धार्मिक गुठी स्वर्गद्वारीको ९५८ बिघा जमिन कब्जामा

विवेक खड्का दाङ, संवाददाता
Read Time = 4 mins

दाङ । धार्मिक गुठी स्वर्गद्वारी आश्रमको ९ सय ५८ बिघा जमिन कब्जामा छ । विभिन्न व्यक्तिले उक्त जमिन कब्जा गरेका हुन । सशस्त्र द्वन्द्व सुरु भएपछि आश्रमको जग्गा व्यक्तिले कब्जा गर्न थालेका थिए । सशस्त्र द्वन्द्वको समाप्ति पछि मुक्त गराउन प्रशासन र अदालत धाउँदासमेत फिर्ता भएको छैन । आश्रमले देउखुरीमा रहेको ९ सय ९८ मध्ये ४० बिघा मात्र उपभोग गर्न पाएको छ । कतिपय जग्गाको उब्जनी ०४५ सालदेखि नपाएको आश्रमले बताएको छ । कुन जग्गामा को बसेको भन्ने पनि आश्रमलाई थाहा छैन ।

लमही नगरपालिका–३, अर्नहवास्थित जग्गामा सबैभन्दा बढी जबर्जस्ती भएको छ । त्यहाँको ४० बिघा जग्गामा ८५ मोही थिए । आश्रमका नाममा ९ सय ९८ बिघा ४ कट्ठा ७ धुर जग्गा छ । त्यसमा २ सय ८९ मोही छन् । ७ सय ७६ बिघा ७ कट्ठामा मोही लागेको छ । ३ सय ६७ बिघामा मोही छैन । दाङका अलावा आश्रमको नाममा प्यूठानको खालमा २८ हजार ६ सय ७० रोपनी जंगल क्षेत्र छ । प्यूठानकै अरङ खोला क्षेत्रमा १ सय ५५ रोपनी खेतीयोग्य जमिन छ । रोल्पाको रुन्टीमा १३ रोपनी छ । यीमध्ये रोल्पा र प्यूठानको जग्गामा समस्या नभए पनि दाङको जग्गा कागजमा मात्रै छ । आश्रमले उपयोग गर्न पाएको छैन ।

दाङको टरिगाउँमा ७२ बिघा ७ कट्ठा साढे १० धुर जग्गा छ, जसमा १७ मोही छन । सौंडियारमा ९५ बिघा ४ कट्ठा १९ धुर जग्गामा ४९ मोही छन् । रामपुरमा १ सय ७६ बिघा १२ कट्ठा २ धुर जग्गामा ८७ मोही छन् । लमहीको चैलाहीमा ३ सय ७४ बिघा ७ कट्ठा १६ धुर जग्गामा ८५ मोही छन । लमहीको सतबरियामा ९४ बिघा ९ कट्ठा १० धुर जग्गामा १७ माही छन । घोराहीको ढोडेनी र झिंगौरामा १ सय ८५ बिघा २ कट्ठा १० धुर जग्गा छ, जसमा ३४मोही छन । आश्रमको जग्गामा मोही लागेका किसानको संख्या २ सय ८९ छ, तर जग्गा कब्जा गर्नेहरू ८ सयभन्दा बढी छन् । मोहीले पनि आयस्ता तिर्ने गरेका छैनन ।

घोराही–१४, झिंगौरास्थित ९० बिघा जग्गामा पनि मनपरी छ । केहीले मोहीका नाममा, केहीले व्यवसाय गर्ने नाममा जग्गामा ठूला संरचना बनाइरहेका छन । केही जग्गामा संरचना बनाएर व्यापारिक प्रयोजनका लागि भाडामा दिने भनेर घोराही उपमहानगरपालिकाले जिम्मा लिए पनि आश्रमले केही पाउन सकेको छैन । प्यूठानको खालस्थित स्वर्गद्वारी मन्दिर राप्ती अञ्चलकै चर्चित धार्मिक तथा पर्यटकीय क्षेत्र हो । मन्दिरमा बर्सेनि देशका विभिन्न जिल्लाका साथै भारतबाट समेत तीर्थयात्रु आउँछन्। आम्दानीको स्रोत बन्द भएपछि तीर्थयात्रुको बसोबासमा समेत समस्या हुन थालेको छ । धर्मशाला र गौशाला निर्माणको योजना भए पनि आर्थिक अभावमा अलपत्र परेको आश्रमले जनाएको छ । सरकारले आश्रमको सम्पत्ति सुरक्षामा ध्यान नदिँदा मनपरी बढदै गएको आश्रमको गुनासो छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?