काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आएसँगै सरकार गठनको ढोका खुलेको छ । निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेसँगै सरकार गठनको ढोका खुलेको हो । आयोगले आइतबार समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गरेको छ । यसअघि आयोगले निर्वाचन परिणाम सहितको प्रतिवेदन राष्ट्रपति र सबै प्रदेश प्रमुखलाई बुझाएको थियो । निर्वाचनको सम्पूर्ण परिणामसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्न आहृवान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको लागि प्रधानमन्त्रीमा दाबी पेस गर्न आहृवान गर्नुभएको हो ।
त्यसका लागि पुस १० गते साँझ ५ बजेसम्मको म्याद दिइएको छ । संविधानको धारा ७६ (१) अनुसार कुनै पनि दलले एकल बहुमत प्राप्त नगरेकोले धारा ७६(२) बमोजिम प्रधानमन्त्रीमा दाबी पेश गर्न आहृवान गरिएको हो । संविधानको धारा ७६ (२ मा प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ । राष्ट्रपतिको आहृवान र संविधानको व्यवस्थाअनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने व्यक्तिले प्रधानमन्त्रीमा दाबी गर्न सक्नेछन् । त्यसका लागि सांसदहरूले प्रतिनिधिसभाका कुल २७५ सदस्यमध्ये साधारण बहुमत अर्थात् १३८ जनाको समर्थन रहेको कुरा राष्ट्रपतिसमक्ष तोकिएको समयभित्र दाबी पेस गर्नुपर्नेछ । त्यस्तो प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ । त्यसरी राष्ट्रपतिबाट नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने छ ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कुनै पनि दलले बहुमत प्राप्त गरेका छैनन् । ८९ सिटसहित नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ भने नेकपा एमाले दोस्रो दल बनेको छ । ‘प्री इलेक्सन’ गठबन्धन गरेर चुनावमा गएका दलहरूले समेत बहुमत ल्याउन सकेनन् । सत्तारूढ गठबन्धन बहुमतनजिक छ । गठबन्धनलाई बहुमत पु¥याउन सहज भए पनि सरकारको नेतृत्व कसले गर्ने भन्ने टुंगिएको छैन । गठबन्धनभित्र कांग्रेस र नेकपा माओवादीले सरकारको नेतृत्व दाबी गरिरहेका छन् । हालको सत्ता गठबन्धन कायम रहेसम्म नेकपा एमालेलाई भने बहुमत जुटाउन सहज छैन ।
समानुपातिक तर्फबाट निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक तर्फबाट निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गरेको छ । आइतबार आयोगको केन्द्रीय कार्यालयमा प्रतिनिधिसभा र सातवटै प्रदेशसभाका सांसदलाई प्रमाणपत्र दिइएको हो । उनीहरूलाई निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । समानुपातिकबाट प्रतिनिधिसभामा ११० र प्रदेशसभामा २२० जना निर्वाचित भएका छन् । प्रतिनिधिसभामा समानुपातिकतर्फ एमालेबाट सबैभन्दा धेरै ३४, नेपाली कांग्रेसबाट ३२, माओवादी केन्द्रबाट १४, राष्ट्रिय स्वतन्त्र पार्टीबाट १३, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सात, जनता समाजवादी पार्टीबाट पाँच र जनमत पार्टीबाट पाँचजना निर्वाचित भएका छन् ।
नयाँ सरकार गठन हुने प्रक्रिया प्रारम्भ गर्न मार्गप्रशस्त : प्रमुख निर्वाचन आयुक्त थपलिया
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आम निर्वाचनको सम्पूर्ण काम पूरा भएको बताउनुभएको छ । आइतबार आयोगको केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उहाँले निर्वाचनको सम्पूर्ण परिणाम आइसकेकोले संसद्को अधिवेशन आहृवानका लागि मार्गप्रशस्त भएको बताउनुभयो । अब आयोगको काम राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारीतर्फ केन्द्रित हुने उहाँको भनाइ थियो । प्रमुख आयुक्त थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव आयोगको कार्यक्षेत्रभित्र पर्ने भएकाले संघीय र प्रदेश संसद् अधिवेशन सुरु भएपछि प्राविधिक तयारी गर्ने बताउनुभयो । फागुन दोस्रो सातासम्म हालका राष्ट्रपतिको कार्यकाल रहेकाले त्यस अगाडि आयोगले सबै काम पूरा गर्ने गरी अघि बढ्ने उहाँले जानकारी दिनुभयो ।
थपलियाले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न मार्गप्रशस्त भएको समेत बताउनुभयो । आयोगले निर्वाचित सबैलाई प्रमाणपत्रसमेत दिइसकेकाले नयाँ सरकार गठन हुने प्रक्रिया सुरु गर्न मार्गप्रशस्त भएको उहाँले बताउनुभयो । ‘अब दुवै सभाको सभा आहृवान गर्नको निम्ति मार्गप्रशस्त भएको छ । सभा आह्वान हुनासाथ स्वाभाविक रूपले शपथ हुनेछ,’ उहाँले भन्नुभयो, ‘नयाँ सरकार गठन हुने पनि प्रक्रिया प्रारम्भ गर्न मार्गप्रशस्त भइसकेको हुनाले हामी सबै प्रक्रियाहरू हेरेर उपयुक्त समयमा राष्ट्रपति तथा उपराष्ट्रपति पदको निर्वाचनको प्रक्रियालाई अगाडि बढाउँछौँ ।’ प्रमुख निर्वाचन आयुक्त थपलियाले गत निर्वाचनबाट सिकेको पाठलाई प्रयोग गर्दै आगामी निर्वाचनलाई व्यवस्थित बनाउनतर्फ आयोगले ध्यान दिने उल्लेख गर्नुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका