आजबाट राजनीतिमा अर्को फड्को, स्थायित्वको आधार हुन्छ कि अराजकताको ?

प्रा. पुरुषोत्तम दाहाल
Read Time = 14 mins

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयन हुने क्रममा आगामी नेतृत्वबारे अनेक प्रश्नहरू उठिरहेका छन् । एक प्रकारले अरू राजनीतिक दल र आम नागरिकले पनि अत्यन्त चासोका साथ नेपाली कांग्रेस भित्रको राजनीतिक पाटोलाई चियाइरहेको अवस्था छ । कम्युनिष्ट पार्टीको संसदीय दलको नेतृत्व पार्टीले नै चयन गर्ने हुनाले सजिलोसँग निर्णय भएको छ । एमालेमा ओली, माओवादीमा प्रचण्ड समाजवादीमा नेपाल र अरू दलमा पनि बिना निर्वाचन दलको नेतृत्व चयन भएको छ । लोकतान्त्रिक दल भएका कारण नेपाली कांग्रेसमा भने निर्वाचन र प्रतिस्पर्र्धामार्फत संसदीय दलको नेतृत्व चयन स्वाभाविक प्रक्रिया मानिन्छ । तर, यस्तो प्रतिस्पर्धाका अनेक दुष्परिणामहरू पनि हुन्छन् ।

(१) अन्तरविरोधको दुष्परिणाम :
नेपालको लोकतान्त्रिक आन्दोलनको मूल मियो नेपाली कांग्रेस भित्रको अन्तरविरोध, सहमति वा असहमतिकै परिणाम नेपाली जनताले पटकपटक लोकतन्त्रविरोधी तागतको सामना गर्दै चरम यातनाको सिकार हुनु परेको छ । अरू केही राजनीतिक शक्तिको महत्वाकांक्षा र नेपालसँग जोडिएका खास अन्तर्निहित स्वार्थहरूको खेल पनि यसमा मिसिएको सबैलाई थाहा छ । तर, पनि विगत ३२ वर्षको लोकतान्त्रिक परिवर्तनको उतार चढावलाई मात्रै अध्ययन गर्ने हो भने नेपाली कांग्रेस भित्रको नेतृत्वमा रहनेहरूको वा पुग्नेहरूको तीव्र राजनीतिक महत्वाकांक्षा र निरंकुश सोचको परिणतिले देश अस्तव्यस्त भएको छ ।

पुस्तान्तरण र पुस्ता हस्तान्तरणको विषय चर्किएसँगै कांग्रेस आयामिक मोडमा पुग्न लागेको छ । निश्चित उमेर कटेका खास गरी विगतमा अत्यन्त दुःख, कष्ट गरेका लोकतान्त्रिक आन्दोलनका महायात्रीहरूलाई अपमानित गर्दै पुस्तान्तरण र पुस्ता हस्तान्तरणको चर्को बहस बाबुआमा मारेर अंश खोज्ने सन्तानको जस्तो देखिएको छ । पुरानै प्रवृत्ति र सोचको लिगेसी बोक्नेहरूले अनुहार परिवर्तनलाई पुस्तान्तरणको नारामा यतिखेर प्रतिष्ठा र अहंकारको विषय बनाइरहेको देखिन्छ । ००७ देखि नै लोकतन्त्रका लागि अर्को कुनै लोकतान्त्रिक दल नेपाली कांग्रेसको विकल्प हुन नसकेका कारण पार्टीको नेतृत्व वा सरकारको नेतृत्व गर्नेहरू जति निरंकुश भए त्यति नै र त्योभन्दा बढी पुस्तान्तरणको बहस गर्नेहरू अराजक हुने अवस्था देखिएको छ । निरंकुशता र अराजकताको खेलमा नेपाली कांग्रेस क्रमशः क्षयीकरण हुँदै जाने र लोकतन्त्रको विकल्प वैज्ञानिक समाजवाद वा राजसंस्थाको पुनरोदयका नाममा अरू शक्तिको उदय हुने ढोका खुल्ने सम्भावना देखिँदै छ ।

(२) अहिलेको सतह दृश्य :
यतिखेर निर्वाचन परिणामलाई सम्मान गर्दै अरू दलसँगसमेत सहकार्य गरी आजको परिवर्तनको रक्षा र विकास गर्ने समय थियो । तर, अब त्यो कांग्रेस भित्रकै कलहले सुदूर हुँदै गएको छ । निर्वाचन सम्पन्न गरी संयुक्त गठबन्धनलाई निरन्तर नेतृत्व दिन सफल पार्टी सभापति देउवाको विकल्पमा अर्को नेतृत्व प्रतिस्थापनभन्दा पनि अन्तरविरोध र प्रतिपक्षको विकास गर्ने उद्देश्य प्रेरित देखिएको छ । यसले गर्दा गठबन्धनलाई कांग्रेसकै नेतृत्व दिनुपर्ने भएमा पनि अरू सहयोगी दलहरूको बार्गेनिङ क्षमता बढ्ने निश्चित छ ।

