विनायकं प्रकुर्वाणो रचयामास वानर :

प्रा. डा. कुलप्रसाद कोइराला
Read Time = 17 mins

नहुने छोराको गनाउने मुख :
संस्कृतमा एउटा उखानछ ‘गणेश बनाउन लागेको वानर बनाएछ’ । नेपाली लोकोक्तिको चाहिँ लामो कथा प्रसंग छ । पछि कुनै बेला कथा सुनाउँला । नेपालको आमनिर्वाचन २०७९ मंसिर ४ ले नेपालमा यस्तै एउटा खेल खेलेको देखियो । यो खेल पनि नियतिले खेलो, न दलले न त जनताले । नियति भनेको यस्तो एउटा भौतिक कार्यकारणको सम्बन्ध हो जसले सानो बीजबाट पचासौं वृक्ष उमार्छ । ओलीको महत्वाकांक्षा, शेरबहादुरको सत्तामोह, माधव नेपालको सौताका रिसले पोइको काखमा मलोत्सर्जन गर्ने भित्री किसिमको इष्र्या र दुःसाहस अनि पुष्पकमल दाहालको दुर्दम्य महत्वाकांक्षा र अस्थिर मनस्थिति । सँगसँगै ‘एकोद्रहं द्वितीयो नास्ति’ ओलीको चिन्तन ।

यी सबैकुरा मिलेर आजका नेपालको परिस्थिति हाम्रा समुन्ने आएको देखिएको छ भने वर्तमान राष्ट्रपतिको अहंवादी या कसैका इसारामा लागेर आफ्नो मर्यादा र देशको संवैधानिक प्रावधानको समेत बेवास्ता गरी कदम चाल्ने प्रवृतिले हावापानीको काम गरेर यो परिस्थितिलाई अंकुराउन उत्प्रेरित गरेको पनि देखिन्छ । ओलीजीले जे भने पनि र ल्याए पनि तुरन्तै लागू गर्ने, अरू लेल्याए खेल्ने बहाना खोज्ने प्रवृत्तिको पुनरावृत्ति अहिले पनि उनले गरेकी छन् । चुनाव भएपछि चुनिएका विधायकलाई संविधानको रक्षक पालकका नाताले बधाई दिने, ज्येष्ठ विधायकबाट सांसदलाई सपथ दिलाउने, अनिमात्र सरकार गठनका प्रक्रिया प्रारम्भ गराउनुपर्ने कुरालाई बिर्सेर उनले क्रियात्मक रूपमै ओलीकदम मेरा लागि मान्य छ भन्ने सन्देश दिएकी छन् ।

प्रजातान्त्रिक गुदी सकेर बोक्रामा मात्रै अडिएको भए पनि रूख चिहृनमा भने तप्क्यानदायी वृक्षका वरिपरि साना बिरुवा निकै उम्रेका छन् । झिंजाले मुढो सल्काउने क्रिया चरितार्थ हुन पनि सक्ला कि भन्ने आश गरौँ । यसका सभापतिलगायत कसैको पनि अब क्षमता अपरीक्षित छैन ।

हिन्दू संस्कारकी नारीले पतिका पाइलाको माटो पखालेर पनि चरणोदक ग्रहण गरेको जस्तो प्रवृत्ति प्रदर्शन गर्दा पनि जति टीका टिप्पणी हुनुपर्दथ्यो त्यति नहुनुमा पनि सत्ता स्वार्थले काम गरेको देखिन्छ । राष्ट्राध्यक्षको मर्यादा राखेको भन्न मिल्ने देखिएन । नेपालका राजनीतिक दल मानौँ किर्ना हुन् सत्तारूप गाईका आङमा उब्जेका । एमाले र माओवादी केन्द्रमा एउटा बुलाहाले सयकडौं वानरी झुण्डलाई आफ्ना अनुकूल हाँक्न बल गरेजस्तो प्रक्रिया देखिन्छ । ओली र प्रचण्डका अगाडि चुँ गर्ने माइकालाल जन्मनैसकेका छैनन् । प्रजातान्त्रिक गुदी सकेर बोक्रामा मात्रै अडिएको भए पनि रूख चिहृनमा भने तप्क्यानदायी वृक्षका वरिपरि साना बिरुवा निकै उम्रेका छन् । झिंजाले मुढो सल्काउने क्रिया चरितार्थ हुन पनि सक्ला कि भन्ने आश गरौँ । यसका सभापतिलगायत कसैको पनि अब क्षमता अपरीक्षित छैन ।

