नेपालमै पहिलो मेट्रो ट्राम रेल तिलोत्तमा संञ्चालन हुने

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा परिकल्पना गरिएको रिङरोडमा नेपालमै पहिलो मेट्रो ट्राम रेल संचालनहुने भएको छ । सरकार र प्राइभेट कम्पनीको साझेदारीमा संचालन गर्ने तयारी गरिएको रेलवे सेवाको आज एक कार्यक्रमकाबीच शिलान्याश गरिएको छ । तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले रेलेवे सेवाको शिलान्याश गर्नु भयो ।

शिलान्याश कार्यक्रममा बोल्दै नगर प्रमुख खाँणले रेलेवे सेवालाई तिलोत्तमा नगरपालिकाको गौरबको आयोजनाका रुपमा अगाडि सारिएको बताउनु भयो । रेलवे सेवालाई निजी कम्पनीले संचालन गर्ने योजना बनाए पनि सो सेवा तिलोत्तमा बासीको साझा सम्पत्ति हुने नगरप्रमुख खाणँले बताउनु भयो । उहाँले तिलोत्तमा नगरमा नगर विकास कोषले एक हजार विगाहामा नयाँ शहर विकास गर्ने काम समेत अघि बढिरहेको बताउनु भयो । धेरै परियोजनाहरु नगरमा संचालन भैरहेको नगरप्रमुख खाणँको भनाई छ ।

तिलोत्तमा पब्लिक रेल्वे कम्पनी लिमिटेडका अध्यक्ष हरि तिवारीले समुदाय, स्थानीय पालिका र एडिबीलगायत दातृ निकायहरुको सहयोगमा परियोजना संचालन गरिने बताउनु भयो। उहाँले एक वर्षभित्र ४ किलोमिटरको तयारी पुरा गरेर संचालन हुने जनाउँदै लुम्बिनी प्रदेश सरकारबाट प्राप्त १५ लाख रुपैयाँबाट डिपिआर तयार गरिएको बताउनु भयो ।

रेल्वे कम्पनीका प्रबन्ध निर्देशक भोला शर्माले साढे ८ अर्ब लागतमा ५० किलोमिटरको रेल सेवा संचालन हुने बताउँदै आवश्यकताअनुसार लुम्बिनी, गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पूर्व पश्चिम राजमार्गमा जोड्ने गरि डीपीआर तयार भएको बताउनु भयो । प्रदेश र नगरपालिकाबाट ५१ प्रतिशत र जनताबाट बाँकी लगानीको तयारी रहेको उहाँले बताउनु भयो । शर्माका अनुसार चक्रपथको ४३ फिट भित्री बाटोको छेउँमा जोडेर १४ फिट भागमा ट्राम रेल संचालन हुने छ ।

यो विद्युतबाट चल्ने र ७० जना चढ्न मिल्ने लाईट रेल्वे भएको उहाँको भनाई छ । रेल सेवामा दैनिक ३० हजार, ८ लाख मासिक र वर्षमा १ करोड मानिसले सेवा लिने तथा यस बाहेक सामान ढुवानी लगायतको समेत सेवादिन सकिने सम्भावना रहेको उहाँले बताउनु भयो । यसबाट वार्षिक १ अर्ब १० करोड आम्दानीगर्ने र खर्च कटाएर १ अर्ब बचत हुने पनि उहाँको दाबी छ ।

शर्माका अनुसार परियोजना सुरु भएपछि एक सय जना स्थायी कर्मचारीले प्रत्यक्ष रोजगारी पाउने छन् । ६ वटा ट्राम टाईगर प्यालेस, ६ वटा ट्राम रोहिणीतर्फ चल्ने छ भने एक दिनमा एउटा ट्राममा एक पटकमा २५ सय चढ्न सक्ने छन् ।

५० करोड शेयर पुँजी रहेको रेलेवे कम्पनीको चुक्तापुँजी ५ करोड रहेको छ । काम सुरु भएसँगै चुक्तापुँजी बढाउँदै लगिने कम्पनीले जनाएको छ । २ वर्षमा कार्य सम्पन्न गर्ने गरि रेलवेको सुर्यविनायक कन्ट्रक्सनले ठेक्कापाएको छ । कम्पनीका सचिव डिल्लीनारायण पाण्डेले देशकै नमुना रेल्बे संचालन गर्ने अभियानमा पछिल्लो समय स्थानीयको सहभागीता बढ्दै गएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?