म्याग्दी । जिल्लाको बेनी नगरपालिका-२ गौश्वारसँग सीमाना जोडिएको बागलुङको पन्चासे क्षेत्रको सामुदायिक वन र गौश्वारा सामुदायिक वनमा वन्यजन्तुको शिकार गर्नका लागि राती वन्दुक र घरेलु हतियारको प्रयोग गर्दा त्यस क्षेत्रका वासिन्दाहरु रातभरी निदाउन सक्दैनन् ।
‘भरुवा बन्दुक पड्केको आवाजले सुत्नै पाइँदैन, हिजोआज वनमा वन्यजन्तुको शिकार गर्ने शिकारीहरुको विगविगि छ’ सानालेखका रमेश थापाले भन्नुभयाे ‘वन फँडानी रोकिए पछि मृग, बँदेल, कालिज लगाएतका वन्यजन्तुहरु बढेका छन्, शिकारीहरु शिकार गर्न बागलुङ र म्याग्दीका विभिन्न ठाउँहरुबाट आउने गर्छन् ।
गौश्वारा सामुदायिक वनमा मात्रै होइन म्याग्दीका लेकाली जंगलहरुबाट वन्यजन्तुको चोरी शिकारी बढेको छ । जिल्लाका गौश्वारा, सानालेख, गुर्जा, लुलाङ, मुदी क्षेत्रनजिकका जंगलमा वन्यजन्तुको चोरी शिकारी बढेको छ ।
उच्च लेकाली भेगमा दिनहुँ चोरी शिकार भइरहेको स्थानीयवासी नारायण सापकोटाले बताउनुभयाे । वन्यजन्तुको शिकार गर्नेहरू बन्दुक, भाला, खुकुरी लिएर दिनहुँ जंगल जान थालेको उहाँले बताउनुभयाे । जिल्लाका लेकाली भेगमा जंगल बाख्लिएसँगै वन्यजन्तु बस्ती तथा झाडीतिर आउने भएकाले शिकारी शिकार खेल्न जाने गरेका हुन् ।
शिकारीले कालिज, बँदेल, मृग, घोरल, जरायो, रतुवालगायतका वन्यजन्तुको शिकार गरी सुकुटी बनाएर स्थानीय बजारमा बिक्री गर्ने गरेका छन् । शिकार खेल्न स्थानीय आफ्नो छुट्टै समूह बनाई एक/दुई हप्तासम्म जंगलमै बस्ने गरेको लुलाङका जसवीर विकले बताउनुभयो ।हिउँदको समयमा वन्यजन्तुको शिकार गर्न सजिलो हुने भएकाले उनीहरू अहिले मौका छोपी जंगल जान थालेको स्थानीयवासीको भनाइ छ ।
यस्तै, कतिपय शिकारीले कुकुरसमेत प्रयोग गरेर मृगको शिकारसमेत गर्ने गरेका छन् । शिकारीले मारेका वन्यजन्तुको मासु तथा सुकुटी सदरमुकाम बेनी लगाएत काठमाण्डौ र पोखरामा समेत बिक्री वितरण हुने गरेको स्थानीयको गुनासो रहेको छ ।
खुलेआम रूपमा वन्यजन्तुको चोरी शिकारी हुँदासमेत सम्बन्धित निकायले त्यसको रोकथाम गर्न नसकेको स्थानीयवासीको आरोप छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित पक्षी तथा वन्यजन्तुको शिकार गर्नेलाई पाँच वर्षदेखि १५ वर्षसम्म कैद र नगद ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिमाना हुन सक्ने कानुनी प्रावधान छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच