किसुनजी र उहाँको शालिक स्थापनाको सन्दर्भ

नेपाली साहित्यका चर्चित व्यंग्यकार चट्याङ मास्टर अर्थात् कृष्णमुरारी गौतमले आन्दोलनमा सँगै थिए दुईजना साथी तर तीमध्ये एउटालाई गोली लागेर शालिक भयो र अर्को बाँच्यो अनि अहिले व्यवस्थाको मालिक भयो भन्ने आसयको मुक्तक जस्तै अवस्था किसुनजी अर्थात् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईमा पनि देख्न सकिन्छ । हुन त उहाँ गौतमको मुक्तकमा भनेझैँ त्यसरी गोली खाएर बित्नु भएको होइन तर उहाँले नेपालको राजनीतिमा अनेकौं अकल्पनीय हन्डर र ठक्कर खानु परेको थियो जो गोली खाएको पीडाभन्दा कम छैनन् । एकजना अध्यात्मवादी चिन्तक भट्टराईमा वास्तवमा राजनीतिकभन्दा चिन्तक व्यक्तित्व नै बढी पाइन्थ्यो । अध्यात्मवादीहरूलाई आफ्नो जयपराजयले कुनै फरक पार्दैन । सानो खुशीले उत्तेजित पार्ने र सानोमात्र दुःखले दुखित हुने दूरगुण सन्तहरूमा हुँदैनन् ।

जीवनका सम्पूर्ण समय राजनीतिमा बिताए तापनि वास्तवमा सन्तहरूमा हुने यस्ता गुणहरू उहाँमा विद्यमान थिए । त्यसैले २०४८ सालको प्रतिनिधिसभाको निर्वाचनमा नेपालका पूर्वपञ्च, दरबार, सम्पूर्ण कम्युनिष्ट शक्ति, उहाँको आफ्नै पार्टी, विदेशी शक्ति सबैलाग्दा पनि उहाँले केही मतले मात्र पराजित बन्नु परेको थियो । नेपाली कांग्रेसकै उहाँका समकालीनहरूले हृवारहृवार्ती सूर्यमा मत हालेर आफ्नै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीलाई हराएका कारण नेपालीहरूले भरोसा गर्नसक्ने एकमात्र पार्टी त्यही समयदेखि अधोगतिको मार्गतर्फ लाग्यो र क्रमशः त्यही मार्ग अवलम्बन गर्दै हाल प्रजापरिषद्कै अवस्थातिर लम्किरहेको छ । आफूमाथि त्यसरी घात गरेर हराउँदा पनि उहाँले कसैलाई केही दोष दिनुभएन र ‘भगवानको यही इच्छा रहेछ’ मात्र भन्नु भएको थियो ।

वास्तविक सन्तमा हुने एउटा विलक्षण क्षमता हो उहाँको त्यो क्षमता । नौजना जर्नेलले उहाँको अन्तरिम प्रधानमन्त्रित्वकालमा प्रधानमन्त्री क्वार्टरमा हातहतियारसहित गई उहाँलाई दबाब दिएर संविधानमा राजाको अधिकार बढाउन माग गर्दा उहाँले हाँसेर महाराजधिराजसँग मै कुरा गरौँला नि हजुरहरूले किन बेकार यो दुःख गर्नुभएको ? भनेर तिनीहरूलाई नाजवाफ बनाउनुभएको थियो । त्यस्तो अद्भूत सामथ्र्य उहाँबाहेक अरूमा थिएन । त्यस्ता लक्षण उहाँमा पहिले नै देखेर विश्वेश्वरप्रसाद कोइरालाले उहाँलाई पार्टीको कार्यबहाक सभापति बनाउनुभएको थियो । श्रीभद्र शर्मा र परशुराम चौधरीहरूले यही कारणले आफूले पार्टी छोड्ने धम्की दिँदा बीपीले तपाईंहरूले पार्टी छोडे केही फरक पर्दैन भट्टराईजीले तपाईंहरू जस्ता नेता उत्पादन गर्नुहुन्छ भन्नुभएको थियो ।

किसुनजी प्रजातन्त्र पुनःस्थापनापछि आफू अन्तरिम प्रधानमन्त्री भएर २०४७ सालको संविधान ल्याउन र आमनिर्वाचन गराउन सफल बनेको कुरा नेपालको इतिहासमा कहिल्यै मेटाउन नसकिने सन्दर्भ हुन् । भगवान शिवले हलाहल विष पिएर संसार बचाए जसरी नै आपूmले अनन्त अपमान, तिरष्कारहरू सहेर पनि पार्टी र देशका लागि काम गर्नुभयो । उहाँलाई आफूलाई ठेलेर भित्तैसम्म पुर्‍याउनेहरूले नै २०५६ सालको आमनिर्वाचनमा उहाँको नामको प्रधानमन्त्रीको कार्ड फालेर आफ्नो रसातलमा पुग्नै लागेको साख जोगाउनु पर्‍यो तर त्यसको केही समयपछि नै पुनः उहाँमाथिका अनेकौं प्रहार सुरु भइहाले । परिणाममा अहिले नेपाली कांग्रेस कस्तो अवस्थान छ त्यही हेरे पुगिहाल्छ । सन्त नेता भट्टराईको नाम मेलम्ची खानेपानी आयोजनासँग जोडिएर आउने गरेको छ । बद्नाम गर्नेहरूका लागि उक्त सन्दर्भ पर्याप्त छ ।

अहिलेसम्म यो प्रसंग जोडेर उहाँलाई उपहास गर्ने काम भइरहेकै छ । उहाँको प्रशंसा गर्नेहरूका लागि त यो सन्दर्भ पर्याप्त छँदैछ । प्रजातन्त्र प्राप्तिपछि लगत्तै काठमाडौंको खुला मञ्चमा आमसमुदायलाई सम्बोधन गर्ने क्रममा उहाँले अब खुला परिवेशमा नेपालीलाई सहयोग गर्न चाहनेहरू धेरै हुन सक्छन् । पश्चिमा शक्तिहरू यसका लागि लालयित छन् । अब छिट्टै मेलम्ची खानेपानी आयोजना सुरु हुन लागेको छ, त्यसमा सहयोग गर्नेहरू पनि तयार छन् । त्यहाँको पानी आएपछि यहाँ पिउने पानीको समस्या समाधान हुनेमात्र होइन यहाँका सडक पखाल्नसमेत पुग्नेछ भन्नुभएको थियो । उहाँको यस भनाइलाई उपेक्षभावले हेर्ने र उपहास गर्ने मौका विपक्षीले बनाउँदै आए ।

यस आयोेजनाको काम निरन्तर भएको भए धेरै वर्षअगाडि नै काठमाडौंमा पानी आइसकेको हुन्थ्यो तर अनेकौं पार्टी र व्यक्तिका अनेकौं स्वार्थ जोडिएकाले परियोजना समयमा सम्पन्न हुन सकेन । जे होस् ढिलै भए पनि मेचम्ची खानेपानी आयोजना पूरा भई त्यहाँको पानी काठमाडौं उपत्यकामा आउने भएको छ । सुन्दरीजलस्थित सुरुङस्थलमा सन्तनेता यस आयोजनाका परिकल्पनाकार पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराईको शालिक निर्माण भई सम्माननीय प्रधानमन्त्रीबाट यसको अनावरण भएको छ, यो एउटा प्रशंसनीय कार्य हो, यसले सन्तनेता भट्टराईलाई सम्झाउने छ र यो कार्य उहाँलाई अमर बनाउने कार्यमध्ये एक हुनेछ । यसका लागि सरकार धन्यवादको पात्र बनेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?