धादिङका तीन होटल कारबाहीमा

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 2 mins

धादिङ । जिल्ला अनुगमन समिति धादिङले पृथ्वी राजमार्गअन्तर्गत धादिङका तीन होटललाई कारबाही गरेको छ । चाड पर्वलगायत विभिन्न समयमा गरिएको अनुगमनको क्रममा समितिले दिएको सुझाव नमानेको भन्दै ती होटललाई कारबाही गरिएको जिल्ला अनुगमन समिति धादिङले जनाएको छ ।

कारबाही हुने होटलहरूमा धादिङको गल्छी गाउँपालिका-७ भल्टारमा रहेको जुनतारा रेष्टुरेन्टलाई १५ हजार, होटल लुम्बिनीलाई १५ हजार र जाल्पा रिसोर्ट एण्ड स्टाफ भोजनालयलाई २० हजार रुपैयाँ जरिबानास्वरूप कारबाही गरिएको जिल्ला अनुगमन समितिका संयोजक राजन घिमिरेले जानकारी दिनुभयो । केही महिनाअघि बजार अनुगमन टोलीले दिएको सुझाव र निर्देशन पालना नगरेको, होटलका भान्सा सफा नरहेको, म्याद नाघेका सामानहरू बिक्री वितरण गरिएको पाइएको थियो ।

पछिल्लो समय पृथ्वी राजमार्गका अधिकांश होटल सञ्चालकहरूले यात्रुहरूसँग चर्को मूल्य असुली गर्ने गरेको गुनासो आएसँगै जिल्ला अनुगमन समिति धादिङले होटलहरूको अनुगमन गर्दै आइरहेको छ । अनुगमनको क्रममा राजमार्गका होटलहरूले मनमानी रूपमा मूल्य असुली गरेको, मूल्यसूची टाँस नगरेको म्याद नाघेको वस्तु बिक्री वितरण गरेको पाइएको थियो । त्यस्तो होटलहरूलाई सुझाव तथा यस्तो कार्य नगर्न आग्रहसमेत गरिएको थियो । जिल्ला अनुगमन समितिले नियमित रूपमा बजार अनुगमन गर्दै आए पनि राजमार्ग क्षेत्रका होटलहरूले दिइएको निर्देशन पालना नगरी अटेर गरेको, बढी मूल्य लिने गरेको, सरसफाइमा ध्यान नदिएको गुनासो नागरिकले गर्दै आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?