सुदूरपश्चिम : कांग्रेस संसदीय दलको नेतामा आधा दर्जन आकांक्षी

हिमालय टाइम्स
Read Time = 5 mins

यज्ञराज जोशी/हिटा
धनगढी । आफूहरूको नेतृत्वमा सुदूरपश्चिम सरकार गठन हुनुपर्ने भन्दै लविङ थालेको नेपाली कांग्रेस सुदूरपश्चिममा संसदीय दलको नेता बन्न आधा दर्जन आकांक्षी देखिएका छन् । कांग्रेसको विधानअनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने भएकाले नेताहरूले आकांक्षा व्यक्त गरेका हुन् । गत मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको आम निर्वाचनको परिणामअनुसार सुदूरपश्चिममा कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा बहुमत पु¥याउन २६ सदस्य आवश्यक पर्छ । प्रदेशसभामा कांग्रेसकै मात्र प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ सातसहित १९ सिट छ ।

सोहीकारण ठूलो पार्टी भएकाले मुख्यमन्त्री दाबी गरिरहेको कांग्रेसमा संसदीय दलका आकांक्षी पनि बढी देखिएका हुन् । हालसम्म कांग्रेसमा ६ जना संसदीय दलको नेताको आकांक्षी देखिएका छन् । कांग्रेसमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाका भतिजा प्रकाशबहादुर देउवासँगै, बहादुर सिंह थापा, दिवानसिंह विष्ट, कमलबहादुर शाह, प्रकाशबहादुर बम र मेघराज खड्काले संसदीय दलको आकांक्षी देखिनुभएको हो ।

उहाँहरूले शीर्ष नेताहरूसँग भेटघाट र आन्तरिक तयारी पनि तीव्र पार्नुभएको छ । स्थानीयहरू नेता कार्यकर्ताले प्रकाश देउवालाई मुख्यमन्त्री बनाउपर्ने भन्दै केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेट्नुभएको थियो । यस्तै, दिवानसिंह विष्टले पत्रकार सम्मेलन गर्दै आफू सिनियर भएकाले मुख्यमन्त्री पाउनुपर्ने मागसहित संसदीय दलमा लड्ने जनाइसक्नु भएको छ । यस्तै, शाह, बम र खड्काको दाबी पनि आफूहरूको पार्टीमा लामो योगदान रहेको र सिनियर भएकाले आफूहरूले मौका पाउनुपर्ने रहेको छ ।

संसदीय दलको नेतामा प्रकाशबहादुर देउवा सम्भावना बढी रहेको तर सुरुमा सुदूरपश्चिम सरकार कसको नेतृत्वमा बन्ने केन्द्रबाट टुंगो लाग्नुपर्ने स्थानीय नेताहरू बताउँछन् । ‘प्रधानमन्त्री निकट र स्थानीयमा पनि राम्रो छवि भएकाले प्रकाशको सम्भावना बढी देखिन्छ,’ कांग्रेस सुदूरपश्चिम कमिटीका एक पदाधिकारीले भन्नुभयो, ‘तर उहाँले पहिलोपल्ट चुनाव लडेकाले सिनियर नेताहरूले चुनौती दिने पक्का छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाको स्वकीय सचिवसमेत रहिसक्नु भएका देउवा प्रदेशसभा सदस्यतर्फ कैलाली निर्वाचन क्षेत्र नम्बर ५ (ख) बाट निर्वाचित हुनुभएको हो । उहाँले कांग्रेस ठूलो दल रहेकाले सुदूरपश्चिम सरकारको नेतृत्वको दाबी गर्ने बताउनुभयो । आफूलाई पार्टीले जिम्मेवारी दिए संसदीय दलको नेताका रूपमा पछि नहट्ने उहाँल संकेत गर्नुभयो । ‘निर्वाचनको नतिजा आइसकेको र त्यसबाट कांग्रेस सबैभन्दा ठूलो दल बनेकाले सरकारको नेतृत्वका लागि हाम्रो दाबी रहन्छ,’ देउवाले हिमालय टाइम्ससँग भन्नुभयो, ‘तर, संसदीय दलको नेता कसलाई बनाउने भन्नेबारे हालसम्म कुनै छलफल भएको छैन । पार्टीले जिम्मेवारी दिए मैले पनि स्वीकर गर्नुपर्ने हुनसक्छ ।’

तर, निर्वाचनअघि डडेल्धुरामा भएको चुनावीसभाको प्रधानमन्त्री शेरबहादुर देउवाले अबको सुदूरपश्चिमको मुख्यमन्त्री माओवादी केन्द्रका सुदूरपश्चिम इञ्चार्ज खगराज भट्ट भएको सार्वजनिक रूपमै बताउनुभएका कारण सुदूरपश्चिम सरकारको नेतृत्व आफूहरूले पाउनुपर्ने माओवादी केन्द्रको पनि दाबी रहेको छ ।
सुदूरपश्चिम प्रदेशसभामा दोस्रो ठूलो दल बनेको नेकपा (माओवादी केन्द्र)को प्रत्यक्ष आठ र समानुपातिक तीन गरी ११ सिट रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?