नहुने चाँदो कर्करी खाँदो :
नेपाली मतदाता पनि वानरी झुन्डमा बस्ने धेरै वानरभन्दा कम रहेनछौँ । हामी नेपालीका घरमा एकजना जागिरे या व्यवसायी भयो भने नसनाता सारा त्यसैका आशमा ज्यून थाल्छौँ । यस कारणले गर्दा कहिल्यै पनि त्यसले प्रगति गर्न नसकेर टाक्सिएको पनि देखिन्छ । नेपाली राजनीतिमा पनि यस्तै प्रवृत्ति मतदाताले देखाए । सचेत र विवेकी मतदाता हुन्थे, कसैका दास र रक्सी तथा मासुका चोक्टा या नगदमा बिक्दैनथे भने नेपाली राजनीतिमा पहिलो घेराका ८/१० वटा शकुनि यो पटक संसद् नछिर्नुपर्ने थियो त्यो हुन सकेन ; हामी मतदाता कै विवेकहीन पाशविक प्रवृत्तिका कारणले ।

हरियो दुबो देख्ने बित्तिकै कशाही हो कि गोठालो हो भन्ने विचारै नगरी म्याँम्याँ गर्दै पछि लाग्ने बाख्राका पाठाजस्ता हामी नेपाली कथित बालिगमतदाताले फेरि पाँचवर्षका निमित्त देशलाई अँध्यारो सुरुङभित्र पसाइदिएका छौँ । आश चाहिँ राम्राको पनि गर्दै छौँ जो सम्भवै छैन । अबका दिनमा संसद असाध्य चलायमान परिवर्तनशील देखिने अभिलक्षण देखिन्छ । दल र ती दलका नायिकेले गरेका विवेकहीन, स्वार्थी र ग्रुपपरक, नस–नातापरक, पत्नीपुत्र–कलत्रपरक क्रियाकलापका कारणले म भोट दिन्न भन्न पाउने मतदाताको अधिकार नदिएका कारणले त्यसैको अभिव्यक्तिका रूपमा आएका स्वतन्त्रहरू पनि त्यति आशलाग्दा देखिँदैनन् ती पनि यो या त्यो दलमा लागेर सत्ता सयर गर्न लालायित र आतुर रहेका संकेत अभिव्यक्ति आउन लागेका छन् ।

न्यायालय र न्यायमूर्ति विश्वव्यापी रूपमा दुर्गन्धित भएको अवस्था पनि हामीले भोगेकै हौँ । अब पनि अति चाँडो त्यसमा सुधार भएर जनताको आश, भरोशा र विश्वास आर्जन गर्नसक्ने अवस्था छैन । हिजो बरू राजाको मनोमानी भएका बेला जनताले उचित न्याय पाएको इतिहास भएको यो संस्थालाई बहुदलका लागि जेलनेल भोगेका राजनीतिकर्मीले नै योजनाबद्ध किसिमले कार्यपालिका मातहतमा ल्याएर बद्नाम गराए । यसरी हेर्दा यी काम नपाएरमात्रै प्रजातन्त्र र बहुलवादको मखुण्डो लाएर राजनीतिमा लागेका रहेछन् ।

मौका पर्नासाथ यिनीहरूका अन्तर्दिलमा रहेको सर्वसत्तावादी प्रवृत्ति प्रकट भएको देखिन्छ । ऋषिका भेषमा रहेका यी कालनेमिले देश, समाज, संस्कृति र मर्यादाकै घात गरे । हिम्मतका साथ देशलाई मूल्यमान्यतायुक्त राजनीतिक लिकमा हिँडाउँछु भन्ने आशलाग्दा व्यक्तिका हातमा देशको वाग्डोर पर्ने खालको उज्यालो टाढासम्म पनि देखिएको छैन । यसरी कमजोर तारतम्य मिलाएर केही व्यक्तिले राष्ट्रिय ढिकुटी लुट्न बनाएका संविधानको प्रतिफल अब भोग्नथाले नेपाली राजनीति कर्मीले ।

