कांग्रेस संसदीय दलको निर्वाचन आज, सभापति देउवा कि महामन्त्री थापा ?

अनिल क्षेत्री
Read Time = 15 mins

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुँदै छ । पार्टी सभापति देउवा र महामन्त्री थापाले संसदीय दलको नेताका लागि मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको थियो । दलको नेताका लागि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता समय तोकिएको थियो ।

सभापति देउवाको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति पूर्णबहादुर खड्का समर्थक बस्नुभएको छ । १३औँ महाधिवेशनमा देउवासँगै पार्टीको सभापतिका प्रत्यासी रहनुभएका पौडेल १४औँ महाधिवेशनमा संस्थापनइतर समूहको साझा उम्मेदवार बन्न नसकेपछि मतदान नै गर्नुभएन । पौडेल त्यही बेलादेखि देउवासँग नजिकिनुभएको थियो । यसअघि आफैँ प्रधानमन्त्रीको दाबेदार रहेको भन्दै आउनुभएका पौडेलले संसदीय दलको नेताको निर्वाचनमा भने सभापति देउवाको प्रस्तावक बन्नुभएको छ । सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालय पुग्नुभएका पौडेलले भन्नुभयो, ‘अहिलेको असहज परिस्थितिमा नेपाली कांग्रेसभित्र विश्वासको वातावरण बनाउन आवश्यकता भएकाले मैले पार्टी सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेतामा प्रस्ताव गर्ने भएको छु । पार्टी सभापतिलाई संसदीय दलको नेतामा सर्वसम्मति चयन गर्न सबैलाई आग्रह गर्दछु ।’

महामन्त्री थापाको उम्मेदवारीमा कांग्रेसमा संस्थापन इतरको प्रतिनिधित्व गर्दै आउनुभएका नेता डा.शेखर कोइराला प्रस्तावक बस्नुभएको छ । थापालाई उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेलले समर्थन गर्नुभएको छ । कांग्रेस संसदीय दलको नेताको लागि आज बिहान ८ बजेदेखि १० बजेसम्म मतदान हुँदै छ । संसदीय दलको नेता चयनमा कांग्रेसबाट निर्वाचित भएका सांसदहरू मतदाता हुन्छन् । यसपटक ८९ जना सांसद छन् । संसदीय दलको विधानबमोजिम निर्वाचित हुन ५० प्रतिशत मत कटाउनैपर्ने हुन्छ । यसअनुसार संसदीय दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ । कांग्रेसमा संसदीय दलको नेता जो बन्छ, उही सरकारको प्रधानमन्त्री बन्ने अभ्यास छ ।

कोइराला र गगनबीच सर्तसहित सम्झौता
महामन्त्री थापाले चुनाव अगावै संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने घोषणा गरे पनि कोइरालाले भने चुनावपछि मात्र आफैँ उम्मेदवार बन्न गृहकार्य गर्नुभएको थियो । तर, इतर समूहका नेता डा.शेखर कोइरालाले उम्मेदवारी मनोनयनको केही घण्टा अघि मात्रै संसदीय दलको नेतामा थापालाई अघि सार्ने निर्णय गर्नुभएको छ । गतवर्ष पार्टी महाधिवेशनमा रूपान्तरण र पुस्तान्तरणको एजेण्डासहित देउवाविरुद्व कोइराला र थापा एकै ठाउँमा उभिनुभएको थियो । इतर समूहका नेताहरूका अनुसार कोइरालाले सर्तसहित थापालाई संसदीय दलको नेताको उम्मेदवार प्रस्ताव गर्नुभएको हो । यसअघि कोइराला आफँै संसदीय दलको नेतामा लड्ने गृहकार्य गरिरहनु भएको थियो । चुनाव अगावै देउवाविरुद्व संसदीय दलको नेतामा चुनाव लड्ने घोषणा गर्नुभएका महामन्त्री थापा र टिमको नेताको हिसाबले आफैँ चुनाव लड्न चाहेका कोइरालाबीच पटक-पटक संवाद भए पनि सहमति हुन सकेको थिएन । तर, इतर पक्षका नेताहरू उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे, नेता मीनेन्द्र रिजाल लगायतका नेताहरूले अथक प्रयास गरेपछि मात्रै दलको नेताको उम्मेदवारको लागि सहमति जुटेको हो । कोइरालाले आगामी महाधिवेशनमा आफूलाई सभापतिको उम्मेदवार बनाउने सर्तमा थापालाई संसदीय दलको नेताको लागि उम्मेदवार बन्न सहमति दिनुभएको हो ।

