‘सिरियल किलर’ चाल्र्स शोभराज फ्रान्स ‘डिपोर्ट’, १० वर्ष नेपाल प्रवेश गर्न नपाउने

डिबी शर्मा
Read Time = 6 mins

काठमाडौं । ‘सिरियल किलर’ चाल्र्स शोभराज थुनामुक्त भएका छन् । हत्या अभियोगमा करिब दुई दशकदेखि कारागारमा रहेका फ्रान्सेली नागरिक चाल्र्स शोभराज शुक्रबार थुनामुक्त भएका हुन् । सर्वोच्च अदालतकोे आदेशपछि उनलाई शुक्रबार काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारको गोलघरबाट कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाइएको छ । अदालतको आदेशअनुसार आवश्यक कानुनी प्रक्रिया सकेर उनलाई पुनः फ्रान्स डिपोर्ट गरिएको छ । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्रान्स फिर्ता पठाइएको हो । उनी कतार एयरवेजको उडानबाट कतार हुँदै फ्रान्सका लागि प्रस्थान गरेका छन् । सर्वोच्च अदालतको फैसलापछि रिहा भएका फ्रान्सेली नागरिक चाल्र्स शोभराज फ्रान्स निष्कासित भएका छन् । सर्वोच्चको आदेशपछि रिहा भएका शोभराजलाई नेपाल सरकारले ट्राभल डकुमेन्ट बनाएर निष्कासन गरेको हो । शोभराजलाई कम्तीमा १० वर्षसम्म नेपाल फर्कन नपाउने भन्दै प्रतिबन्ध पनि लगाइएको छ ।

यसअघि, बुधबार सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान र तिलप्रसाद श्रेष्ठको इजलासले उमेर र स्वास्थ्य स्थितिलाई कारण देखाउँदै उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो । १९ वर्ष कैद सजाय भोगिसकेको र वृद्ध भएको हुँदा उनले कानुनले दिएको सुविधा पाउनुपर्ने माग गर्दै वलिकले रिट दायर गरेका थिए । ज्येष्ठ नागरिकले पाउनुपर्ने ७५ प्रतिशत कैद छुटको सुविधा दिलाउन माग गर्दै शोभराजले सर्वोेच्चमा रिट हालेका थिए । जेलभित्र असल चालचलन भएका ७५ वर्ष उमेर पुगेका कसुरदारलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानुनी व्यवस्था छ । २०८० सालसम्म कैद सजाय पाएका उनलाई १९ वर्ष जेलमा बसिसकेको, मुटुरोगी भएको र ७८ वर्षका वृद्ध भइसकेको त्यसमाथि मानव अधिकारको मापदण्डविपरीत कैदभित्र पनि एकान्तवासमा राखिएको भन्दै अदालतले छोड्न आदेश दिएको हो । अमेरिकी र क्यानेडियन नागरिकको हत्यामा उनलाई नेपालमा पक्राउ गरी मुद्दा चलाइएको थियो । २०३२ सालमा भक्तपुरमा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चिच र क्यानडेली नागरिक क्यारियरे लरेन्टको हत्या गरेको अभियोगमा भक्तपुर जिल्ला अदालतले शोभराजलाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद (२० वर्ष कैद) सजाय सुनाएको थियो ।

रिहाइमा ढिलाइ भएको कानुन व्यवसायीको जिकिर
कानुन व्यवसायीहरूले ‘सिरियल किलर’ चाल्र्स शोभराजको रिहाइमा ढिलाइ भएको जिकिर गरेका छन् । शोभराजको पक्षमा वकालत गर्दै आउनुभएकी कानुन व्यवसायी निहिता विश्वासले राजनीतिक गुटबन्दीका कारण उनको रिहाइमा पाँच वर्ष ढिलाइ हुन गएको जिकिर गर्नुभएको हो । उहाँले अध्यादेश ल्याउने र आफ्ना मान्छेलाई मात्रै कारागारबाट छुटाउन खोज्ने राजनीतिक खिचातानीको मारमा शोभराज परेको बताउनुभयो । कानुन व्यवसायी विश्वासले मुटुको रोग लागेका शोभराज कारागारभित्रै निधन हुने देखेपछि अदालतले रिहा गरेको उहाँको तर्क छ । ‘मिडियाको कारणले गर्दा पनि अदालतलाई फैसला गर्न दबाब थियो । यो प्रक्रिया पाँच वर्षअघि नै नै टुंगिनु पर्दथ्यो,’ उहाँले भन्नुभयो, ‘प्रशासनिक ढिलासुस्ती र सरकार तथा राजनीतिक दलहरूको खिचातानीको कारणले प्रक्रियामा लम्बिन गयो । राजनीतिक दलहरूले आ–आफ्नो मान्छेलाई मात्रै निकाल्न खोजेकाले पनि यो प्रक्रियामा ढिलाइ हुन गयो । अध्यादेश ल्याउने र आफ्नो मान्छे मात्रै छुटाउन खोज्दा चाल्र्स शोभराज मात्र नभई अन्य कैदीबन्दीहरू मारमा परेका छन् ।’ यस्तै, वरिष्ठ अधिवक्ता रामबन्धु शर्माले शोभराजलाई रिहा गर्ने सर्वोच्च अदालतको आदेश सराहनीय रहेको बताउनुभयो । शोभराजको पक्षमा वकालत गर्दै आउनुभएका उहाँल रिहा गर्ने सर्वोच्च अदालतको फैसलाले मानव अधिकारको सम्मान गरेको बताउनुभयो । ‘सर्वोच्च अदालतको जुन आदेश भयो । यो सराहनीय छ,’ उहाँले भन्नुभयो, ‘यो आदेशबाट मानव अधिकारको सम्मान भएको छ । ढिलै भए पनि न्याय पाएको छन् चाल्र्स शोभराजले ।’ अध्यागमन विभागले शुक्रबार शोभराजलाई फेरि नेपाल फर्कन नपाउने गरी फ्रान्स पठाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?