उपेन्द्र यादव र केपी ओलीबीच भेटवार्ता, सत्ता समीकरणको विषयमा छलफल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नुभएको छ। यादवले बिहीबार साँझ बालकोट पुगेर ओलीसँग भेट गर्नुभएको हो ।

भेटमा उहाँहरूबीच सत्ता समीकरणको विषयमा छलफल भएको बताइएको छ । यादवले आज बिहानमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको थियो ।

प्रचण्ड निवास खुमलटारमा भएको भेटमा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन यादवलाई आग्रह गर्नुभएको थियो । उहाँले समाजवादी शक्ति निर्माण गर्दै सरकारमा सहभागी हुन यादवलाई प्रस्तावसमेत गर्नुभएको थियो ।

सत्ता साझेदार दलहरुका शीर्ष नेताहरुको भेटमा प्रचण्डले पहिलो चरणमै प्रधानमन्त्री पाएर सम्मानजनक शक्ति बाँडफाँट नभए गठबन्धनको यात्रा टुंगिने सन्देश समेत दिइसक्नुभएको छ ।

पछिल्लो समय एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच हार्दिकता पूर्वक छलफल चलिरहेको छ । उहाँहरुको बीचको भेटमा देखिएको बडी ल्याङ्ग्वेजलाई नियाल्दा भावी सरकार निर्माणको कोर्ष सत्ता गठबन्धन भन्दा फरक गठबन्धन हुनसक्ने संकेत देखिन थालेको छ । उहाँहरुबीच सार्वजनिक कार्यक्रमकै बीच सत्ता समिकरणका विषयमा समेत छलफल चलेको चर्चा छ । एमालेले प्रचण्डले गठबन्धन छोडेर आए भावी सरकारको विषयमा छलफल गर्न सकिने बताउन थालेको छ ।

माओवादी नेता वर्षमान पुन चीनबाट फर्किएसँगै एमालेसँग मिलेर सरकार गठन गर्ने र प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रयास थालेको चर्चा समेत छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?