प्रोत्साहित गर्नसमेत आफ्नो नीति तथा कानुन लगानीकर्ताले उच्च प्रतिफल पाउने गरी तर्जुमा गर्ने गरेको उल्लेख गर्दै स्वपानले भारतले समेत वैकल्पिक ऊर्जातर्फ लगानी बढाउन प्रोत्साहन नीति लिएको दाबी गरेको छ ।

नेपालले जलविद्युत्बाहेक राष्ट्रिय सुरक्षाको अवधारणामा नवीकरणीय ऊर्जा आवश्यक रहेको पहिचान गरी राष्ट्रको कुल ऊर्जा उत्पादनको १० प्रतिशत नवीकरणीय ऊर्जाबाट पूर्ति गर्ने योजना ‘राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणापत्र र कार्ययोजना-२०७२’ मा उल्लेख गरेमा सौर्य ऊर्जामा लगानी गर्न लगानीकर्तालाई हतोत्साहित गर्ने गरी निर्णय भएको भन्दै स्वपानले असन्तुष्टि प्रकट गरेको छ ।

स्वपानका अनुसार भारतमा कुल जडित क्षमताको करिब २० प्रतिशत सौर्य ऊर्जा छ भने अन्य मुलुकमा जडित क्षमताको १५ देखि ४० प्रतिशत सौर्य ऊर्जाबाट आपूर्ति भएको छ । नेपालले भने नीतिगतरूपमा जडित क्षमताको १० प्रतिशतसम्म सौर्य ऊर्जा उत्पादन राष्ट्रिय प्रसारण ग्रिडमा जोड्ने भनेको छ । सौर्य ऊर्जा उत्पादकलाई प्रोत्साहित गरेमा एक वर्षमै सुक्खा मौसममा पनि नेपालकै ऊर्जाले माग धान्ने स्वपानको दाबी छ । चरम लोडसेडिङका बेला नेपालले भारतबाट वार्षिक २५ अर्ब रुपैयाँसम्मको विद्युत् आयात गरेको थियो । यस वर्ष पनि प्राधिकरणले करिब पाँच सय मेगावाटसम्म आयात गर्दैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?