तत्कालीन शाही सेनादेखि जनप्रतिनिधिसम्मको यात्रा

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 6 mins

गुल्मी । दलित समुदायका लागि शेरबहादुर विश्वकर्मा उदाहरणीय पात्र बन्नुभएको छ । जिल्लाको रेसुंगा नगरपालिका-२ निवासी विश्वकर्मा उमेरले ४४ वर्ष पुग्नुभयो । विश्वकर्माले जीवनको अधिकांश समय नेपाली सेनामा व्यतित गर्नुभयो । दलित समुदायमा जन्मिएर तत्कालीन शाही सेना हुँदै अहिले जनप्रतिनिधिसमेत हुनुभयो ।

विश्वकर्माले जीवनको १८ वर्ष नेपाली सेनामा बिताउनुभयो । तत्कालीन समयमा शाही सेना भन्ने गरिन्थ्यो । २०५५ सालमा तत्कालीन शाही सेनामा प्रवेश गरी राष्ट्रको सेवामा समर्पित हुनुभयो । नेपाली सेनामा सेवारत रहँदा विश्वकर्मा बाग्लुङ, पोखरा, मुस्ताङ, सुर्खेत, बुटवललगायतका क्षेत्रमा पुग्नुभयो । उहाँ शान्ति सेना बनेर हाइटीसमेत पुग्नुभयो ।

अन्ततः १८ वर्षको सेवा अवधिपछि उहाँ निवृत्त हुनुभयो । नेपाली सेनामा सेवारत रहँदा आफूले प्राप्त गरेको ज्ञान, सीप र राष्ट्रका लागि केही गर्नुपर्छ भन्ने हुटहुटीले विश्वकर्मा राजनीतिमा प्रवेश गर्नुभयो । नेपाली कांग्रेसबाट राजनीतिमा सक्रिय हुनुभएका विश्वकर्मा ०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा वडा सदस्यमा निर्वाचित हुनुभयो । नेपाली सेनामा सेवारत रहँदा प्राप्त गरेको शिक्षा र हौसलाले आफू राजनीतिमा सक्रिय भएको उहाँले बताउनुभयो । ‘नेपाली सेनामा सेवारत रहँदा बर्दीसहितको सिपाही थिएँ ।’ विश्वकर्माले भन्नुभयो, ‘अहिले बर्दीबिनाको राष्ट्रसेवक हुँ ।’ शेरबहादुर अहिले जिल्ला समन्वय समितिको सदस्यसमेत हुनुहुन्छ ।

दलित समुदायबाट प्रतिनिधित्व गर्ने भए पनि आफू सबैको साझा जनप्रतिनिधि भएर काम गरेको विश्वकर्माको भनाइ छ । ‘राज्यबाट प्राप्त हुने सेवा-सुविधा समानरूपमा सबैले पाउनुपर्छ भन्ने मेरो मान्यता छ । सबै वर्गलाई समावेश गरेर अगाडि बढ्नुपर्छ ।’ विश्वकर्माले भन्नुभयो, ‘दलितका विविध समस्याका विषयमा वकालत गरेँ । यसरी वकालत गर्दा केही बाधा-अवरोधहरू पनि आए । केही आक्षेप पनि लागे ।’

तत्कालीन समयमा जातीय विभेदका विरुद्धमा आफू नेपाली सेनामा सेवारत रहँदा पनि वकालत गर्ने गरेको बताउनुभयो । दलित समुदायमा जन्मिएर विभिन्न क्षेत्रको जिम्मेवारी सम्हालिरहँदा निकै चुनौती भोग्नुपरेको समेत उहाँले स्मरण गर्नुभयो । ‘धर्मले कहीँ-कतै छुवाछुत गर्नुपर्छ भनेर भनेको छैन । छुवाछुत मान्छेले नै जबरजस्त लादेको हो ।’ विश्वकर्माले भन्नुभयो, ‘संविधानले उन्मूलन गरिसकेको जातीय छुवाछुत अब हरेक नागरिकले कर्म र व्यवहारले पनि हटाउन लाग्नुपर्छ । हामी सबै नेपाली हौँ । सभ्य नागरिकको परिचय दिन पनि कुसंस्कारहरूलाई हटाउँदै जानुपर्छ ।’ राज्यले उपलब्ध गराउने अवसर र अधिकारका माध्यमबाट दलित समुदायलाई पनि नेतृत्वमा लैजानुपर्ने विश्वकर्माको भनाइ छ ।

दलित समुदायले परम्परादेखि गर्दै आएका पेशा-व्यवसायलाई समयानुकूल परिवर्तन गरी आधुनिकीकरण गरी उद्योगका रूपमा विकास गर्नेतर्फ राज्य लाग्नुपर्ने विश्वकर्माको भनाइ छ । स्थानीय तहसँग जनताका धेरै अपेक्षा हुने गरेको समेत उहाँले स्मरण गर्नुभयो । कार्यवाहक वडाध्यक्ष समेत हुनुभएका विश्वकर्माले जनप्रतिनिधिमा विकास गर्ने इच्छा शक्ति र विकास गर्न आर्थिक स्रोतको व्यवस्थापन गर्ने सकिए स्थानीय तह समृद्ध बन्ने अनुभव सुनाउनुभयो । ‘सामाजिक क्षेत्रमा लाग्नुपर्छ भन्ने लागेर राजनीतिमा लागेँ । पार्टीले पनि विश्वास गर्‍यो । केही गर्ने अवसर पनि प्राप्त गरेँ ।’ विश्वकर्माले भन्नुभयो, ‘विकासका कामहरू सञ्चालन गर्ने सन्दर्भमा मुद्दासमेत खानुप¥यो ।’ तर पनि विकासका काममा जनताको मन जित्न सफल भएको विश्वकर्माको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?