सुदूरपश्चिमको मुख्यमन्त्रीमा माओवादीका दुई आकांक्षी

हिमालय टाइम्स
Read Time = 4 mins

यज्ञराज जोशी/हिटा
धनगढी । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका दुईजना आकांक्षी देखिएका छन् । माओवादी केन्द्र सुदूरपश्चिममा कांग्रेसपछि दोस्रो ठूलो पार्टी बनेको छ । ५३ सदस्यीय प्रदेशसभामा नेकपा माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ तीन गरी ११ जना सांसद छन् ।

निर्वाचनअघि डडेल्धुरामा भएको चुनावी सभाको प्रधानमन्त्री शेरबहादुर देउवाले अबको सुदूरपश्चिमको मुख्यमन्त्री माओवादी केन्द्रका सुदूरपश्चिम इञ्चार्ज खगराज भट्ट भएको सार्वजनिक रूपमै बताउनुभएको थियो । प्रधानमन्त्री देउवाको सोही भनाइअनुरूप भट्ट मुख्यमन्त्री बन्नेमा ढुक्क देखिनुहुन्छ । ‘प्रधानमन्त्रीज्यूको प्रतिबद्धता र प्रदेशमा माओवादीको सम्मानजनक उपस्थितिले पनि यहाँको नेतृत्व माओवादीले पाउने विश्वास छ,’ भट्टले हिमालय टाइम्ससँग भन्नुभयो, ‘गठबन्धनमा आबद्ध दलहरूबीच मलाई मुख्यमन्त्री बनाउने एक किसिमको समझदारी भएको छ । त्यो लिखित नभए पनि शीर्ष नेताहरूले समझदारी कार्यान्वयन गर्नेमा म विश्वस्त छु ।’
यसअघि भट्ट लगातार तीनपटक २०६४, २०७० र २०७४ सालमा देउवाविरुद्ध नै संघीय चुनाव लड्नुभएको थियो । यसपल्ट भने भट्टले मुख्यमन्त्रीको आश्वासन पाएकाले प्रदेश निर्वाचन लडेको दाबी गर्नुभयो ।

‘मैले मुख्यमन्त्री पाउने समझदारीअनुसार प्रदेशमा चुनाव लडेको हुँ । निर्वाचनपछि पनि सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि समझदारी भएको छ,’ उहाँले भन्नुभयो ।

यस्तै, माओवादीका अर्का नेता तथा कञ्चनपुर क्षेत्र नम्बर २ (क) बाट निर्वाचित ओमविक्रम भाट ‘सरल’ले पनि मुख्यमन्त्रीमा दाबी गर्न संसदीय दलको नेताका रूपमा लड्ने तयारी गर्नुभएको छ । उहाँले मुख्यमन्त्रीको आकांक्षासहित दौडधुप तीव्र पार्नुभएको छ । तर, माओवादीले मुख्यमन्त्री पाए भाटभन्दा भट्टको सम्भावना प्रबल देखिन्छ ।

सुदूरपश्चिम प्रदेशसभामा गठबन्धनको सहज बहुमत छ । सरकार बनाउन २७ सदस्य चाहिन्छ । गठबन्धनले मात्रै सुदूरपश्चिममा ३४ सिट जितेको छ । सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसका प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ सात गरी १९ सदस्य विजयी भएका छन् ।
नेकपा (एकीकृत समाजवादी)का प्रत्यक्ष निर्वाचित तीन र समानुपातिक एक गरी चार सदस्य निर्वाचित भएका छन् ।

नेकपा(एमाले)बाट प्रत्यक्ष निर्वाचित तीन र समानुपातिक सात गरी १० सदस्य निर्वाचित भएको सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीबाट प्रत्यक्षमा पाँच र समानुपातिक दुई गरी सात सदस्य निर्वाचित भएका छन् । यस्तै, राप्रपाबाट एक र एकजना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?