कोइरालाले आफैँ चुनाव लड्दा महामन्त्री थापाले नसघाउने र टिम फुटेर झन् कमजोर हुने भयले यस्तो सर्तसहितको सम्झौता गरेको इतर समूहका नेताहरूको भनाइ छ । मंगलबार अनामनगरस्थित एक होटलमा बसेको कोइराला समूहको बैठकमा नेता कोइरालाले महाधिवेशनमै आफूहरू रूपान्तरण र पुस्तान्तरणको पक्षमा उभिएको भन्दै त्यही उद्देश्यले यसपटक संसदीय दलको चुनावमा महामन्त्री थापालाई उम्मेदवार बनाएको घोषणा गर्नुभएको थियो । कोइरालाको प्रस्तावमा उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्माले समर्थन गर्नुभएको थियो । गगन-शेखर समूहका नेता एवं नवनिर्वाचित सांसद डा.सुनिल शर्माले बैठकमा महामन्त्री गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा डा.शेखरलाई सभापति प्रस्ताव गर्ने घोषणा गर्नुभएको जानकारी दिनुभयो । कोइरालाको निर्णयले कांग्रेसको संस्थापनइतर समूह फेरि एकपटक विभाजन हुनबाट जोगिएको छ ।

मंगलबार इतर समूहको बैठकमा पुगेर अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि बदलिएको परिस्थिति र समयलाई मध्यनजर गर्दै थापालाई संसदीय दलको नेता बनाउन आहृवान गर्दै भन्नुभएको थियो, ‘बदलिएको समय र सोचबमोजिम कांग्रेसलाई रूपान्तरणको बाटोमा लैजाने खुड्किलोका रूपमा महसुस गर्नुभएको छ भन्ने लागेको छ । आशा राखौँ, उम्मेदवारी दर्ताको क्षणसम्म पुग्दा सभापति शेरबहादुर देउवाले पनि शेखर कोइरालाले झैँ वैकल्पिक कुनै नेतृत्वको नाम प्रस्तावित गर्नुहुनेछ । स्वस्थ लोकतान्त्रिक अभ्यासपछि हामी एकढिक्का उभिएर अघि बढ्नेछौँ ।’

पुस्तान्तरणसहित रूपान्तरणको पक्षमा रहेकाले गगनलाई प्रस्ताव गरेँ : कोइराला
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पुस्तान्तरणसहित पार्टी रूपान्तरणको पक्षमा रहेकाले संसदीय दलको नेताको उम्मेदवारमा गगन थापालाई प्रस्ताव गरेको बताउनुभएको छ । होटेल बसेरामा बसेको आफू पक्षीय सांसदहरूको बैठकलाई सम्बोधन गर्दै कोइरालाले भन्नुभयो, ‘पुस्तान्तरणसहित पार्टी रूपान्तरणको पक्षमा छु । महाधिवेशनमा यही मुद्दासहित प्रतिस्पर्धा गरेका थियौँ । म गगन माननीयलाई संसदीय दलको उम्मेदवारको लागि प्रस्ताव गर्दछु ।’

इतर समूहको यो निर्णयसँगै संसदीय दलको नेतामा सभापति देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो । पाँचौँपटक प्रधानमन्त्री रहनुभएका देउवा छैटौँपटक प्रधानमन्त्री बन्न पार्टीको संसदीय दलको नेताको चुनाव लड्दै हुनुहुन्छ । महामन्त्री थापा भने पहिलोपटक संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । ४६ वर्षे थापा देउवाभन्दा ३० वर्ष कान्छो हुनुहुन्छ । महाधिवेशनमा पुस्तान्तरण र रूपान्तरणको पक्षमा जनमत लिएर लोकप्रिय मतसहित महामन्त्री बन्नुभएका थापाले ६ महिना अघिदेखि नै मुलुकको कार्यकारी प्रधानमन्त्री भएर गर्नुपर्ने कामबारे छलफल, परामर्श र पूर्वतयारी गर्नुभएको थियो । देउवा र थापा बीचको प्रतिस्पर्धाले पार्टी र राष्ट्रिय राजनीतिमा परिवर्तन चाहने र परिवर्तन नचाहनेहरूको ध्रुवीकरण हुने देखिएको छ ।