आफू छारामा खुट्टा भारमा :
अबका दिनमा प्रत्येक राजनीतिक दल या स्वतन्त्रले निठुर बनेर योग्य छान्ने हिम्मत गर्न सांसदले सकेनन् भने देश फेरि पनि नालायकका हातमा पर्ने अभिलक्षण देखिएको छ । हुन त यो मौका सांसदलाई नेपाली कांग्रेसले देला तर अरू कुनै पनि राजनीतिक दलले दिने सम्भावना छैन । चयन स्वतन्त्रतामा विश्वासै नगर्ने एकदलीय अधिनायकवादी कम्युनिष्टका दुईवटा पार्टी हुन् ओली र पुकदाले नेतृत्व गरेका दल भने राजेन्द्र लिङ्देन घोर दक्षिणपन्थी परम्परावादी दलको अध्यक्ष भएका कारणले त्यहाँ पनि चुनावको अधिकार प्राप्त हुने सम्भावना छैन ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि रवि लामिछाने जसरीसुकै डुक्रेपनि र जतिसुकै पुरानाको विकल्प हुँ भनेर कौलासे पनि उनीबाहेक अर्को संसदीय दलको नेता बन्ने अवसर सयकडौं कोस टाढा रहेको देखिन्छ । यसैगरी मधेसी ठेकेदार तथा जमिन्दारका पार्टी लोसपा र जसपामा पनि ८१ वर्षे महन्त र उपेन्द्रयादवकै हालीमुहाली चल्ने देखिन्छ । मधेसका मतदाताले जमिन्दार पोषक नीति किन रोजेका हुन् यो बुझ्न सकिएको छैन । सत्ता स्वार्थमा लाग्ने यी मधेसका जमिन्दार भए पनि नेपाली राजनीतिमा यी जता मल्खु उतै ढल्कु हुने चाटुकार साबित भएका छन् । यिनको स्वतन्त्र अस्तित्व नै देखिँदैन । यो चुनावदेखि यिनको उपयोगिता पनि समाप्त भएको देखिन्छट ।
यसरी हेर्दा नेपाली राजनीतिले नेपाली जनताका आवश्यक्ता र रोजगारी तथा सुखशान्तिका लागि वातावरण चाँडो निर्माण गर्नसक्ने सम्भावना देखिएको छैन । अब भर्खरै सकिएको विश्वकपका खेलाडीले देखाएको कन्दुक कलाभन्दा धेरै भिन्न सत्ताका स्वार्थले निथ्रुक्क भएर भिजेको कपडाले जसरी शरीरमा टाँसिएर लज्जा ढाक्न सक्दैन त्यसैगरी निर्लज्ज नग्न बनेर संसद् भवनमा हाम्रा सांसद भनाउँदा नर्तक नाचेको दृश्य देख्न पाइनेछ । गोरुले बाली पकाएपछि र एउटा खास उमेरमा प्रवेश गरेपछि किसानले पारदिने चलन भएका हाम्रा देशमा नालायक नेतालाई हामी पिछलग्गूले पार दिन नसक्दा देश नै गरिबतम हुनेभयो ।

आफ्नो शक्ति सामथ्र्यभन्दा ठूला कुरा गर्नु ठूलो आकांक्षा राख्नु, आफूबाहेक अरूलाई मान्छे नै नगन्नु जस्ता दुर्गुण जो समाजका केही व्यक्तिमा हुन्छन् भन्ने कुरालाई लक्ष्य गरेर माथिको नेपाली उखानले समाजका त्यस्ता व्यक्तिको आलोचना गरेको छ भने अरूलाई यस खालको प्रवृत्ति भएका व्यक्ति र समूहबाट सतर्क रहनु भनेर शिक्षा दिएको छ । नेपाली मतदाताले यसलाई वास्ता गरेनन् जसको मूल्य भविष्यमा देशले चुकाउनुपर्ने हुन्छ । सबै जोगी मरून् मेरै तुम्बा भरून भन्ने अचाडु प्रवृत्तिका मान्छे पनि राजनीतिमा आएका हुन्छन् ।
हाम्रो जस्तो परावलम्बी मुलुक चलाउन असजिलो पनि हुन्छ तर जसका हृदयमा देशभक्ति छ जनताप्रतिको जिम्मेवारी छ त्यस्ता नेताले खाँचो टार्नका निमित्त अगाडिको भाग हेरेर देशलाई अहित हुने काम गर्दैनन् । भारतमा सन् १९३१/१९३२ का दशकमा भयानक अनिकाल लागेको थियो । तत्कालीन सोभियत संघले नाजायज किसिमको सर्त राखेपछि लालबहादुर शास्त्रीले एक वर्षसम्म प्रत्येक सोमबार बेलुका सक्नेले भात रोटी नखाने नपकाउने व्रत (उपवास) बस्ने भनेर बिरामी, बालबालिका वृद्धलाई मात्र अन्नका परिकार बेलुका बिहान खुवाउने भनेर सोभियत संघको नाजायज प्रस्तावलाई अस्वीकार गरेथे ।

