बैतडी शिक्षक हत्या प्रकरण : अभियुक्त बोहरा दम्पती सार्वजनिक

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 3 mins

बैतडी । बैतडीका शिक्षक धनबहादुर बिष्टको हत्यामा संलग्न अभियुक्त बोहरा दम्पत्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।

सुर्नया गाउँपालिका २ ग्वानी घर भई कृष्ण माविमा पढाउँदै आएका शिक्षक बिष्टको हत्यामा संलग्नलाई जिल्ला प्रहरी कार्यालयमा बिहीबार पत्रकार सम्मेलन मार्फत हत्याका अभियुक्त पुर्चौंडी नगरपालिका ३ न्वादेउ घर भएका प्रजा बोहरा र विमला बोहरालाई प्रहरीले सार्वजनिक गरेको हो ।

पौष १ गते राति शिक्षक बिष्टले बिमलामाथि अभद्र व्यवहार गरेको र त्यसको झोकमा प्रजाले शिक्षक बिष्टलाई मुक्का हानेर ढलाएको प्रहरीको अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । साँझको समयमा विमला बोहरा शौचालय जान्छु भनि बाहिर निस्केकी थिइन् । ढिलो गरेपछि खोज्न जाँदा शिक्षक बिष्टले अँगालो हालेको देखेपछि प्रजाले बिष्टको छाती र मुखमा हानेर हत्या गरेको स्वीकार गरेको उहाँले बताउनुभयो ।

घटना लुकाउन छात्रवासको पछाडि दुवै जना मिलेर फालेको प्रहरीको अनुसन्धानले देखाएको छ । अभियुक्त विमला र प्रजा दुवै जना श्रीमान–श्रीमती हुन् ।

विमला बोहरा कृष्ण मावि पाटनको छात्राबास बस्दै आएकी थिइन् । उनी कृष्ण माविमा कम्प्युटर डिप्लोमा चौथो बर्षमा अध्ययन गरिरहेकी छन् । अभियुक्तमाथि मुलुकी संहिता २०७४ को परिच्छेद १२ को दफा १७७ अन्तर्गत मुद्धा  जिल्ला अदालतबाट १० दिनको म्याद थपेर बिहीबार थप अनुसन्धान बढाइएको प्रहरी नायव निरीक्षक शाहीले बताउनुभयो ।

शिक्षक बिष्टको शव पौष २ गते दिउँसो फेला परेको थियो । मृतकका आफन्तले उनको हत्या भएको आशंका गरेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो ।

सो घटनाको अनुसन्धानका लागि सीआइबीको टोली समेत आएको थियो । शिक्षक बिष्टको हत्या भएकाले दोषी पत्ता लगाउन माग गर्दै आन्दोलन समेत भएकाे थियाे ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?