उम्मेदवारी फिर्ता लिने ऐतिहासिक निर्णय गर्न थापाको आग्रह
नेपाली कांग्रेस संसदीय दलको नेताका उम्मेदवार पार्टी महामन्त्री गगन थापाले उम्मदेवारी फिर्ता लिन सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ । सिंहदरबारस्थित दलको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेपछि महामन्त्री थापाले आफ्ना प्रस्तावक र समर्थक नेताहरूलाई धन्यवाद दिनुभयो । महामन्त्री थापाले शान्त मनले सोच्न र आफ्नो उम्मेदवारी फिर्ता लिने ऐतिहासिक निर्णय लिन सभापति देउवालाई आग्रह गर्दै भन्नुभयो, ‘वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि कांग्रेसको भविष्यप्रति चिन्ता गरेर परिवर्तनको सन्देश मनन गर्न आग्रह गर्दछु ।’ कांग्रेसका सांसदहरूलाई जनमतको सम्मान गर्न र परिवर्तनको पक्षमा उभ्याउन महामन्त्री थापाको आग्रह छ ।

इतर समूहको बैठकमा विश्वप्रकाशलाई ताली बजाएर स्वागत

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा पनि पहिलोपटक कांग्रेसको संस्थापन इतर गगन थापा र डा.शेखर कोइराला पक्षको बैठकमा सहभागी हुनुभएको छ । हनुमानस्थानस्थित होटेल बसेरामा थापा र कोइराला पक्षका सांसदहरूको बैठक बसिरहेको बेला शर्मा पुग्नुभएको थियो । शर्मा बैठक हलमा प्रवेश गर्दा सहभागीहरूले ताली बजाएर स्वागत गरेका थिए । इतर पक्षका नेता अर्जुननरसिंह केसी बैठक हलबाहिर गएर विश्वप्रकाशको हात समातेर बैठक कक्षमा प्रवेश गराउनुभएको थियो । यसअघि मंगलबार बिहान लाजिम्पाटस्थित होटल एम्बास्डरमा बसेको बैठकमा भने महामन्त्री शर्मा सहभागी हुनुभएको थिएन ।

प्रधानमन्त्रीको रेसबाट रामचन्द्र आउट

नेपाली कांग्रेसमा प्रधानमन्त्रीको रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल बाहिरिनुभएको छ । यसअघि पौडेलले सभापति देउवासँगै डा.शेखर र महामन्त्री गगन थापाले प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्ने बताउँदै आउनुभएको थियो । त्यसका लागि पौडेलले पछिल्लो समय राजनीतिक भेटवार्ता र संवादलाई तीव्रता दिनुभएको थियो । नेताहरूबीच भएको पछिल्लो सहमतिअनुसार कांग्रेस संसदीय दलको नेताका लागि नै पौडेल प्रतिस्पर्धामा नआउने भएपछि प्रधानमन्त्रीको रेसबाट पनि बाहिरिनुभएको छ । कांग्रेसमा दलको विधानअनुसार दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था छ ।

गगनलाई प्रदीप पौडेलको पनि साथ

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल पनि महामन्त्री गगन थापाको पक्षमा खुल्नुभएको छ । पौडेल नेपाली कांग्रेस संसदीय दलको नेताको चुनावमा थापाको समर्थक बन्नुभएको छ । कृष्ण सिटौलानिकट पौडेल गत महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार हुनुभएको थियो । प्रतिनिधिसभामा काठमाडौं ५ बाट चुनाव जितेलगत्तै पौडेललाई गगन पक्षका नेताहरूले समर्थनमा खुल्न आग्रह गर्दै आएका थिए । तर, पौडेल मौन बस्दै आउनुभएको थियो । संसदीय दलको नेतामा उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन भने पौडेल शेखर कोइराला र गगन थापाको पक्षमा खुल्नुभएको हो । पौडेल आफ्नो पक्षमा खुलेपछि समर्थक बनाएर थापाले संसदीय दलको नेतामा मनोनयन दर्ता गर्नुभयो । यस्तै, पूर्वमहामन्त्री डा. शशांक कोइराला पक्षका नेता दीपक गिरीले पनि गगन थापालाई समर्थन गर्ने बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?