हिजोका दिनमा लामो समयदेखि नेपाली कांग्रेसमा प्रतिस्पर्धामा रहनुभएका रामचन्द्र पौडेलले संसदीय दलको नेतृत्वका लागि वर्तमान प्रधानमन्त्रीको प्रस्ताव गरेर नेपाली कांग्रेस अझै पनि परिपक्व छ भनेर पुष्टि गर्ने काम गर्नुभएको छ । हिजोका दिनमा गिरिजाप्रसाद कोइरालाविरुद्ध विकल्प खडा गर्ने प्रयासस्वरूप शेरबहादुर देउवाको राजनीतिक विकास भएको थियो । त्यही अनुकरण गर्दै एकपछि अर्को सिँढी चढ्ने र अर्को कुनै समयमा नेतृत्व कब्जा गर्ने रणनीतिक मनोविज्ञानको अत्यन्त सतही नारामा पौडेल झुक्किनुभएन । अब नेपाली कांग्रेसको नेतृत्व परिपक्वतापूर्ण निर्णय गर्नुभएका पौडेललाई राष्ट्रपतिमा प्रस्ताव गर्नु बुद्धिमानी हुनेछ । कमसेकम उहाँबाट लोकतान्त्रिक मर्यादा स्थापित गर्न सहयोग पुग्ने विश्वास सबैले गर्न सक्छन् । लोकतान्त्रिक आन्दोलनप्रति उहाँको निष्ठाको उचित सम्मान पनि हुनेछ । यसबारे नेपाली कांग्रेसले अरू सहयोगी दलसँगसमेत सम्वाद र सहमतिको प्रयास गर्नुपर्छ ।

(३) सहमतिको रणनीतिक आवश्यकता :
राष्ट्रपति र सभामुखमा सहयोगी दललाई आफ्ना पक्षमा मनाउन सकेमा नेपाली कांग्रेसले पहिलो चरणमा प्रधानमन्त्रीका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहालमा सहमति जनाउने वातावरण तयार गर्नु आवश्यक छ । तर, देउवा संसदीय दलको नेतृत्व चयन हुनसके मात्रै संयुक्त सरकारको वर्तमान लोकतान्त्रिक वाम गठबन्धन वा अर्को विकल्पमा समेत नेपाली कांग्रेसकै नेतृत्वमा गठबन्धन हुन सक्नेछ । अन्यथा वामपन्थी गठबन्धन वा कांग्रेसविरोधी गठबन्धनको रूप हुनेछ । सत्ताका लागि गरिएको संयुक्त गठबन्धनको औचित्य सत्ताविहीनतामा पुष्टि हुने छैन ।

नेपाली कांग्रेस संसदीय नेतृत्वका लागि देउवा र उमेरले देउवाभन्दा करिब ३५ वर्ष कान्छा गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ । आम मतदाताले नेपाली कांग्रेसका जो सदस्यलाई विजयी गराए अब तिनीहरूकै हातमा निर्णयाधिकार पुगेको छ । तर, देशभरबाट गगनका पक्षमा मत माग्ने, मत नदिए जिल्ला फर्कन नपाउने, अर्को चुनावमा खरानी बनाउने जस्ता अनेक प्रायोजित धम्कीहरू सामाजिक सञ्जालभर छरपष्ट छन् । सडकबाट संसदीय दलको नेता चुन्ने भए प्रत्यक्ष मतदानको परिपार्टी किन नबसाउने ? यो प्रश्न यतिखेर सान्दर्भिक हुन सक्छ । संसदीय प्रणालीमा पार्टीले निर्णय नगरी आफूखुसी प्रधानमन्त्री घोषणा गर्दा लोकतन्त्र र संसदीय परम्परा खण्डित भएको थियो । अहिले त्यही उपक्रमको धम्की सांसदहरूलाई दिनुले खतरानक धम्की संस्कृतिको विकास हुने संकेत दिइरहेको छ र भिडले नेतृत्व चयन गर्ने अराजक दृष्टिकोणले प्रश्रय पाउने देखिएको छ ।

