स्वास्थ्य शिविरबाट १६ सय बढी लाभान्वित

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । गुल्मीको एक स्थानीय तहले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १६ सय बढी लाभान्वित भएका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिकाले सञ्चालन गरेको दुईदिने निःशुल्क स्वास्थ्य शिविरबाट १६ सय २३ जना लाभान्वित भएका हुन् । शिविरमा ११ सय ६ महिला र पुरुष ५१७ जनाले सेवा लिएका थिए ।

शिविरका लागि गाउँपालिकाले तीन लाख विनियोजन गरेको थियो । साथै, स्वास्थ्य कार्यालय, गुल्मीको पनि प्राविधिक सहयोग रहेको थियो । दुईदिने शिविरमा मुटु, गाइनो, आँखा, मिर्गाैला, पाठेघर जाँचलगायत रोगको जाँच गरिएको गाउँपालिकाका सूचना अधिकारी शिव ज्ञवालीले जानकारी दिनुभयो ।

सेवा लिनका लागि गाउँपालिकाका सबै वडाका र छिमेकी जिल्ला बागलुङको बरेंगलगायतका पालिकाबाट समेत नागरिकहरू सेवा लिन यहाँ आएका थिए । शिविरबाट बिरामीहरूले निःशुल्क औषधि प्राप्त गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार नै स्वास्थ्य शिविरको आयोजना गरिएको अध्यक्ष युवराज केसीले बताउनुभयो । नीति तथा कार्यक्रम बनाएर अहिले त्यसैलाई कार्यान्वयन गरिएको उहाँले बताउनुभयो । नागरिकको आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गर्न नागरिकको स्वास्थ्यप्रतिको जिम्मेवारी वहन गर्दै निःशुल्क स्वास्थ्य परीक्षण शिविर आयोजना गरिएको उहाँको भनाइ छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?