अबका दिनमा प्रत्येक राजनीतिक दल या स्वतन्त्रले निठुर बनेर योग्य छान्ने हिम्मत गर्न सांसदले सकेनन् भने देश फेरि पनि नालायकका हातमा पर्ने अभिलक्षण देखिएको छ । हुन त यो मौका सांसदलाई नेपाली कांग्रेसले देला तर अरू कुनै पनि राजनीतिक दलले दिने सम्भावना छैन ।

साराभारतीयले त्यो आदेश पालन पनि गरेथे तर आदेश दिने व्यक्ति आफ्ना लोग्नेस्वास्नी सत्ता सयर गर्ने, अरूलाई त्याग गर भन्ने भएभने कसैले पनि मान्दैनन् । हाम्रा देशका ठूला नेता भनाउँदा सर्वस्वार्थं समीहते या आफैँ नमरी स्वर्ग देखिँदैन भन्ने मनमस्तिष्कका भएका हुनाले यहाँ सरकारी नीति आदेश उल्लङ्घित हुनेगरेको इतिहास छ । अब पनि यो प्रक्रियाले निरन्तरता पाउने नै भयो । सात करोड खर्च गरेर आफू चुनाव जित्ने र समानुपातिकमा स्वास्नी ल्याउनेले देश र जनतालाई भलो गर्ला कि आफ्नै छोराछोरी दाजुभाइ, बन्धुवर्गादि र समूहलाई भन्नेसम्म ख्याल गरेर नैतिकता भएको विचार विरासत भएका व्यक्तिलाई संसदीय दलको नेता छाने कांग्रेसी जनले भने अलिकति आश गर्ने ठाउँ आउन सक्छ ।

अन्धेनैव नीयमानो यथान्ध :
अन्धाले डोहोर्‍याएको अन्धोजस्तै भन्ने अर्थ हो यो संस्कृत उखानको । यहाँ देश अशिक्षित, बेरोजगार गरिबको भनिन्थ्यो अब खरबपति नेता थुप्रै नेता भएको तर जनता खाडी धाउने इलम उद्योग धन्दा नेताका स्वास्नी र ससुरालीको कमाइखाने भाँडो बनाइएको देश भनेर चिनिन थालेको छ । यो अवस्थाका प्रति जिम्मेवारी कसैले लिनुपर्छ कि पर्दैन ? के भन्छन् दुनियाँले । आधा धरो निक्लेर नदेखाउने अंक देखिएको पनि चाल नपाउनेका लागि लाजले देख्नेले मुन्टो निहुँर्‍याउँदा पनि आफ्ना आङको हरिबिजोक भएछ भन्ने पनि नबुझ्ने नेता, सांसद, मन्त्री, भएको देशको नाम भन भनेर कुनै दिन सामान्य ज्ञानका प्रश्न आउने भए भन्नेसम्मको डर राखे पनि त हुन्थ्यो ।

नेपाली कांग्रेसका सांसद भनाउँदा जतिपनि व्यक्ति अहिले जितेर आएका छन् तिनले छातीमा हात राखेर विचार गर्नुपर्ने बेला छ । यदि यो बेला डर, धाक, लोभ आदिमा यी जीव फसेर फेरि पनि पुरानै भोटो लाए भने दुनियाँले नेपाली राजनीतिकर्मीलाई कुरीकुरी गर्ने भए । मतदाता पनि अन्धा, नेता र कार्यकर्ता पनि अन्धादास, क्या मिलेको । राम मिलाए जोडी एक काना एक केढी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?