गायन गंगामा गंगा राणा

हिमालय टाइम्स
Read Time = 15 mins

✍️ बुलु मुकारुङ

नेपाली आधुनिक संगीतले पार गरिसकेको सय वर्षभित्र थुप्रै सुरकर्मीले योगदान पु¥याएर दिवंगत भइसकेका छन् । यसबेला नेपाली सङ्गीत पेसा–ब्यवसाय भइसक्यो । तर उठानका बेला भरमग्दुर कोशिस गर्ने कलाकारहरू अकिञ्जन भएरै जानुपर्‍यो । कतिपय चर्चित सुरकर्मीहरूले दिवंगत हुँदा घाटमा दाउराका लागि चन्दा उठाउनुपर्नेसमेत भयो । यो सुन्दा आजका समकालीन कलाकारले परिकथा पढेजस्तो अनुभव गर्दा हुन् तर हिजो त्यस्तै भएको थियो ।

विस्मृतिको खोँचमा पुगेकी गायिका गंगा राणा (गुरुङ) को सांगीतिक जीवनको खोज, अध्ययन वा अनुसन्धान साथै प्रकाशन हुनु अनिवार्य थियो । अग्रज गायिका गंगा राणाका विषयमा गवेषण तथा ध्यान-धेयले मलाई पनि ज्ञानी हुने मौका दिलाएको छ । किनकि मैले ‘नेपाली संगीतको अभिलेख’ ग्रन्थ लेखिरहँदा कृतिमा लघु जानकारीमात्र समावेश गर्न सक्षम भएँ । प्रसिद्धिको चुलीमा पुगेकी एक विस्मृत गायिकाको बारे-विषय-वस्तुमा लेख्नु जटिल नै थियो । यति बेला नेपाली गायनको गंगा फैलिएर महासागर बनेको छ । गायनको गंगामा गायिका गंगा गुरुङ राणालाई खोज्न इतिहासको उकालोतिर जानुपर्ने हुन्छ । र, मैले गायिका गंगा गुरुङ (राणा) सँग सम्बन्धित संस्थाहरू रेडियो नेपाल, राष्ट्रिय नाचघर र रत्न रेकर्डिङ साथै उहाँका समकालीन कलाकार आदिबारे उल्लेख गर्ने प्रयास प्रचेष्टा गरेँ ।

उनको संलग्नता पार्टीका हिसाबले नेपाली कांग्रेससँग हुनुले सामाजिक बन्धनलाई तोड्दै उनी गायनका माध्यमबाट आफ्नो प्रतिभा, दक्षता वा सीपशैली समाजलाई सुम्पन अगाडि बढेकी हुन् । जसले नेपाली संगीत क्षेत्रले एक जुझारु नारीस्वर गंगा राणालाई प्राप्त गर्‍यो ।

‘घुम्दै फिर्दै रुम्जैटार’ नेपाली उखान व्याप्त छ । रुम्जाटार वा ओखलढुंगा नेपालको चर्चित स्थान । कुनै बेलाको प्रशासनिक गौंडा, व्यापारिक केन्द्र र पूर्व र उपत्यकालाई जोड्ने किल्ला पनि । बडा-बडा हाकिस रहने थलो । समर र सामरिक थुम्को ओखलढुंगा । यीबाहेक गायनकी गंगा गंगा राणा (विसं १९९६ पुस ९-२०५२ फागुन ९) सँग जोडिने धेरै कुराहरू छन् । ओखलढुंगा, रुम्जाटार र गुरुङ जाति आदि इत्यादि । गायिका गंगा गुरुङ (राणा) का आमाबाबु चन्द्रादेवी गुरुङ र चम्पासिंह गुरुङ हुन् । उनका श्रीमान् नूरप्रताप राणा हुन् । नूरप्रताप राणा र गंगा राणाका नाममा ‘नूर-गंगा गुठी’-२०४९, स्थापित छ । गायनका माध्यमबाट नेपाली संगीत क्षेत्रमा पु¥याएको योगदान स्मरणीय रहेको छ । क्रमशः प्रसिद्ध गायिका गंगा राणातर्फ उदात्त हुन्छु ।

ओखलढुंगा जहाँ युगकवि सिद्धिचरण श्रेष्ठको जन्म भयो । अझै अघि सन्त दिलदासको ज्ञानको ज्योति त्यहीँबाट उठ्यो । र नेपाली आधुनिक गायनको पहिलो गायिका मेलवादेवी गुरुङले जन्म यही स्थानमा लिइन् । रायन-रामेशको उर्वर र संघर्षशील जमिन । परिवर्तित नेपालको चर्चित प्रधान सेनापति रुकमाङ्गत कटवालको पनि जन्मभूमि । वाकलाकार पाण्डव सुनुवार, नवीन ढुंगेल, असिम मुखिया वा राष्ट्रगानका रचनाकार ब्याकुल माइला आदि यहीँबाट उठेका हुन् । ढुंगा, माटो, बाटो र महान मान्छेहरू जन्मेको साथै चर्चा पाएको भेक-भूगोल हो ओखलढुंगा । राडी, पाखी र गलैंचा आदि र जातीय सम्मिलनले लोकप्रियता प्राप्त गरेको गाउँ ठाउँ हो रुम्जाटार । परिवर्तनका लागि लड्ने शहीदहरूको पुण्यभूमि अनि सबैको प्यारो ओखलढुंगा........। लेख्ने-लेखिने सन्दर्भहरू प्रसस्तै छन् ।

गंगा गायन कृतिहरूको खोजिनीति गर्नु पृथ्वी पल्टाउनु जस्तै भयो अब । अर्को महाभूकम्प नै आउनुपर्ने भयो परिवर्तनको । गीत–सङ्गीत सिर्जना पनि कोपमा पर्छन् भन्ने त मेलवादेवी गुरुङले गाएको ‘न घरलाई घर कहिन्छ’-रचना शुक्रराज शास्त्री, गीतबाटै प्रष्ट भइसकेको छ । यति लामो भूमिका किन लेखनीमा ल्याउनु पर्‍यो भने रेडियो नेपाल र राष्ट्रिय नाचघर मात्र अब बाँकी छन् । नेपाली संगीत विकासका लागि काम गर्ने धरोहर संस्थाहरू । यी उल्लिखित संस्थासँग गायिका गंगा राणाको उल्लेखनीय योगदान गाँसिएको छ ।

खोज्दै जाँदा एक दिन प्रसिद्ध गायक कुमार बस्नेतसँग भेट भयो । समकालीन गायक भेट्नु नै थियो । धेरैजसो लोकगीत गंगा राणाले कुमार बस्नेतसँग युगल रूपमा गाएकी छन् । कसरी भेट भयो गायिका गंगा गुरुङ राणासँग ? मेरो सवाल थियो कुमार दाइलाई । ‘म पहिलो डा.के. आई सिंहको पार्टीको गीत गाउने प्रचारक गायक थिएँ । गंगा गुरुङ नेपाली कांग्रेसको प्रचारक गायिका थिइन् । उनी प्रायः नेतृ मंगलादेवी सिंहसँग देख्थेँ । म ‘धानको बाला झुल्यो हजुर देशै रमाइलो’ भनेर गीत गाउँथे । के. आई सिंह पार्टीको चिन्ह धानको बाला थियो । गंगा दिदी रुखको गीत गाउने ।

त्यसबेला थेरै मान्छे अनिथोरै पार्टी सबैले सबैलाई चिन्ने बेलाथियो । त्यही बेला परिचयभएको हो । पछि राष्ट्रिय नाचघरमा गंगा र तारादेवी दिदी द्वय सँगसँगै काम गरियो कलाकारका रूपमा । त्यहीक्रममा रेडियो नेपालमा र कलकत्ता गएर पनि गीतहरू रेकर्ड गरियो । ‘ओ होई नाना होइ नाना’, ‘भोटमाथि चीनमा यो दिनमा’, ‘हेर्दा राम्रो माछापुच्छ« धौलागिरी अग्लो’ आदि गीत रत्न रकर्डिङमार्फत् रेकर्ड भएका गीतहरू गंगा दिदीसँग गाएको हो मैले । उसबेला कलाकार बन्नु नै अप्ठ्यारो थियो । महिलाहरूलाई त झन् कति कति गाह्रो । संघर्षले गंगा दिदी गायिका भएकी हुन् ।’

माथि उल्लिखित प्रहेलिकाले धेरैलाई थाहा भयो होला कि गायिका गंगा राणाको जीवन निक्कै उतारचढावमा बित्यो । पारिवारिक जीवन-यापन सोचे जति सफल थिएन । तथापि, नेपाली संगीत क्षेत्रको अघिल्लो पुस्ताले नबिर्सिने नाम हो गायिका गंगा राणा । हिजोआज त कुमार बस्नेत, प्रेमध्वज प्रधान वा योगेश वैद्यहरू नै ओझेलमा परिसके भने गंगा राणा समाज परिवर्तनको स्याडोले नछोप्ने कुरै आएन । गंगा राणाका समकालीन तारादेवी, कमला श्रेष्ठ, चिनिया राणा, कृष्णमान, हुतराज, झलकमान आदि थुप्रै कलाकार विस्मृतिको खाडलमा पुरिए । अझै अघिका मेलवादेवी, उर्मिलादेवी, कोइली देवी, हिनादेवीहरूको कुरा उठ्नै छोड्यो । समय क्रूर बन्यो । कुनै गीतमा गंगादेवी, कुनैमा गंगा मल्ल वा गंगा राणा वा गंगा गुरुङ नाम उल्लेख हुनुले यही कुराको पुष्टि गर्दछ ।

नेपाली गायन गंगाकी गायिका गंगा राणाले पछिल्लो समय स्टेज सो राष्ट्रिय नाचघरमा (०३६) गरेकी हुन् । उपत्यकाभित्रका हलहरू राष्ट्रिय सभा गृह, नाचघर र एकेडेमी मात्र सङ्गीत प्रस्तुतिका लागि थिए । अरू सिनेमा हलमात्र थिए । नाटक, गीतिनाटक वा सांगीतिक कार्यक्रममा उत्रिन पाउनु वा देखिनु त्यसबेलाका चर्चित कलाकारहरूले नै थियो । ‘भोटमाथि चीनमा’ गीतमा स्कुले हुँदै नाचियो तर ककसले गाएको गीत हो ? भन्ने थाहै थिएन । नाचघरको प्रस्तुतिमा अगुवा गायिका गंगा राणा उपस्थित भएपछि मात्र मलाई थाहा भएको थियो ।

नेपाली गायनकी गंगा गंगा राणाले गाएका थुप्रै गीतहरू लोकप्रिय छन् । उनका एकल, युगल र समूह गरी थुप्रै गीतहरू छन् । कतिपय गीत सयम, कालक्रम वा परिवर्तनले लोप भए । कतिपय डिष्क रेकर्डमा होलान् । रत्न रेकर्डिङ संस्थानमा पनि हुन सक्छन् । तिनको उत्खनन् गरिनु जरुरी छ । तर कसले बिरालाको घाँटीमा घण्टी बाँध्ने ? भन्ने सवाल उठ्छ । पुराना सम्पदा गीतहरू संरक्षणको पर्खाइमा छन् । गीत-संगीतमा पनि पञ्चायत र बहुदल लाग्यो । अम्बर गुरुङ गुरुङ र ओङ्मु ल्यमूले गाएको ‘घाम जून पञ्च राखी बा चामार’ बोलको गीत पनि बन्देजमा प¥यो । जो हुनु पर्ने थिएन । त्यसैगरी सयौं गीत रेडियो नेपालको अभिलेख ‘टेप लाइबे्ररी’ बाट हटाइए ।

गायिका गंगा राणाका उल्लिखित गीतहरूमात्र होनन् । अन्य गीतहरू कतै नाचघरमा त कतै टेलिभिजनमा पनि हुनसक्छन् । खोज्ने कार्य निरन्तर राख्नुपर्ने भएको छ । कतिपय गीतमा देवी, मल्ल, गुरुङ या राणा हुनुले पनि गायिका गंगा राणाले गाएका गीतहरू टिपोट गर्न असहज भयो । स्वर तथा गायनका माध्यमबाट धेरै छानविन गर्नुपर्‍यो । केही गीतका रेकर्ड मिति पनि भेटिए । उल्लिखित गीतहरूसँग आबद्ध रचना, संगीत वा संकलक वा गायनमा साथ दिने सर्जकहरू गंगा राणाका समकालीन हुन् ।

उसबेला कलाकार बन्नु नै अप्ठ्यारो थियो । महिलाहरूलाई त झन् कति कति गाह्रो । संघर्षले गंगा दिदी गायिका भएकी हुन् । गायिका गंगा राणाको जीवन निक्कै उतारचढावमा बित्यो । पारिवारिक जीवन-यापन सोचे जति सफल थिएन ।

नेपाली गायन गंगामा हेलिएकी गायिका गंगा राणाको समयकाल आजको समाज जस्तो थिएन । नारीहरू समाजको पिँजडाभित्र कुँजिएका थिए । नाच्नु, गाउनु वा पठनपाठनमा लाग्नु पनि त्यस बेलाका नारीहरू सामाजिक साङ्लोमा बाँधिएका हुन्थे । यस्तो परिवेशमा विद्रोह गर्न सक्षम गायिका गंगा राणासँग राजनीतिक चेत रहेकाले नै हो भन्न सकिन्छ । उनको संलग्नता पार्टीका हिसाबले नेपाली कांग्रेससँग हुनुले सामाजिक बन्धनलाई तोड्दै उनी गायनका माध्यमबाट आफ्नो प्रतिभा, दक्षता वा सीपशैली समाजलाई सुम्पन अगाडि बढेकी हुन् । जसले नेपाली संगीत क्षेत्रले एक जुझारु नारीस्वर गंगा राणालाई प्राप्त ग¥यो । नेपाली गायन गंगाकी गंगा राणा चर्चित, स्थापित हुँदै महाप्रस्थानपछि पनि अविष्मरणीय रहन सफल भइन् । उनका कतिपय कालजयी कृतिले उनलाई सुकीर्तिमय तुल्याएको छ । गंगा राणा नेपाली संगीत क्षेत्रकी गंगा हुन्, नदी नै हुन् । चाबेल-७, लामोपोखरी मार्ग-२३६, काठमाडौं ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?