(४) अराजक धम्की र कोइरालाको युटर्न :
जम्मा ८९ जना सदस्यहरूले निर्णय गर्न पाउने भए पनि अहिले भिडको दबदबा बढ्दै छ । पुस्तान्तरणका पक्षमा आफूलाई उदार देखाउन डा. शेखर कोइरालाले गगन थापालाई नेतृत्व प्रस्ताव गर्नुभएपछि कांग्रेसको सडक भिडमा उत्तेजना थप भएको छ । गगनजीलाई मत नदिने कांग्रेसका सांसदहरूलाई जिल्ला फर्कन नदिने धम्की दिनेहरूले कदाचित विजय हासिल गरेमा असहमतहरू भने जंगल पस्नुपर्ने अवस्था आउने हो कि भन्ने देखिन्छ । सामाजिक सञ्जाल यतिखेर धम्कीपूर्ण भनाइहरूले भरिएको देख्न पाइन्छ । अघिल्लो दिनसम्म आफू संसदीय दलको नेतृत्वका लागि निर्वाचन लड्ने बताइरहनु भएका डा.शेखर कोइराला अत्यन्त नाटकीय ढंगले यसरी युटर्न हुँदै नयाँ पुस्ताका नाममा थापालाई समर्थन गर्न किन तयार हुनुभयो ? यस्तै सामाजिक सञ्जालको दबाब त होइन ? यो प्रश्न आफैँमा करोडौँको हुन सक्छ । तर डा. शेखर आफैँले नै कोइरालाहरूको पारिवारिक विराशतलाई परित्याग गर्नुभएको छ । अब कोइराला खास गरी बिपी कोइरालाको उत्तराधिकारीका रूपमा डा. शशांकको दाबी स्थापित हुने चरणमा पुगेको देखिन्छ ।

(५) गणितीय जोडमा देउवाको अग्रस्थान :
जतिसकै गल्ती र आलोचनाको घेरामा रहे पनि यतिखेर शेरबहादुर देउवा निकै बलियो देखिनुभएको छ । कुनै अदृश्य नाटकीय परिघटना नभएमा गणितीय हिसाबले ८९ जना मध्ये कम्तीमा पनि ६१ जना सांसदको समर्थन देउवाका पक्षमा रहने अनुमान गर्न सकिनेछ । त्यसमा पनि नेपाली लोकतान्त्रिक आन्दोलनको धरोहर परिवारका रूपमा परिचित विराटनगरबाट बिपी कोइराला, राजधानीबाट गणेशमान सिंह र मधेशबाट महेन्द्रनारायण निधिका छोराहरू क्रमशः डा. शशांक, प्रकाशमान सिंह र विमलेन्द्र निधिको समर्थन देउवालाई देखिएको छ । रामचन्द्र पौडेल जस्ता समवयी नेताको प्रस्तावमा देउवाको उम्मेदवारी आफैँमा ऊर्जाशील रहेको छ ।

(६) पार्टी नेतृत्वमा खाडल :
डा. शेखरले आफ्नो उम्मेदवारी परित्याग गर्दा नेपाली कांग्रेसमा अत्यन्त ठूलो नेतृत्व खाडल बन्ने खतरा उत्पन्न भएको छ । देउवाको प्रतिस्पर्धी भएर गगन आउनुले कमसेकम निर्दलीय निरंकुश सत्ताविरुद्ध ०४६ सम्म लडेको र त्यसपछिका दिनमा निरन्तर लोकतन्त्रलाई संस्थागत गर्न ०६० सम्मको कठिन अवस्थामा लोकतान्त्रिक आन्दोलनमा योगदान गर्ने पुस्ता परिदृश्यबाट लोप हुने स्पष्ट छ ।

अपवादबाहेक गगनको उम्मेदवारीले लोकतन्त्रका लागि कुनै पनि संघर्ष र योगदान नगरेको पुस्तालाई मात्र प्रतिनिधित्व गर्दछ । जसलाई लोकतन्त्रका मर्यादा, सीमा, अनुशासनभन्दा पनि नेतृत्वको भोक र सत्तामा पुग्ने रहरले गाँजेको देखिन्छ । यस्तो रहर बोक्नेहरूका हातमा अहिले नै नेतृत्व गयो भने देशको उन्नति र विकास होइन लोकतन्त्रका सबै मूल्यहरूको विनाश अनिवार्य हुनेछ । नेतृत्व परिवर्तनका लागि समयले निर्धारण गरेका मानकहरू पार गर्दै अगाडि बढेमा परिवर्तनले स्थायित्व पाउने हुन्छ । अन्यथा अराजकताको महासमुद्रमा गोता लगाउनुपर्ने हुन सक्छ । कमसेकम केही वर्ष नेतृत्वको भोक शान्त पार्न पनि परिपक्व नेतृत्वको पाठशालामुनि बसेर खराव प्रवृत्तिविरुद्ध संघर्ष गर्दै असल प्रवृत्तिको निर्माण गर्नु आवश्यक छ ।

यसरी देउवा र थापाबीचको प्रतिस्पर्धालाई केन्द्रमा राखेर हेर्दा आज हुने निर्वाचन परिणाम आगामी कांग्रेसको रूप र सरकारको स्वरूप देखाउने निश्चित छ । तर, जोसुकै नेतृत्वमा आसीन भए पनि लोकतन्त्रलाई विनाश नगरून् हाम्रो सदीच्छा त्यही नै हो र आजका लागि शुभेच्छा पनि ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?