काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको विवादपछि अनिश्चित बनेको नेपालको पहिलो फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को अन्ततः टुंगो लागेको छ । पहिलो संस्करण आयोजनापश्चात् ‘ए’ डिभिजन क्लबहरूसँग बढेको विवादका कारण एनएसएल अनिश्चित बनेको थियो । तर, एन्फासँग आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)प्रालिको नयाँ सम्झौता भएसँगै एनएसएलको टुंगो लागेको हो । आयोजक एनएसइएम र एन्फाबीच आठ वर्षको नयाँ सम्झौता भएको छ । सम्झौताअनुसार आठ वर्षका लागि आयोजक एनएसइएमले एन्फालाई १७ करोड २१ लाख रुपैयाँ दिनेछ ।
सम्झौतापत्रमा एनएसइएमकी अध्यक्ष आश्रयता कार्की चौधरी तथा एन्फाका महासचिव किरण राईले हस्ताक्षर गर्नुभयो । अध्यक्ष चौधरीका अनुसार एन्फालाई पहिलो सिजनका लागि दिनुपर्ने एक करोड ५० लाख रुपैयाँको चेक पनि दिइसकिएको छ ।
यद्यपि यस वर्ष एनएसएल हुने सम्भावना एकदमै न्यून छ । एन्फाले पुस २६ गतेदेखि ‘ए’ डिभिजन लिग सुरु गर्ने जनाएकाले एनएसएलका लागि मिति उपलब्ध हुन गाह्रो भएको हो । सम्झौता कार्यक्रममा एन्फाका प्रवक्ता सुरेश शाहले पनि अर्को वर्ष एनएसएल हुने र मिति ठ्याक्कै नतोकिएको बताउनुभयो ।
‘यस वर्ष ‘ए’ डिभिजनको मिति नजिकिसकेको छ । एन्फाको अहिले पूरै ध्यान ‘ए’ डिभिजन लिगमा नै छ,’ प्रवक्ता शाहले भन्नुभयो, ‘हामीले उहाँहरूलाई अर्को वर्ष तयारी गर्न भनेका छौँ । उहाँहरूलाई भदौ र कात्तिकको बीचमा दुई महिनाको समय दिइएको छ ।’
पहिलो संस्करणमा सात फ्रेन्चाइजी टोलीले सहभागिता जनाएका थिए । दोस्रो संस्करणमा तीन टोली थप्दै १० टोली पुर्याइएको थियो । दोस्रो संस्करणका लागि खेलाडी अक्सनसमेत भइसकेको अवस्था थियो तर क्लब, एन्फा र आयोजकबीचको विवादका कारण प्रतियोगिता अघि बढ्न सकेको थिएन । एनएसएलको पहिलो सिजन काठमाडौं रेजर्सले जितेको थियो भने धनगढी एफसी उपविजेता बनेको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका