बैतडी शिक्षक मृत्यु प्रकरणः हत्या भएको भन्दै राजमार्ग अवरुद्ध

फाइल तस्बिर

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 4 mins

बैतडी । बैतडीको पाटन नगरपालिका-६ स्थित कृष्ण माविमा अध्यापन गराउदै आउनु भएका शिक्षक धनबहादुर बिष्टको मृत्यु नभएर हत्या भएको भन्दै उनका आफन्तले ठाउँ ठाउँमा दशरथचन्द राजमार्ग अवरुद्ध पारेका छन् । विद्यार्थीहरुले शिक्षक बिष्ट मृत्यु प्रकरणमा दोषी पत्ता लगाइ निष्पक्ष छानबीनको माग गर्दै सतबाँझ, ठाँड, पाटन लगायतका क्षेत्रमा सडक अवरुद्ध पारेका छन् ।

सुर्नया गाउँपालिका-२ ग्वानी घर भएका शिक्षक धनबहादुर बिष्ट गएको शनिबार मृत अवस्थामा फेला परेका थिए । सतबाँझ क्षेत्रमा उनका गाउँले र विद्यार्थीहरुले सडक अवरुद्ध गरेका छन् । सडकमा टायर बालेर सडक अवरुद्ध पारिएको छ ।

यसैगरी प्रशासनलाई मृतक शिक्षकका आफन्तले आजसम्मको मौखिक अल्टिमेटम दिएका छन् । आज दिउँसोसम्म ठोस अनुसन्धान गरी चित्त बुझ्दो जवाफ नआएमा आन्दोलन चर्काइने बताएका छन् ।

शिक्षक बिष्टको मृत्यु भएको ४ दिन भइसक्दा पनि आफन्तले शव बुझ्न मानेका छैनन । मृत्यु भएको ४ दिनसम्म पनि मृत्यु प्रकरणको कुनै ठोस जवाफ नआएको भन्दै आफन्तले शव समेत बुझेका छैनन् । मृतक शिक्षक बिष्टको शव पाटन प्राथमिक स्वास्थ्य केन्द्रको शव गृहमा राखिएको छ । शिक्षक बिष्टका आफन्तले हत्या गरिएको र ठोस अनुसन्धान नभएसम्म शव नबुझ्ने अडान राखेका छन् ।

शिक्षक बिष्टको शरिरमा चोट देखिएका कारण हत्या भएको आसंका गरिएको छ । अनुहारमा चोट देखिएको छ भने दाँत र नाक भाचिएको छ, छातीमा समेत चोट रहेकाले उनको हत्या नै भएको आफन्त लोकेन्द्र बिष्टले बताउनुभयो । शरिरको अगाडी पट्टीमात्रै चोट रहेकाले यो हत्या गरिएको सहजै भन्न सकिने उहाँको दाबी छ । शिक्षक मृत्यु प्रकरणमा हत्याको आशंका ब्यक्त गर्दै बिभिन्न शिक्षक संगठनहरुले समेत आन्दोलनको तयारी थालेका छन् । नगरपालिकाका सबै बिद्यालय आज बन्द गरिएको छ ।

घटनाबारे अनुसन्धान भइरहको प्रहरीले जनाएको छ । मृतक बिष्टको शरिरको अगाडी पट्टी घाउँ देखिनुमा मृत्यु भइसकेपछि लामो समयसम्म शव एकै ठाँउमा भएकाले घाउँ देखिएको हुनसक्ने अनुसन्धानमा खटिएका प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।

शनिबार दिउसो कृष्ण माविका छात्रबास रहेको ठाउँबाट अन्ताजी ३० मिटर तल शिक्षक बिष्ट मृत फेला परेका थिए । सुर्नया गाउँपालिका-२ ग्वानी घर भएका शिक्षक बिष्ट २०४८ साल देखि कृष्ण माविमा अध्यापन गराउदै आएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?