वामपन्थी सरकार बनाउने कुरा अल्मल्याउन मात्रै हो, गठबन्धनमा अहंकार भए सामना गर्न तयार छौँः अध्यक्ष नेपाल

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वामपन्थी सरकार बनाउने कुरा अल्मल्याउने कुरा मात्रै भएको बताउनुभएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालयमा भएको नवनिर्वाचित सांसदहरुलाई बधाई ज्ञापन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उहाँले कसैको पनि बहुमत नआएकाले कस्तो सरकार बन्छ भन्ने आम चासाको विषय भएको भन्दै अबको एक हप्तामा सरकार कस्तो बन्ने भन्ने थाहा हुने बताउनु भयो ।

अध्यक्ष नेपालले भएकाको विश्वास गुमाउने र हुँदै नभएको विश्वास गरेर घर न घाटको हुने गल्ती आफूले नगर्ने पनि बताउनु भयो । उहाँले आगामी सरकार गठबन्धनकै बन्ने आश गरेको पनि बताउनु भयो । अध्यक्ष नेपालले गठबन्धनका पार्टी र अरु नेताहरुमा अहंकार भए र उनीहरुलाई गठबन्धन नचाहिए त्यसको सामना गर्न पनि आफू तयार रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘कसैको पनि बहुमत नभएको हुनाले कस्तो सरकार बन्ला भन्नेकुरा चासोको विषय छ । कसैले गैर वामपन्थी सरकारको कुरा उठाउने गरेको छ, त्यो पनि खाली पुलावमात्रै हो । कसैले बामपन्थीको मात्रै सरकार बनाऔँ भनेर सोचिरहेको छ, अल्मल्याउने कुरा मात्रै हो । यस्ता कुरालाई हामी सहजै पत्याउन सक्दैनौँ । भएकाको विश्वास गुमाउने र हुँदै नभएको विश्वास गरेर घर न घाटको हुने गल्ती हामी गर्दैनौँ । त्यसैले हामी गठबन्धनलाई कायम राख्नेछौँ । गठबन्धनकै सरकार बन्ने आशा गरेका छौँ । गठबन्धनका पार्टी र अरु नेताहरुमा अहंकार छ भने उनीहरुलाई चाहिएको छैन भने जस्तो परिस्थिति आइलाग्छ, त्यसको सामना गर्न पनि हामी तयार छौँ ।’

अध्यक्ष नेपालले वर्तमान राजनीतिमा व्यापक रुपमा व्यक्तिवाद हाबी भएको बताउनु भयो । उहाँले आफूले पाएपछि सबै ठिक नपाए सबै बेठिक भन्ने परम्परा हाबी भएको भन्दै पद र पैसाले मानिसलाई भ्रष्ट बनाउँदै लगेको बताउनु भयो । उहाँले यसको बिरुद्धमा विशाल वैचारिक अभियान चलाउनुपर्ने बताउनु भयो । अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीलाई परित्याग गरेर जनताको विश्वास जित्न नसक्ने बताउनु भयो ।भ्रष्टीकरणबिरुद्धमा आफ्नो पार्टीभित्र शुद्धीकरणको अभियान, सदृढिकरण, रुपान्तरणको अभियान चलाउनुपर्ने बताउनु भयो । उहाँले नेताहरु राति हुन नपाइ मद्यपान गरेर बस्ने र बोली नै बिगारेर बोल्ने गरेको आफूले पाएको भन्दै जनताको काम गर्न लागिपर्न निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले नेपालको राजनीतिमा व्यापक रुपमा व्यक्तिवाद हाबी भएको छ । आफूले पाएपछि सबै ठिक नपाए सबै बेठिक भन्ने छ । व्यक्तिवादी प्रवृत्ति हाबी बनेको छ । पद र पैसाले मानिसलाई भ्रष्ट बनाउँदै लगेको छ । हामीले विशाल वैचारिक अभियान चलाउनुपर्नेछ । समाजवादको ध्येय र उद्देश्यबाट हामी किमार्थ विचलित हुन सक्दैनाँै । कम्युनिष्ट पार्टीलाई परित्याग गरेर जनताको विश्वास जित्न सक्दैनौँ । भ्रष्टीकरणबिरुद्धमा हाम्रो पार्टीभित्र शुद्धीकरणको अभियान, सदृढिकरण, रुपान्तरणको अभियान चलाउनुपर्नेछ । साँझ पर्न पाएको छैन, रक्सीमा झुम्म हुने, फोन गरेको छ, बोली नै चेन्ज हुने यस्ता चिजहरु अन्देखा गर्न सकिँदैन । जनताको पीरमर्का भन्दा होटलमा गएर मोजमस्ती गर्ने प्रवृत्तिहरु देखापरिरहेका छन् ।’

अध्यक्ष नेपालले अहिलेको निर्वाचनमा नेपाली राजनीतिमा दक्षिणपन्थी शक्तिहरुले आफ्नो शक्ति आर्जन गर्नु चुनौतिको विषय भएको बताउनु भयो । उहाँले गणतन्त्रका बिरुद्धमा राजतन्त्रलाई फेरि पुनः स्थापित गर्नेकुराको पक्षमा कुनै कदम नचाल्न चेतावनी दिनुभयो । उहाँले समस्या भन्ने भन्दा पनि त्यसको समाधान कसरी गर्ने भन्नेकुराको खोजि गर्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको यो सन्दर्भमा नेपाली राजनीतिमा दक्षिणपन्थी शक्तिहरुले आफ्नो शक्ति आर्जन गरेका छन्, यो शक्ति आर्जन गर्नेकुरा चुनौतिको विषय हो । गणतन्त्रका बिरुद्धमा राजतन्त्रलाई फेरि पुनः स्थापित गर्नेकुराको पक्षमा यदी कुनै खालको पनि कदम चालिन्छ भने त्यसका बिरुद्धमा दृढताकासाथ अग्रपंक्तिमा हामीले उभिनुपर्छ । २०६२,०६३ मा सहजै परिवर्तन भएको होइन । जनताको विश्वास लिएर हामीले अवस्था परिवर्तन गरेका हौँ । इतिहासलाई नबिर्सिनुहोस् हामी जिउँदै छौँ । समस्या के छन पहिचान गर्नुहोस्, समाधान खोज्नुहोस्, गुनासो मात्रै गर्नु हुँदैन ।’

अध्यक्ष नेपालले मुलुकमा भ्रष्टाचार व्याप्त भएको भन्दै भ्रष्टाचार गर्ने कोहीपनि नेतालाई पार्टीले छुट नदिने बताउनु भयो । उहाँले अहिले गठबन्धनकै भरमा चुनाव लडेको भन्दै सिट विभाजनमा आफ्नै गुनासा भएपनि निर्वाचनको आवश्यक समीक्षा गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालको राजनीति र कम्युनिष्ट आन्दोलनमा आफ्नो पार्टीको विशेष अर्थ भएको बताउनु भयो । उहाँले गठबन्ध्नमा अरु सबै पार्टीले नोक्शानी व्यहोरे पनि काँग्रेसले फाइदा लिएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?